# भर्खरै
Namaste Icon
Ad

उपभोग्य वस्तुमा अत्यधिक महँगी

उपभोग्य वस्तुमा अत्यधिक महँगी

काठमाडौं । सरकार र नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा मुद्रास्फीतिलाई लक्षित सीमाभित्र राख्न नसक्ने देखिएको छ । राष्ट्र बैंकले चालु मौद्रिक नीतिमा मुद्रास्फीतिलाई साढे ६ प्रतिशतभित्र राख्ने लक्ष्य लिएको थियो । तर, आर्थिक वर्षको १० महिना सकिँदा मुद्रास्फीति लक्षित सीमाभन्दा धेरै माथि अर्थात् करिब ८ प्रतिशत नजिक पुगेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले चालु आर्थिक वर्षको १० महिना (वैशाख मसान्त)सम्मको तथ्यांकमा आधारित मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.८७ प्रतिशत पुगेको जनाएको छ । जबकि गत आर्थिक वर्ष २०७७/०७८ मा वार्षिक उपभोक्ता मुद्रास्फीति ३.६५ प्रतिशत मात्रै थियो । यही चैत मसान्तमा ७.२८ प्रतिशत रहेको मुद्रास्फीति वैशाखमा बढेर ८ प्रतिशत नजिक पुगेको हो ।

खाद्य तथा पेय पदार्थ समूह र गैर–खाद्य तथा सेवा समूह दुवैतर्फको मुद्रास्फीति वार्षिक औषत लक्ष्यभन्दा माथि पुगेको छ । वैशाखसम्मको खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.१३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । ०७८ वैशाख महिनाको तुलनामा ०७९ वैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेलको मूल्यवृद्धि २४.८६ प्रतिशत, फलफूलको मूल्यवृद्धि १२.६१ प्रतिशत, दूग्ध पदार्थ तथा अण्डाको मूल्यवृद्धि ११.३० प्रतिशत, दाल तथा गेडागुडीको मूल्यवृद्धि १०.५३ प्रतिशत र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि ९.७० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

आम उपभोक्ताको दैनिकीमा जोडिएको उपभोग्य वस्तुहरूकै उपसमूहको मूल्यवृद्धि उच्च रहेकाले मारमा प्रत्यक्ष रूपमा सर्वसाधारण नै परेको देखिन्छ । गैर–खाद्य तथा सेवासमूह अन्तर्गत अत्यावश्यक क्षेत्र यातायात उपसमूहको मुद्रास्फीति सर्वाधिक २१.८१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै, शिक्षा उपसमूहको मुद्रास्फीति ११.६४ प्रतिशत र मनोरञ्जन संस्कृति उपसमूहको मुद्रास्फीति ८.२१ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

यस अवधिमा क्षेत्रगत रूपमा तराईमा सर्वाधिक ८.१५ प्रतिशत मुद्रास्फीति रहको छ । त्यस्तै हिमालमा ८.२१ प्रतिशत, पहाडमा ७.८९ प्रतिशत, काठमाडौं उपत्यकामा ७.३९ प्रतिशत मुद्रास्फीति रहेको राष्ट्र बैंकले जनाएको छ । यता थोक मुद्रास्फीति भने दोहोरो अंकमा पुगेको छ । ०७९ वैशाख महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १६.०६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.०५ प्रतिशत रहेको थियो ।

यस अवधिमा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः २२.२० प्रतिशत, १३.९७ प्रतिशत र ७.९७ प्रतिशत रहेको छ । यस्तै, निर्माण सामग्रीको थोक मूल्यवृद्धि २६.८२ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । मूल्यवृद्धि उच्च हुँदा पनि तलब तथा ज्यालादर सूचकांक भने एकल अंकमा नै देखिएको छ । ०७९ वैशाखमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकांक ८.५२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । गत वर्ष मुद्रास्फीतिभन्दा कम १.८९ प्रतिशतले बढेको उक्त सूचकांक चालु आवमा भने मुद्रास्फीतिभन्दा केही बढी रहेको छ । यस अवधिमा तलब सूचकांक ९.४४ प्रतिशत र ज्यालादर सूचकांक ८.२७ प्रतिशतले बढेको छ । नेपालकै हाराहारीमा भारतमा पनि मुद्रास्फीति रहेको केन्द्रीय बैंकले जनाएको छ । ०७९ वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति नेपालमा ७.८७ प्रतिशत र सन् २०२२ अप्रिलमा भारतमा ७.७९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित समाचारहरु

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति ?

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य मंगलबार हालसम्मकै महँगोमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ६ हजार ३०० रुपैयाँ कारोबार भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । सोमबारको तुलनामा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ ।

काठमाडौं । सर्वसाधारणका लागि शुभम पावरले माघ १८ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ बिक्री गरेपछि सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता सेयर सर्वसाधारणहरूका लागि निष्कासन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस

Ad