Namaste Icon
Ad

ललितपुरको गोदावरीमा १५ शैय्याको अस्पताल, अर्थमन्त्रीले गरे शिलान्यास

ललितपुरको गोदावरीमा १५ शैय्याको अस्पताल, अर्थमन्त्रीले गरे शिलान्यास

सन्तोष दहाल, ललितपुर । आफ्नै मातहतको अस्पताल नभएका देशका विभिन्न ३९६ स्थानीय तहहरुमा सोमबार एकैदिन ५, १० र १५ शैय्याका अस्पतालहरु निर्माण भईरहँदा ललितपुरको गोदावरी नगरपालिकाको बज्रबाराहीमा पनि १५ शैय्याको अस्पताल शिलान्यास भएको छ। नेपाल्सरकारका अर्थमन्त्री विष्णु पौडेलले बज्रबाराही चापागाउँ अस्पतालकै परिसरमा निर्माण हुन लागेको अस्पताल भवनको एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन्। संघीय सरकारको कुल १८ करोडको लागतमा निर्माण हुने अस्पताल २ वर्षभित्र निर्माण सम्पन्न हुने बताईएको छ। शिलान्यास कार्यक्रममा बोल्दै अर्थमन्त्री विष्णु पौडेलले निर्धारित समय अगावै कार्य सम्पन्न गर्न शुभकामना व्यक्त गरे। उनले भने,'निर्माण गर्दा भवन निर्माण गर्ने मात्र होईन,पूर्वाधार निर्माणका दृष्टिकोणले गुणस्तर सुनिश्चित हुने गरी र अहिलेको आवश्यकतालाई पुरा गर्ने गरी बन्नेछ भन्ने मेरो अपेक्षा छ। संरचना निर्माण गर्दा प्रक्षेपित लागतमा, गुणस्तरीय ढंगले र निर्धारित समय वा सो अगावै सम्पन्न हुने गरी ध्यान दिन म आग्रह गर्न चाहान्छु।'

 पौडेलले ३ सय ९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि अर्थमन्त्रालले ५७ अर्ब ९७ करोड रुपैयाँ बराबरको स्रोत सुनिश्चित गरेको जानकारी दिए। साथै अस्पताल निर्माणका निम्ति गोदावरी नगरपालिकालाई बजेटको अभाव नहुने र त्यसबाट काम रोकिनु नपर्ने मन्त्री पौडेलले प्रतिबद्धता व्यक्त गरे। देशव्यापी रुपमा स्वास्थ्य पूर्वाधार निर्माण गरेर, यन्त्र उपकरणहरु निर्माण गरेर, दक्ष जनशक्तिको व्यवस्था गरेर आम नेपालीहरुको बाँच्न पाउने जनताको मौलिक हकलाई सहज ढंगले अनुभूत हुन सक्ने र स्वस्थ जीवनको सुनिश्चितता गर्ने अभियानमा थालिएको देशव्यापी अभियानले महत्त्वपूर्ण योगदान गर्ने पौडेलको भनाई थियो। गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले विश्वव्यापी कोरोना महामारीले देशभर अस्पताल, दक्ष जनशक्ति र उपकरणहरुको खाँचो औंल्याएको भन्दै सबैतिर अस्पताल निर्माण गर्ने अभियान चलिरहँदा गोदावरीमा पनि अर्थमन्त्रीबाट नै अस्पताल निर्माणको शिलान्यास हुनु गौरवको विषय भएको बताए। उनले भने,'संसारभर स्वास्थ्य संकटको यो समयमा सबैको पहिलो ध्यान स्वास्थ्यक्षेत्रकै लागि हुनुपर्ने समयमा पदबाहाली गर्दा नै अर्थमन्त्रीले सुरु गरेको यो पवित्र अभ्गियाँ अत्यन्त सराहनीय छ। ' साथै महर्जनले गोदावरी नगरपालिकाको वर्तमान सडक तथा अन्य क्षेत्रमा रहेका समस्याका बारेमा मन्त्रीलाई जानकारी गराएका थिए।

संघीय सांसद नवराज सिलवालले पनि विकास निर्माणमा बजेट विनियोजन गर्दा भूगोल हेरेर गर्नुपर्ने भन्दै ललितपुरको क्षेत्र नं १ ले जिल्लाको ८० प्रतिशत भूभाग ओगटेकोले अन्य निर्वाचन क्षेत्रको तुलनामा स्रोत साधन संगै बजेटको आकार पनि ठुलो आवश्यक पर्ने बताए। यसैगरी बागमती प्रदेश सांसद चेतनाथ संजेलले निर्माण हुने नयाँ अस्पतालबाट ललितपुरका धेरै जनताले स्वास्थ्य सेवा सुविधा पाउने बताए। साथै उनले चापागाउँ सडकको समस्या र मुआब्जा दिन नसक्दा समस्या आएकोबारे अर्थमन्त्रीलाई जानकारी गराउंदै यसको समाधानका लागि तत्काल कदम चाल्न आग्रह गरे।

वि सं १९८४ मा चापागाउँ हेल्थपोस्ट को रुपमा सेवा सुरुवात भएर चापागाउँ चिचिङ्ग हेल्थपोस्ट,प्राथमिक स्वास्थ्य तथा स्रोत केन्द्र, बज्रबाराही सामुदायिक अस्पताल हुँदै हाल बज्रबाराही चापागाउँ अस्पतालको रुपमा रहेको केन्द्रमा नै उक्त अस्पताल भवन निर्माण हुन लागेको हो। बज्रबाराही सामुदायिक अस्पतालकै रुपमा रहंदा २०७६ असोज १ बाट नगरालिकाको पूर्ण स्वामित्वमा रहने गरी पूर्ण सरकारी अस्पतालको रुपमा यसको नाम बज्रबाराही चापागाउँ अस्पताल रहन गएको थियो। यसअघि नै निष्क्रिय अवास्थामारहेको पाटन जिल्ला अस्पताललाई पनि बज्रबाराहीमै ल्याउने भनेर ल्याईयो तर लामो समयसम्म बोर्ड मात्र आयो सेवा सुविधा र जनशक्ति आउन सकेनन। अहिले यसलाई र बज्रबाराही चापागाउँ अस्पताललाई गाभेर संघीय सरकारको वर्तमान कार्यक्रम अनुरुप नै हुने गरी १५ शैय्याको अस्पताल बनाउने गरी निर्माण हुन लागेको हो। अस्पताल निर्माणपछि गोदावरी नगरपालिका लगायत दक्षिण पहाडी ललितपुरका ३ वटै गाउँपालिकाका सम्पूर्ण जनताहरु यस अस्पतालबाट लाभान्वित हुनेछन।

अन्य पालिकामा किन भएन शिलान्यास ?

ललितपुरका ६ स्थानीय तहमध्ये गोदावरी नगरपालिकामा मात्र सोमबार अस्पताल भवन निर्माणको शिलान्यास भएको छ। तीन गाउँपालिका,ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकामा यस किसिमका कार्यक्रम सोमबार भएनन। ललितपुर महानगरपालिका सहरी क्षेत्र भित्र रहेको र यहाँ सरकारी तथा गैर सरकारी थुप्रै ठुला अस्पताल भएकाले यहाँ यस किसिमका कार्यक्रम नै छैनन् । उपमेयर गीता सत्यालका अनुसार पाटन अस्पताल संग सहकार्य गरी महानगरपालिकाले काम गरेको छ। महालक्ष्मी नगरपालिकामा अहिलेसम्म सरकारी सेवाको रुपमा प्राथमिक स्वास्थ्य केन्द्रहरु मात्रै रहे पनि तत्काल सरकारी अस्पताल हरु निर्माण गर्ने कार्यक्रम नरहेको नगरपालिकाका सुचना अधिकृत सन्तोष पोखरेलले बताए। । यद्यपि यसका लागि जग्गाहरु खोज्ने काम भने भईरहेको उनले बताए। उपमेयर निर्मला थापाले लुभुमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई नै २५ बेडको अस्पतालको रुपमा संचालन गरिएको र अन्य त्यस किसिमका कुनै कार्यक्रमहरु तत्काल नरहेको बताईन ।

कोञ्ज्योसोम गाउँपालिकामा पालिका स्तरीय अस्पताल शंखुमा राख्ने भनेर सुरुमा तोकिए तापनि त्यसलाई स्थानान्तरण गरी गाउँपालिकाको केन्द्र चौघरे लाने तयारी भईरहेको र सकेसम्म आगामी एक महिनाभित्र शिलान्यास गर्ने गरी तयारी भईरहेको गाउँपालिका अध्यक्ष गोपीलाल सिंतानले बताए। यस्तै महांकाल गाउँपालिकाको मानिखेल स्थित खोरभन्ज्याङमा १५ शैय्याको पालिका स्तरीय अस्पतालको निर्माण सम्पन्न भईसकेको र अब छिटै नै आवश्यक दक्ष जनशक्ति र उपकत्रणको व्यवस्था गरी सेवा सुरु गरिने गाउँपालिका अध्यक्ष रामचन्द्र दाहालले बताए।

बागमती गाउँपालिकाको प्युटारमा प्रदेश सरकारको आर्थिक सहयोगमा १५ शैय्याको गाउँपालिका स्तरीय अस्पताल निर्माण कार्य सम्पन्न भईसकेको छ। गाउँपालिका प्रमुख वीर बहादुर लोप्चनका अनुसार अब एक महिनाभित्र अस्पतालको औपचारिक उद्घाटन गरी सेवा सुचारु हुनेछ।

Ad

सम्बन्धित समाचारहरु

रोशी गाउपालिका सिन्कीलेकमा सामुदायिक स्वास्थ्य इकाई  उद्घाटन

काभ्रे । जिल्ला रोशी गाउपालिका वडा नं ६ सिन्कीलेक सामुदायिक स्वास्थ्य इकाई  उद्घाटन गरिएको छ । नेपाली कांग्रेसको युवा नेता तथा संविधान सभाको सदस्य समेत रहेका तिर्थ लामाको प्रमुख अतिथिमा रिवन काटेर कार्यक्रम उद्घाटन गरिएको हो । सो स्वास्थ्य इकाईले रोशी गाउपालिकालाई स्वास्थ्य क्षेत्रमा ठुलो सहयोग भएको स्थानीयले बताएका छन् ।

सोलुखुम्बुमा टिप्पर दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौं । सोलुखुम्बुमा टिप्पर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सोलुखोला दूधकोशी हाइड्रोपावरमा सामान ओसारपसार गर्ने टिप्पर आइतवार राति दुर्घटनामा परेको हो । घटनामा १ जना घाइते भएका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस