Namaste Icon
Ad

थप विकास हुँदै लेले मनकामनामाई मन्दिर

थप विकास हुँदै लेले मनकामनामाई मन्दिर

ललितपुर । गोदावरी नगरपालिका ५ लेलेस्थित काभ्रेमा रहेको मनकामनामाई मन्दिर निर्माणको काम १५ वर्ष अघिदेखि जारी रहेको छ । वि.सं २०६२ मा जनश्रमदानबाट निर्माण शुरु गरिएको उक्त मन्दिर क्षेत्रमा हालपनि विभिन्न कार्य धमाधम भइरहेको छ ।

सो मन्दिर गोरखाको वैकल्पिक मनकामना माईका रुपमा स्थापना गरिएको थियो । १५ वर्षअघि लेलेको काभ्रेमा निर्माण उपभोक्ता समिति गठन गरेर जनश्रमदानबाट नगद रु तीन लाख अनि रु दुई लाख बराबरको जिन्सी सामान उठाएर मन्दिर निर्माणको कामलाई अघि बढाइएको मनकामना फूल्चोकीमाई मन्दिर संरक्षण तथा सुधार समितिका अध्यक्ष राजेन्द्र सिलवालले बताए । उनले भने, “२०६४ साल वैैशाख २२ गतेबाट मन्दिर उद्घाटन गरेर देवीको पुजा थाल्यौं ।” त्यसताका मन्दिर निर्माण त शुरु गरियो तर यसलाई पूर्णता दिन प्रर्याप्त रकम भने थिएन । यसलाई जसरी भएपनि अघि बढाउनुपर्ने बाध्यता रहँदा २०६८ सालमा भागवत लगाएर त्यसबाट रकम सङ्कलन गरेर केही मन्दिरमा खर्च गरेको सिलवालले जानकारी गराए ।

आजभोली मन्दिर क्षेत्रमा वरिपरी लगाइएका पर्खाल माथि ढलान, तारजाली, बस्ने कुर्सी , धारा जडान र मर्मत सुधारको कार्य भइरहेको छ । विभिन्न सङ्घ संस्थाले मन्दिर सुधार गर्न रकम सहयोग गर्दै जाँदा काठमाडौं न्यूरोड निवासी तथा काठमाडौं सङ्कटा क्लबका पूर्व अध्यक्ष विन्देश्वर श्रेष्ठले पटक पटक गरेर रु ४० देखि ५० लाख मनकामनामाई मन्दिर लगायत वरपर बाँकी रहेका आवश्यक काम गर्न सहयोग गरेको सिलवालको भनाई छ ।

सो मन्दिरमा पुग्ने सिँढी निर्माणका लागि गोदावरी नगरपालिकाले गतवर्ष रु १० लाख र यसैगरी यसवर्ष पनि मन्दिर आसपासमा रहेको पोखरी निर्माणका लागि नगरपालिकाले रु १० लाख सहयोग गरेको छ । मन्दिर क्षेत्रमा जनश्रमदान, भागवतबाट उठेको केही रकम, नगरपालिकाले सहयोग गरेको रकम र व्यक्तिले दिएको रकम गरेर हालसम्म रु एक करोड बढी खर्च भइसकेको मन्दिरका संस्थापक अध्यक्ष ठुलाबहादुर तामाङले बताए । उनले भने , “मनकामनामाई मन्दिर रहेको यस धार्मिक वन अन्तर्गत ३० हेक्टर जमिनमा हाल वृद्धाश्रम, पोखरी र उद्यान निर्माणको काम समेत भइरहेको छ । कोरोना महामारी अघि यस स्थानमा प्रत्येक शनिवार र विदानका दिन हजारौँ मानिस देवी दर्शन, वनभोज, भ्रमण र वरिपरि रहेका वस्ती र वनजङ्गल सयर गर्न आउथे । गएका दिनमा काभ्रेका केही फाँटमा लगभग एकसय ५० देखि २०० वटासम्म निजी तथा सार्वजनिक सवारीसाधनले भरिन्थ्यो ।”

हाल बढ्दो कोभिड महामरीले कसैलाई पनि नआन अनुरोध गरिएको छ । ती घुम्न आउने मानिसबाट उठेका रकम भने मन्दिरमा आवश्यक काम र सामान, भजनकृतन, वार्षिक कार्यक्रम तथा बाजागाजामा खर्च हुने गरेको तामाङले जानकारी गराए ।
मनकामनामाई मन्दिर परिसरमा देवीका अलवा गणेश, कुमार, नारायण, राधाकृष्ण, दक्षिणकाली आदि देवीदेवताका मुर्ति राखिएका छन् । लगनखेलबाट १५ किलोमिटर टाढा रहेको यस मन्दिर दर्शन गर्न जानका लागि गोदावरीको फूल्चोकी हुँदै वनैवन हिडेर, लगनखेल–चापागाउँ बस लेले हुँदै, ललितघुम्तीको सडक लेलेभञ्ज्याङ् हुँदै हिडेर वा गुडेर र लगनखेल–बडिखेल यातायात हुँदै लेलेभञ्ज्याङ सडक हिडेर वा गुडेर दर्शन गर्न जान मिल्छ ।

कामका शिलशिलामा स्वदेश बाहिर गएका मानिसले एक पटक मनाकामनाईको दर्शन गरेर जाँदा सोचेका कुरा सबै पुरा भएर पुनः अर्काे पटक दर्शन गर्न आउने गरेका स्थानीय राजेन्द्र पौडेलले बताए । वि.सं २०६२ अघि सन्तबहादुर नगरकोटीलाई मनकामनामाई मन्दिर बनाउनु भन्ने पटक पटक सपना भएपछि यसलाई अघि बढाइएको स्थानीय मत छ ।

साथै मनकामना माई क्षेत्रको वृद्धि विकास पर्यटन प्रवर्धनको लागि सिंढी तथा पोखरी निर्माणको लागि १०/१० लाख नगरस्तरीय बजेटको व्यवस्था गरिएको र आग्तामी दिनमा पनि मनकामना फ़ुलचोकी क्षेत्रको थप उन्नयनका लागि स्थानीय निकायबाट थप योजनाका साथै आवस्यक योजनाहरु प्रदेश तथा अन्य निकायसंग पनि माग अग्रिने नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नं ५ का वडाध्यक्ष मिलन सिलवालले बताए।

Ad

सम्बन्धित समाचारहरु

पर्यटनमन्त्रीद्वारा ३०० विपन्न नागरिकको कोरोना बीमा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आफूले प्राप्त गरेको कोरोना बीमाबापतको रु एक लाख रकम निर्वाचन क्षेत्रका विपन्न नागरिकको कोरोना बीमामा खर्च गरेका छन । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका मन्त्री भट्टराईले कोरोना बीमाबापत प्राप्त रकम जिल्लाका ३०० जना न्यून आय भएका, विपन्न, विद्यार्थी, असहाय तथा मजदूरको कोरोना बीमामा खर्च गर्नुभएको उहाँका स्वकीय सचिव प्रेम गुरागाईंले जानकारी दिए ।

पर्यटकीय क्षेत्र खुला गर्ने सरकारको निर्णय

पर्यटकीय क्षेत्र खुला गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले पर्यटकीय गतिविधि हुने क्षेत्र खुला गर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड–१९ महामारी नियन्त्रणका लागि प्रतिबन्ध गरिएका पर्यटकीय क्षेत्र पुनःसञ्चालन गर्ने निर्णय गरेको हो । केवलकार, जंगल सफारी र संग्रहालय जस्ता क्षेत्र खोल्न मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको कोरोनाबाट सुरक्षित रहने उपाय अपनाएर खुला गरिने भएको हो । ती क्षेत्र सञ्चालन गर्न दिने निर्णय मन्त्रिपरिषद्को गत कात्तिक २४ गतेको बैठकले नै गरिसकेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad
Ad
Ad