Namaste Icon
Ad

शोकमग्न भुलभुले

शोकमग्न भुलभुले
भुलभुलेस्थित घरमा भावविह्वल अवस्थामा दुर्घटनामा ज्यान गुमाएका तिलक गुरुङकी श्रीमती, साथमा उनकी एक वर्षीया छोरी ।

धादिङ । एकै बस्तीका ७ जनाले दुर्घटनामा ज्यान गुमाएपछि नीलकण्ठ नगरपालिका-२ भुलभुले गाउँ गुरुङ समुदायका ८० घरधुरीका स्थानीय कसैको आँखा ओभानो छैन। गाउँ पूरै शोकमग्न छ । मृत्यु तथा घाइते भएका परिवारलाई समवेदना तथा सान्त्वना दिन टाढा-टाढाबाट आफन्तजन गाउँमा पुगेका छन्। आफन्त भेट्दा उनीहरू पनि भक्कानिन्छन्, मनिष दुवाडीले आजको अन्नपूर्ण पोस्टमा यो खबर लेखेका छन् ।।

गत मंलगबार मन्दिर दर्शन गरेर फर्केका यात्रु चढेको ट्रक धादिङको नीलकण्ठ नगरपालिका-८ मैदी भन्ज्याङमा दुर्घटना हुँदा एकै गाउँका ७ युवाले ज्यान गुमाएका हुन्। करिब ३० भन्दा बढी पुरुष सोही दुर्घटनामा घाइते छन्। गाउँभरिकै पुरुष कोही घाइते त कसैले संसार छाडेर गएपछि यतिबेला नीलकण्ठ नगरपालिकाको वडा नं २ भुलभुले गाउँ पूरै शोकमा डुबेको छ।

देउतालाई भाकल बुझायो भने मनले चाहेको सबै कुरा पूरा हुन्छ भन्ने जनविश्वास छ। तर, सधैँ भनेझैं कहाँ हुन्छ र ? यदि, मागेको पुग्दो हो त उनीहरूले बीच बाटोमै अकालमा ज्यान गुमाउनुपर्ने थिएन होला। ज्वालामुखी-४ ढोलामा रहेको मण्डलीमाईलाई भाकल बुझाउन गएका नीलकण्ठ-२ भुलभुले गाउँका ७ जना मन्दिर दर्शन गरेर फर्कने बेलामा दुर्घटनामा परेर ज्यान गुमाएका हुन्।

मर्ने त मरेर गैगए तर समस्या बाँच्नेहरूलाई भएको छ। गाउँका सबै पुरुषहरू दुर्घटनामा परेर घाइते भएपछि बालबच्चा र बूढाबूढी मात्रै गाउँमा छन्। अन्तिम संस्कारदेखि काजक्रियाको काम गर्नसमेत समस्या भएको स्थानीय माया गुरुङले बताइन्। ‘गाउँका धेरैजसो पुरुष सबै अस्पतालमा छन्, यहाँ त अन्तिम संस्कार गर्नसमेत समस्या हुने भयो’, उनले भनिन्। दुर्घटनामा मृत्यु भएका विदुर गुरुङ केही महिनाअघि मात्र जापानबाट फर्केका थिए। कमाइ राम्रो भएपछि उनी फेरि जापान फर्किने सुरमा थिए। त्यस्तै अर्का युवक तिलक गुरुङ पनि भाषा परीक्षा पास गरेर कोरिया जाने तर्खरमा थिए। धन कमाएर बालबच्चा र परिवारलाई पालुँला भन्नेहरूले संसार छाडेर गएपछि परिवार र आफन्त सबै भावविह्वल छन्।

ट्रकमा यात्रुको बिमा नहुने भएकाले क्षतिपूर्तिको कुरा अझै मिलेको छैन। जिल्ला प्रशासन कार्यालयको पहलमा तत्कालका लागि ट्रकधनीले प्रतिमृतक ५० हजार रुपैयाँ किरिया खर्च उपलब्ध गराउने भएपछि बिहीबार साँझ आफन्तले शव बुझेका छन्। प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भने, ‘अहिले तत्कालका लागि किरियाखर्च स्वरूप ५० हजार रुपैयाँ उपलब्ध गराउने सहमति भएको छ, पीडितले नियमानुसार पाउने सबैखाले क्षतिपूर्ति गराउन प्रशासनले पहल गर्नेछ।’

दुर्घटनाको शोकमा नीलकण्ठ नगरपालिकाले बुधबार शोक बिदा दिएको थियो । बुधबार बसेको नगरकार्यपालिका बैठकले शोक प्रस्ताव पारित गर्दै घाइतेको उपचारका लागि ५ लाख, घाइते लिन गएको हेलिकप्टर र एम्बुलेन्स खर्चसमेत व्यहोर्ने निर्णयसमेत गरेको नगरपालिकाका प्रवक्ता गौतमहरि अधिकारीले बताए ।

Ad

सम्बन्धित समाचारहरु

महरा रिहा भएपछि रोशनीको प्रतिक्रिया, ‘दुबैले न्याय पायौँ’

काठमाडौं । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले निवर्तमान सभामुख कृष्णबहादुर महराले न्याय पाएको प्रतिक्रिया दिएकी छन् । सोमबार काठमाडौँ जिल्ला अदालतले बलात्कार प्रयासको मुद्दामा महरालाई सफाइ दिएपछि शाहीले यस्तो प्रतिक्रिया दिएकी हुन् । शाहीमाथि बलात्कार प्रयास गरेको आरोपमा महरा १९ असोजमा पक्राउ परेका थिए ।

बिरामी नानू दानीको उपचार गर्न सहयोग

बिरामी नानू दानीको उपचार गर्न सहयोग

काठमाडौं । हाम्रो नारेश्वर हामी घलाङ्गी टिमको अभियान मार्फत टिचिङ अस्पतालमा किड्नीको पत्थरीको अपरेशन गराईरहेकी नानू दानीलाई रु ४०,००० सहयोग गरेको छ । गोरखा नगरपालिका ३ निवासी आदरणिय दाजु गोपाल दानीकी जीवन संङ्गिनी नानू दानी को उपचारमा सहयोग स्वरुप उक्त रकम टिचिङ अस्पताल को प्राङ्गणमा एक कार्यक्रमका बीच प्रदान गरिएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad