Namaste Icon
Ad
Ad

खानीगाउँका चार किसानले बेचे एक करोड २० लाखको सुन्तला

खानीगाउँका चार किसानले बेचे एक करोड २० लाखको सुन्तला

तनहुँ । जिल्लाको म्याग्दे गाउँपालिका–२ खानीगाउँका कृषकले यस वर्ष एक करोडभन्दा बढीको सुन्तला बिक्री गरेका छन्। खानीगाउँका शुकनारायण श्रेष्ठ, विश्वबहादुर अधिकारी, निर्मल अधिकारी र रामबहादुर थापाले रु एक करोड २० लाख बराबरको सुन्तला बिक्री गरेका हुन्। यस वर्ष शुकनारायणले रु ५० लाख, विश्वबहादुरले रु ४० लाख, निर्मलले रु १८ लाख र रामबहादुरले रु १२ लाखको सुन्तला बिक्री गरेका हुन्। चालीस रोपनी क्षेत्रफलमा ८०० सुन्तलाको बोट रहेकामा ७०० सुन्तलाको बोटले उत्पादन दिएको स्थानीयवासी शुकनारायणले जानकारी दिए। श्रेष्ठले गत वर्ष रु ३१ लाख बराबरको सुन्तला बिक्री गरेका थिए।

अर्का किसान विश्वबहादुरले ६०० बोट र रामबहादुरले ३५० बोटबाट आम्दानी गरेका हुन्। कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले यस वर्ष खानीगाउँमा राम्रो सुन्तला उत्पादन भएको बताए। ‘‘जिल्लाका केही ठाउँमा विभिन्न रोगका कारण सुन्तलाको बोट नष्ट हुने समस्या देखिए पनि म्याग्दे गाउँपालिकामा भने कुनै समस्या भएन’, तिवारीले भने। सुन्तला उत्पादक कृषक विश्वबहादुरले रोगका कारण मात्रै नभई व्यवस्थापन कमजोर हुँदा पनि सोचे जति उत्पादन हुन नसक्ने बताए। अधिकारीले सुन्तला व्यवस्थापनका लागि मात्रै वार्षिक रु पाँच लाखभन्दा बढी लगानी गर्ने गरेको बताए।

तनहुँमा कूल एक हजार ६०० हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ। जिल्लाको व्यास नगरपालिका–११ तनहुँसुर, वडा नं १३ बेनीकोट, देवघाट गाउँपालिका–२, ३ र ४, आँबुखैरेनी गाउँपालिका–२ पतेनी, शुक्लागण्डकी नगरपालिका–११ राइपुर, भिमाद नगरपालिका–९ भानुमतीलगायतका ठाउँमा व्यावसायिक रुपमा सुन्तला उत्पादन हुँदै आएको छ। जिल्लामा गत वर्ष रु २७ करोडको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्यांक छ। यस वर्ष पनि सोही अनुपातमा सुन्तला उत्पादन हुने अनुमान छ। यहाँ उत्पादित सुन्तला पोखरा, चितवन, काठमाडौँ लगायतका ठाउँमा निर्यात हुँदै आएको छ। - रासस

Ad

सम्बन्धित समाचारहरु

तीतेपाती तेलको मूल्य प्रति लिटर १० हजारसम्म

तीतेपाती तेलको मूल्य प्रति लिटर १० हजारसम्म

तानसेन । पाल्पाको तिनाउ गाउँपालिकामा तितेपातीको तेल उत्पादन शुरु गरिएको छ । करिब १५ वर्षअघि नै सोको उत्पादनका लागि उद्योग स्थापना गरिएको भए पनि प्रभावकारी ढङ्गले चल्न सकेको थिएन । स्थानीय जडीबुटी सहकारी संस्थाले झुम्सामा तितेपातीको तेल उत्पादन शुरु गरिएको सहकारीका अध्यक्ष झपेन्द्र जिसीले जानकारी दिए ।

नेपालमा देखा पर्यो लम्पी स्किन रोग, लम्पी स्किन सम्बन्धी एक जानकारी

काठमाडौं । नेपालमा लम्पी स्किन रोग देखा परेको छ । पशु सेवा विभागले एक पत्रकार सम्मेलन आयोजना गरि यसवारे जानकारी दिएको छ । विभागका महानिर्देशक डा वंशी शर्माद्धारा जारि प्रेस विज्ञप्तिमा लम्पी स्किन रोगबारे जानकारी दिइएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad