‘अब स्वर्ण नै जित्छौँ’

‘अब स्वर्ण नै जित्छौँ’

काठमाडौं । नेपाली महिला भलिबल टोलीको प्रदर्शन पछिल्लो समय शानदार बनिरहेको छ । भर्खर बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबलको उपाधि चुमेर स्वदेश फर्किएको महिला टोली अहिले १३ औँ सागको ऐतिहासिक स्वर्णको सम्मुखमा छ । नेपालले साग महिला भलिबलको रजत पदक कम्तीमा पक्का गरिसकेको छ । रजतनै नेपालका लागि ऐतिहासिक पदक हो । यद्यपि नेपाली टोली त्योभन्दा ठूलो ऐतिहासिक स्वर्णको नजिक छ । नेपाली महिला भलिबल टोलीले सागमा यसअघि तीन पटक कांस्य जितेको थियो ।

नेपाली महिला भलिबल टोलीले सन् १९९९, सन् २००६ र सन् २०१६ को सागमा कांस्य जितेको थियो । सेमिफाइनलमा श्रीलंकालाई ३–० सोझो सेटमा हराएर फाइनलमा स्थान बनाएको छ । नेपाली टोलीका प्रशिक्षक जगदिश भट्टले नेपालको एउटै लक्ष्य उपाधि भएको बताए । फाइनलमा नेपालले परिचित प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ ।

समूह चरणमा नेपाल भारतसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । भारतले सेमिफाइनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएर नेपालसँगको उपाधि भिडन्त पक्का गरेको हो । फाइनलमा नेपालका लागि भारतसँग समूह चरणमा खेपेको हारको बदला लिने राम्रो मौका समेत मिलेको छ । मंगलबार हुने फाइनल खेलमा नेपालले पुरानो गल्तीलाई सच्याउने पनि प्रशिक्षक भट्टले बताएका छन् ।

‘हाम्रो एउटै लक्ष्य स्वर्ण हो । हामीले पहिलेदेखि स्वर्ण जित्छौँ भन्दै आएका छौँ । अब अझै दुई दिन बाँकी छ । अघिल्ला खेलको कमजोरीलाई सुधार गर्दै भारतसँग स्वर्णका लागि भिड्ने छौँ । श्रीलंकासँगको जितले खेलाडीको मनोबल झनै उच्च भएको छ । दर्शकको समर्थन हाम्रा लागि अर्को फाइदा हुनेछ,’ प्रशिक्षक भट्टले भने ।

नेपाली टोलीकी कप्तान अरुणा शाहीले पनि घरेलु भूमिमा भारतलाई हराएर स्वर्ण जितेर छाड्ने दाबी गरिन् । ‘हामी भारतसँग उच्च मनोबलका साथ खेल्नेछौँ । समूह चरणमा हामीले सानो गल्तीले हार खेपेका थियौँ । फाइनलमा पुगेर इतिहास रचेका छौँ । तर हाम्रो लक्ष्य स्वर्ण नै जित्ने हो । त्यसका लागि हामीले लामो तयारी र धेरै मिहेनत गरेका छौँ,’ अरुणाले भनिन् । नेपालको पुरुष भलिबल टोली भने यसअघिनै समूह चरणबाट बाहिरिएको छ ।

Ad

सम्बन्धित समाचारहरु

प्रधानसेनापति महिला फुटबल आइतबारदेखि

प्रधानसेनापति महिला फुटबल आइतबारदेखि

काठमाडौं । नेपाली सेनाले प्रधानसेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । यही मंसिर २९ गतेदेखि सेनाले उक्त प्रतियोगिताको सातौँ संस्करण काठमाडौंमा आयोजना गर्न लागेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको सहकार्यमा सञ्चालन हुने सो प्रतियोगितामा तीन विभागीय, दुई विदेशी तथा तीनवटा प्रदेशको फुटबल टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं ५ तथा भारतको सिक्किम र भुटानको फुटबल टोलीले सहभागिता जनाउने महासेनानी शशीकिरण रायमाझीले आज नेपाली सेनाको मुख्यालय जंगीअड्डामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

‘सागको सम्पूर्ण खर्च विवरण ९० दिनअघि नै सार्वजनिक गर्छु’

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले आफू परिषदमा आएको छोटो अवधिमा नै धेरै महत्वपूर्ण काम गरेको सुनाउँदै पहिलो काम नै १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता तोकिएकै मितिमा सम्पन्न गर्छु भनेर घोषणा गरेको स्मरण गराए । उनले भने,‘म परिषदमा आएको साँढे चार महिना भएको छ, म आउनेबित्तिकै सबैभन्दा पहिलो घोषणा र मेरो ध्यान नै साग गेम निर्धारित मितिमै गराउँछु भनेर बोलेको थिएँ । त्यसको लागि पूर्वाधार निर्माणमा सुरुदेखि नै ध्यान दिएको थिएँ । सबैको साथ र सहयोगले हामीले सफल रुपमा १३औं साग सम्पन्न गर्यौं । यो हामी सबैको लागि खुशीको कुरा हो ।’

Ad

प्रतिक्रिया दिनुहोस