Namaste Icon
Ad

'आदिवासी भित्र जात हुदैन जाति हुन्छ'

'आदिवासी भित्र जात हुदैन जाति हुन्छ'

अजय अलङकार रोतेम्बु ,

(ढुङ्गामा पानी जमेको स्थानको नाम 'कुलुङ') :
‘माप्य’ नाम गरेको खालिङ किरातीहरूको पुर्खा साल्पा भञ्ज्याङ, पाँचपोखरी हुँदै तेङबोचे लागेछन् । सोहि क्रममा पाँचपोखरी भन्दा केही तल जङ्गलमा ढुङ्गामा खाल्डो परेको स्थानमा पानी जमेको देखेछ । ढुङ्गामा पानी जमेको देखेर माप्य पुर्खाले 'कु:लुङ' भनेछ । खालिङ भाषामा 'कु' को अर्थ पानी र 'लुङ' को अर्थ ढुङ्गा हुन्छ । त्यसरी खालिङ पुर्खाले ढुङ्गामा पानी जमेकोलाई कु:लुङ भनेपछि त्यस ठाउँलाई कुलुङ भन्न थालियो ।

कुलुङ नामले परिचित स्थान छेम्सी, ताम्सी, सोत्तो र पिल्मो बसेको क्षेत्रभित्र पर्ने भएकाले सोहि भूमिलाई पछि महाकुलुङ भन्न थालियो । कालान्तारमा चार पुर्खाहरूका सन्तानहरू बसोवास गरेका (हूल/हूलू/पावै), (सोत्तो/फुक्स्तेल/सोताङ), (पिल्मो/पेल्माङ), (छेम्सी/ताम्सी-छेस्खाम), बुङ र गुदेल भूमिलाई समग्र महाकुलुङ भनियो ।

ढुङ्गेनी जग्गामा पानी भएको स्थानको नाम 'कुलुङ'
बान्तावा भाषामा ढुङ्गेनी जग्गामा पानी उम्रेको वा जमेको स्थान (सिमसार, हिलो सहितको दलदल जमिन) लाई कुलुङ भनिन्छ । ढुङ्गेनी जग्गामा हिलो सहितको दलदललाई, कुहेको ढुङ्गाको दलदललाई समेत कुलुङ भन्ने गर्दछ । महाकुलुङ क्षेत्रका कुनै स्थानमा ढुङ्गेनी सिमसार वा ढुङ्गेनी स्थानमा हिलोको दलदल भएको जमीनलाई 'कुलुङ' भनिएको हुन सक्दछ । सो जमीनको आसपासमा बसोबास गर्ने कुलुङ पुर्खाको पहिचान पनि सो जमीनसँग जोडिएको हुन सक्दछ । त्यसै सिमसार वा पानी भएको ढुङ्गेनी जग्गाको नाम कुलुङ हुँदै पछि समग्र क्षेत्रलाई एकै नाम 'महाकुलुङ' भनेर चिनिन थाल्यो ।

उहिले किरातीहरूमा पाखा बालीको मात्र चलन थियो । धानको खेती गर्ने चलन थिएन । सोहीमुताविक धेरै किरातीहरूले आफ्ना पितृ पूजा वा संस्कार गर्दा त्यही पाखा बाली (कोदो, फापर, घैया वा घैयाको चिउरा) प्रयोग गर्ने चलन रहिआएको पाइन्छ । धान खेतीका लागि हिलो, दलदल भएको जमीन (कुलुङ) वा पानी लाग्ने जमीन उपयुक्त मानिन्छ । खेतीपातीमा विभिन्न नयाँ प्रविधिको विकाससँगै अहिले धान खेती गर्ने चलन बढेको छ ।

('कुरुङ' शब्दबाट 'कुलुङ') :-
बान्तावा भाषामा नै आफ्नो मामली वंशलाई 'कुरुङ' भनी सम्बोधन गरिन्छ । कुनै बान्तावा पुर्खाहरूको मामली सम्बन्ध कुलुङहरूको पुर्खाहरूसँग भएको हुन सक्दछ । सोहीअनुसार बान्तावा पुर्खाहरूले कुलुङहरूको पुर्खाहरूलाई कुरुङ भन्दै आए । पछि कुरुङ शब्द अपभ्रंश भै कुलुङ भएको हुन सक्दछ । हालको कुलुङहरूको पुर्खाहरूलाई यिनै कुलुङ शब्दले चिनिन थाल्यो र कुलुङ पहिचानबाटै भूमिको नाम पनि कुलुङ रहेको हुन सक्दछ ।

(प्रशासनिक एकाई 'महाकुलुङ') :-
नेपालको भौगोलिक एकीकरणपछि माझ किरातमा किपट प्राप्त गर्ने समूहमध्ये कुलुङ पनि पर्दछ । छेम्सी, ताम्सी, राताप्खू, खप्दूलू र पछि तिनका सन्तानहरूले आबाद गरिआएका हूङ्वा/हुङ्गा उपत्यका (छेम्सी, छेस्खाम, पील्मो र सोत्तो क्षेत्रमा कुलुङ, सोताङ र पील्मोङ नामक तीनवटा किपटहरू कायम गरिएका थिए । अलग–अलग तीनवटा किपट कायम गरिएको भएतापनि माझ किरात क्षेत्र अन्तर्गत हूङ्वा/हुङ्गा उपत्यका क्षेत्रलाई एक प्रशासनिक एकाइ कायम गरिएको थियो जसमा तीनवटा किपटहरूलाई जोडि महाकुलुङ कायम गरियो । त्यसपछि हूङ्वा/हुङ्गा उपत्यकाका भू-भागलाई महाकुलुङ भन्न थालियो ।

(जाति र भुमिको सम्बन्ध) :-
संसारमै अध्यन गर्ने हो भने जाति भनेको भुमि/भूगोलसंग जोडिएको हुन्छ । सभ्यतासंग जोडिएको हुन्छ । जस्तै : किरात भुमिका किराती । जापन भुमिका जापानीस । चाईना भुमिका चाईनिस । र, नेपाल भुमिका नेपाली भने झै महाकुलुङ भुमिका कुलु/कुलुङ जाति हो ।

थप स्पष्ट पारौं :
जाति हुनको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डहरु :- जस्तै : आदिवासी जनजाति सम्बन्धि महासन्धि १९८९, (ILO महासन्धि नं. १६९), आदिवासी जनजाति अधिकार सम्बन्धि संयुक्त राष्ट्र संघीय घोषणापत्र र नेपालको आदिवासी जनजाती ऐन २०५८ अनुसार पाँच मापदण्ड/आधार चाहिन्छ ( १) छुट्टै साझा भाषा-कुलुङ भाषा/कुलुरीङ (२) साझा संस्कृति- कुलुङ संस्कृति/कुलुरीदुम (३) छुट्टै परम्परागत भुमि- महाकुलुङ (४) छुट्टै सामाजिक संरचना (५) लिखित वा अलिखित ईतिहास । यो आधार/मापदण्ड पुरापुर कुलु/कुलुङ जातिसंग छ । तर, राईरीङ/राईभाषा, राई रीदुम/राई संस्कृति, राई थाम्पु/राईभुमि/भूगोल, राई सभ्यता, राई स्वायत्त प्रदेश, राई ईतिहास, राई बंशवली केहि छैन जसले गर्दा राई जाति हुन सक्दैन ।

उसोभए राई के हो ?
लिम्बु जातिलाई सुब्बा, याक्खा जातिलाई देवान, सुनुवार जातिलाई मुखिया, बाहुन जातिलाई पण्डित, खस/क्षेत्री जातिलाई काजी, थारु जातिलाई चौधरी, शेर्पा र तामाङ जातिलाई लामा भने जस्तै खम्बुको सन्तान र कुलुङ जातिलाई दिईएको पद/पदवी हो राई ।

अझ प्रष्ट पारौं :-
१) राई = पद/पदवी हो (जसको माथि भनिए जस्तै ५ मापदण्ड/आधार नभएको)
२) कुलु/कुलुङ = जाति हो ( माथि उल्लेखित अनुसार ५ वटा मापदण्ड/आधार भएको)
३) रोतेम्बु, ङोपोचो, लोवात्ती, कुबित्ती आदि = थर/पाछा (बाहुन भित्रको दहाल, ओलि, भट्टराई, पौडेल भनिए जस्तै ।
४) नागरिकता = एक परिचयपत्र मात्र हो । जुन नेपाल देशको नागरिक हो भन्ने बुझाउदछ, यदि हङकङमा कुनै कुलुङ जातिको जन्म भएको भए हङकङ आईडी पाउथ्यो । त्यसैले नागरिकताले कुनै जातिको ब्याख्या गर्दै गर्दैन ।
५) नाछिरीङ = १ जना हाम्रो फपा/पुर्खा/बाजेको नाम हो । (ताम्सी, छेम्सी, सोत्तो र पिल्मो भनिए जस्तै)

अब हेरौ र बुझौं कुलुङ जातिको बैज्ञानिक आधार :-
(१) जातिको महलमा :- कुलुङ जाति लेखौ ।
(२) भाषाको महलमा :- कुलुङ भाषा लेखौ ।
(३) धर्मको महलमा :- किरात मुद्धुम लेखौ ।
र, हाम्रो वास्तविक पहिचानको वकालत गर्दै राष्ट्रिय जनगणना २०७८ मा कुलुङ जातिको जनसंख्या स्पष्ट गरौं ।

नोट :- जात प्रथा अर्थात तल्लो जात र माथिल्लो जात (पानी चल्ने र नचल्ने जात) हिन्दुबर्णास्श्रम/हिन्दु शास्त्र/धर्ममा मात्र हुन्छ । आदिवासी भित्र जात हुदैन जाति हुन्छ । त्यसैले जात हैन जातिको वकालत गरौं । जनगणना २०७८ मा आफ्नो पहिचान स्थापित गरौं ।

Ad

सम्बन्धित समाचारहरु

शिक्षासँग आवद्ध व्यक्तिहरूको महानता प्रस्तुत होस्

शिक्षासँग आवद्ध व्यक्तिहरूको महानता प्रस्तुत होस्

-सत्यराम कासिछ्वा

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad