Ad

नयाँ प्रदेश प्रमुखको नियुक्ति - मेयरमा हारेकादेखी विप्लव छोडेकासम्म

नयाँ प्रदेश प्रमुखको नियुक्ति - मेयरमा हारेकादेखी विप्लव छोडेकासम्म

काठमाडौँ । मन्त्रीपरिषदको निर्णयबाट सातै प्रदेशका प्रदेश प्रमुखको वर्खास्तीसँगै सरकारले सात प्रदेशका प्रमुख नियुक्तिका लागि सोमबार राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि राष्ट्रपतिबाट नयाँ प्रदेश प्रमुखहरु नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार साँझ प्रदेश १ मा सोमनाथ अधिकारी ,प्रदेश २ मा तिलक परियार , ३ मा विष्णु प्रसाईं , गण्डकी प्रदेशमा अमिक शेरचन , ५ मा धर्मनाथ यादव , कर्णाली प्रदेशमा गोविन्द कलौनी र सुदुरपश्चिम प्रदेशमा शर्मिला पन्तलाई प्रदेश प्रमुखको रुपमा नियुक्त गरेकी हुन् ।

नवनियुक्त प्रदेश प्रमुखहरुको मंगलबार शीतलनिवासमा शपथग्रहण हुनेछ । यस पटक नेपाल कम्युनिष्ट पार्टीले विगतमा कम्युनिष्ट आन्दोलन र पार्टीमा रहेर योगदान गरेका नेता तथा कार्यकर्ताहरुलाई नै प्राथमिकता दिएको छ । संवैधानिक नियुक्तिहरूमा विगतमा पूर्व प्रशासकहरुलाई प्राथमिकता दिने चलन भए पनि यसपटक सो प्रचलन फेरिएको देखिएको छ । यस्तै नयाँ नियुक्तिमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डनिकट व्यक्तिहरु परेपछि अर्का नेता एबम पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पार्टीप्रति असन्तुष्ट देखिएका छन् । नेपालले सिफारिस गर्न चाहेका कोही पनि नियुक्त भएका छैनन् ।

यस्तो छ नयाँ प्रदेश प्रमुखहरुको संक्षिप्त विगत
प्रदेश १ को प्रमुखमा नियुक्त भएका सोमनाथ प्यासी अधिकारी पूर्वसांसद हुन् । पञ्चायतभित्र घुुसेर पञ्चायती शासनकै भण्डाफोर गर्ने नीतिअनुरुप तत्कालीन नेकपा मालेले त्यतिबेलाका चर्चित युवा अधिकारीलाई ०४३ सालमा कास्कीबाट राष्ट्रिय पञ्चायत सदस्यको जनपक्षीय उम्मेदवार बनाएको थियो । २०२७ सालमा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति भएका प्यासी वि सं २०२५ सालदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय छन् । शिक्षक सेवाको अनुभव समेत बटुलेका उनले ३ वर्षे जेल जीवन पनि बिताएका छन् । ०४६ सालको जनआन्दोलनको बेला वाममोर्चाको कास्की जिल्ला संयोजक रहेका प्यासी हाल नेकपाको आमन्त्रित स्थायी कमिटी सदस्य हुन् ।

प्रदेश २ को प्रमुखमा नियुक्त भएका तिलक परियार रोल्पामा जन्मिएका हुन् । विपन्न परिवारमा जन्मिएका परियारले स्तानातासम्मा अध्ययन गरेका छन् । अध्ययनको सिलसिलामा भारती गएका बेला उनी भारतीय राजनीतिमा सक्रिय बने र मशालको दिल्ली कमिटीको सचिवसमेत बने । ०२८ सालदेखि नै राजनीतिमा लागेका परियार नेपाल फर्किएर खरादार र शिक्षकको जागिर पनि खाए । माओवादी आन्दोलनमा समेत सक्रिए रहेका उनी जनयुद्धको क्रममा उनी ‘हिम्मत’ उपनामले चिनिन्थे । सशस्त्र जनयुद्धको क्रममा ०५४ सालमा उनी पक्राउ समेत परे । यद्यपि ०५८ सालमा दाङको हापुरेमा माओवादी र सरकारी टोलीबीच वार्ता हुँदा परियार रिहा भए ।

अन्तरिम व्यवस्थापिका संसदमा माओवादीले ८३ सिट पाउँदा एकजना तिलक परियार पनि थिए । त्यसपछि ०६४ को पहिलो संविधानसभा चुनावमा उनी बाँके क्षेत्र नम्बर १ बाट सभासद निर्वाचित भए । त्यसपछि उनी माओवादी पार्टीको सल्लाहकारसमेत बने । माओवादी पार्टी विभाजनपछि उनी प्रचण्डको साथ छाडेर मोहन वैद्यतिर लागे । दोस्रो संविधानसभाताका वैद्य माओवादीमा रहेका उनी चुनाव बहिस्कारमा सक्रिय भएका थिए । वैद्य नेतृत्वको पार्टी विभाजनपछि उनले नेत्रविक्रम चन्द (विप्लव)को साथ रोजे । नेतृत्वसँग असहमति बढ्दै गएपछि उनले विप्लवको पनि साथ छाडे । त्यसपछि मोहन वैद्यसँग अलग्गिएका रामबहादुर थापा (बादल) समूहसँगै विप्लव समूहबाट अलग भएको तिलक परियारको समूह पनि प्रचण्डकै नेतृत्वको माओवादीमा फर्कियो ।

प्रदेश ३ को प्रमुखमा नियुक्त भएका विष्णु प्रसाईं झापाली नेता हुन् , जो गत २०७४ को स्थानीय निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट मेचीनगर नगरपालिकाकोमेयरमा पराजित भएका थिए । वर्तमान प्रधानमन्त्री केपी शर्मा संग अत्यन्त निकटस्थ रहेका प्रसाईं ०२८ सालको झापा क्रान्तिसँगै कम्युनिस्ट राजनीतिमा लागेका हुन् । ०२७ सालमा अनारमनीमा भएको अनेरास्ववियूको कार्यक्रममा पहिलोपल्ट पक्राउ परी एक महिना राजबन्दी भएपछि प्रसाई पूर्णकालीन राजनीतिमा होमिए ।

झापामा जुझारु र कडा छविका कारण प्रसाईलाई झापाली टाइगर भनिन्थ्यो । वि।सं। ०३६ सालदेखि ०४५ सालसम्म पूर्वी नेपालमा हुने पञ्चायत विरोधी जुनसुकै घटना हुँदा पनि झापामा प्रहरीले विष्णु प्रसाईलाई नै पक्राउको वारेन्ट जारी गथ्र्यो । तत्कालीन नेकपा मालेको नीतिअनुरुप नै वि।सं। ०४३ सालमा धाइजन गाउँ पञ्चायतको जनपक्षीय प्रधानपञ्चसमेत निर्वाचित भएका थिए । प्रसाई ०५४ सालमा जिल्ला विकास समिति झापाको उपसभापति निर्वाचित भएका थिए । उपसभापति भएकै बेला उनी ०५६ सालको आम निर्वाचनमा झापा ३ बाट उम्मेदवार बने तर कांग्रेसका कृष्ण सिटौलासँग पराजित भए ।

गण्डकी प्रदेशको प्रमुखमा नियुक्त भएका चितवनका अमिक शेरचन भने राम्रो राजनीतिक छवि भएका रानीतिकर्मी हुन् । उपप्रधानमन्त्री भइसकेका बरिष्ठ कम्युनिस्ट नेता अमिक शेरचन नेकपा चौम हुँदै कम्युनिस्ट आन्दोलनको नेतृत्वमा आएका हुन् । २०४८ सालमा प्रचण्डकै नेतृत्वमा एउटै माओवादी पार्टी हुँदा शेरचन संयुक्त जनमोर्चाबाट सांसद निर्वाचित भएका थिए । नौ सिट जितेर संसदको तेस्रो पार्टी बनेको जनमोर्चा ०५१ मा नेकपा माओवादी फुटेपछि कमजोर बन्यो । शेरचन त्यसपछि संयुक्त जनमोर्चाको लामो समय अध्यक्ष भए । ०५१ सालमा उनी पराजित भए । ०५६ सालमा रामेछापमा तत्कालीन एमालेको सहयोगमा उम्मेदवार बन्दा पनि उनी जित्न सकेनन् ।

तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि भएको सात दलको आन्दोलनमा अमिक शेरचन एक नेता थिए । त्यो आन्दोलनबाट शेरचन राष्ट्रिय नेताका रुपमा उदाए । उनी जनआन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उपप्रधानमन्त्री बने । पछिल्लो समय स्वास्थ्यका कारण पनि सक्रिय नभएका शेरचन पार्टीको आमन्त्रित स्थायी कमिटी सदस्य छन् ।

प्रदेश ५ को प्रमुखमा धर्मनाथ यादव नियुक्त भएपछी सिराहाका उनका समर्थकहरुले बल्ल उनले न्याय पाएको प्रतिक्रिया दिएका छन् । सुरुमा शिक्षण पेसामा रहेका उनी विज्ञान विषयका प्रखर शिक्षक भएका कारण जिल्लामा मास्टरजी’ नामले परिचित छन् । साथै चुनाव पीडित भनेर पनि चिनिन्छन । करीव ५० वर्षअघि १६ पैसा लेबी तिरेर कम्युनिस्ट पार्टीको सदस्यता पाएका यादवले लाभको पद भने कहिल्यै पाएनन् । सिराहाको सुखीपुर नगरपालिका ६ खरही टोल निवासी ७० वर्षीय यादव ०४३ सालमा शिक्षण पेशा छाडेर तत्कालीन नेकपा माले हुँदै एमालेको राजनीतिमा पूर्णकालीन भएका थिए । ०४८ सालमा संसदीय निर्वाचन प्रतिस्पर्धा गरेका यादव त्यसयता कुनै चुनाव लडेनन् । ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पार्टीले उनको नाम समानुपातिक सूचीमा राखेपनि सांसद हुन पाएनन् ।

हाल नेकपा केन्द्रीय सदस्य तथा जिल्ला सहइञ्चार्ज रहेका यादव साहित्यकार र गीतकार पनि हुन् । उनले मैथिली र नेपाली भाषामा साहित्य रचनाहरु गर्दै धेरै गीतहरु समेत लेखेका छन् ।

कर्णाली प्रदेशका प्रमुख गोविन्द कलौनी सुदूरपश्चिममा तत्कालीन एमालेका जल्दाबल्दा नेता मानिन्छन् । डडेलुधरामा कम्युनिस्ट पार्टीका संस्थापक मानिने कलौनी शेरबहादुर देउवाका कुनैबेलाका चुनावी प्रतिस्पर्धी पनि हुन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाँणे निवासी कलौनी वि।स। २०१२ जेष्ठ २९ गते कलौनी वैतडीको दोगडा केदार गाउँपालिका–१ मा जन्मिएका हुन् । बैतडीमा जन्मिए पनि डडेल्धुरा, बैतडी र कञ्चनपुरलाई कार्यथलो बनाएका कलौनी शिक्षक पृष्ठभूमिका हुन् । ४८ सालको संसदीय चुनावमा डडेल्धुराबाट कलौनी हाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग चुनाव लडे । तर, पराजित भए । कलौनी ०५६ सालमा राष्ट्रियसभाको चुनाव लडे । त्यसबेला उनी एमालेबाट अलगिएर मालेमा पुगिसकेका थिए । कांग्रेससँग मिलेर चुनाव लडे पनि उनी पराजित भए । कलौनीले चुनावी प्रतिस्पर्धालाई ०६४ सालसम्म निरन्तरता दिए । तर, सफल हुन सकेनन् । ०६४ मा उनी कञ्चनपुर–२ बाट एमालेको संविधान सभा सदस्यका उम्मेदवार थिए । उनी पछिल्लो सयम नेकपा एमालेको निर्वाचन आयोग उपाध्यक्ष थिए ।

सुदुरपश्चिम प्रदेशको प्रदेश प्रमुख बनेकी शर्मिला पन्त त्रिपाठी चितवनकी वासिन्दा हुन् । २०६० सालसम्म सामान्य गृहिणी मात्र रहेकी उनको पति ज्ञानेन्द्र त्रिपाठी तत्कालीन नेकपा मालेबाट विद्रोह गरी ०५८ तिरै माओवादी जनयुद्धमा लागेका थिए । ०६० असोज ९ गते सादा पोशाकका सुरक्षाकर्मीले पक्राउ गरेका त्रिपाठी त्यसपछि बेपत्ता पारिए । श्रीमान बेपत्ता भएपछि उनको दिनचर्या फेरियो । उनी पतिको खोजीमा लाग्दालाग्दै माओवादी जनयुद्ध सकियो । बेपत्ता परिवारहरुको संगठन बन्यो र उनी त्यसको अध्यक्ष बनिन् । पति बेपत्ता भएसँगै माओवादी पार्टीमा सक्रिय भएकी त्रिपाठीको घर चितवन हो । प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा शर्मिला नेपाल वायु सेवा निगमको सञ्चालक समिति सदस्यसमेत भएकी थिइन् ।

 

Ad

सम्बन्धित समाचारहरु

प्रशिक्षण कार्यक्रममा डा आरजुराणा देउवा

प्रशिक्षण कार्यक्रममा डा आरजुराणा देउवा

नेपाल महिला संघ जिल्ला कार्य समिति कैलालीले आइतबार धनगढीमा आयोजना गरेको राजिनितिमा सशक्त महिलाहरुको भूमिका विषयक जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा नेपाली काङ्ग्रेसकी नेतृ डा आरजुराणा देउवालगायत सहभागी ।

'राजनीतिक प्रतिशोधका आधारमा चरित्रहत्याको प्रपन्च गरियो' - सञ्जेल(विज्ञप्तिसहित)

ललितपुर । प्रदेश ३ का सांसद चेतनाथ सञ्जेलले आफूसँग राजनीतिक प्रतिशोधको भावना राख्ने उद्देश्य बोकेका विपक्षीहरुले हरित्रहत्या गर्ने नियोजित प्रपन्च भएको दावी गरेका छन् । केही दिनअघि चापागाउँमा प्रदेशबाट आएका विकासे योजनामा उपभोक्ता समितिसँग मिलेर आधा रकम खाएको र कमाउ धन्दामा लागेको भन्दा केही अनलाईन मिडियामा समाचार प्रकाशन भएपछी उनले एक प्रेस विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad