Namaste Icon
Ad

तनहुँ पुलको रिबन राजनीति, किसान र रामचन्द्रको भाले भिडन्त

तनहुँ पुलको रिबन राजनीति, किसान र रामचन्द्रको भाले भिडन्त

सन्तोष दाहाल


 राजनीति, जस र होडबाजी पर्यायवाची शब्द जस्तै हुन्। भन्न त राजनीतिलाई सामाजिक र नि:स्वार्थी पेसाको रुपमा अर्थ्याउने गरिन्छ,तर नेपाली राजनीति र त्यसभित्र जोडिने जस पाउने होडबाजी र पार्टीगत पौठाजोरी हेर्दा लाग्छ, 'यो त सब भन्ने कुरा न हो !'

उद्घाटन, शिलान्यास, सम्मान, निरीक्षण, अनुगमन आदि नेताहरुका दिनचर्या हुन्। अझ निर्वाचित जनाप्रतिनिधिहरुको विकास निर्माणका सवालमा त यी कुराहरु प्रत्यक्ष रुपमा दैनिक रुपमै जोडिने गर्छन। तर यी कुराहरु यतिमै मात्र सीमित हुन्नन्, त्यसभित्र राजनीतिको अमिलो रस घुलिन पुग्छ, जसले राजनीतिमा हुनुपर्ने निष्ठा र अन्य गुणहरुलाई नै बेस्वादी बनाईदिन्छन।

यस्तै घटनाहरुको एउटा ज्वलन्त उदाहरण बन्यो, बुधबारको तनहुँ काण्ड। व्यास नगरपालिकाको तालघरे दुम्सीचौर सडकअन्तर्गत बुल्दीखोलामा निर्माण गरिएको पक्की पुल बुधबार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घाटन गर्ने भने व्यास नगरपालिका र पुल निर्माण उपभोक्ता समितिले कार्यक्रम तय गरे। मङ्गलबार पनि सेती नदी पुल सुँडेको उद्घाटन गरेका पौडेलले उक्त बुल्दीखोला पुल पनि उद्घाटन गर्ने भएपछी यसमा राजनीतिक लफडा सुरु भयो।

नगरपालिकाले बनाईदिएको कज -वेमार्फत बुल्दीखोला तरिरहेका व्यास नगरपालिकाको वडा नं ९,१०, ११ जनताले बाढीले कज वे बगाएपछि पक्की पुल हाल्नका लागि सरकारको ध्यानाकर्षण गराए। काङ्ग्रेसका प्रकाशमान सिंह स्थानीय विकासमन्त्री रहेका बेला तत्कालीन जिल्ला विकास समितिको राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम (एसएनआरटिपी) अन्तर्गत बुल्दीखोलामा पक्की पुल बनाउने निर्माण भएको थियो र २०७३ वैशाखबाट पुल निर्माणको काम सुरु भएको थियो।

दुई वर्षअघि नै २०७५ कात्तिकमा कुल २ करोड ५४ लाखको लागतमा पुल निर्माण सम्पन्न भए पनि बुधबार मात्र उक्त पुलको उद्घाटन कार्यक्रम तय गरियो। तर कार्यक्रम तय भएलगत्तै यसमा राजनीतिक लफडाहरु सुरु भईहाले।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेका काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पुल उद्घाटन गर्ने विषय चुनाव जितेका सोही क्षेत्रका सांसद कृष्णकुमार श्रेष्ठ (किसान) र नेकपा समर्थित कार्यकर्ताको लागि गम्भीर टाउको दुखाईको विषय बन्यो। तसर्थ संघीय सरकारको समन्वयबिना पुल उद्घाटन कार्यक्रम राखिएको भन्दै संघीय पूर्वाधार मन्त्रालय अन्तर्गत सडक विभागले पुल उद्घाटनको कार्यक्रम रोक्न जिल्ला प्रशासनलाई पत्र पठाएको थियो भने यसपछि जिल्ला प्रशासनले समेत व्यास नगरपालिकालाई तत्कालका लागि पुल उद्घाटन रोक्न भन्दै परिपत्र गरेको थियो। तर कांग्रेसमा पनि रामचन्द्र पौडेल पक्षकै समर्थक रहेका व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपाने र पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खड्कबहादुर अधिकारीले निर्धारित समयमै पौडेलकै हातबाट रिबन कटाई पुल उद्घाटन गर्ने कार्यक्रम तय गर्यो।

सांसद श्रेष्ठ समर्थक तथा नेकपाका युवा कार्यकर्ताहरुले उक्त कार्यक्रम जसरी पनि रोक्ने भन्दै पुलमा मंगलबार देखि नै धर्ना बसेका थिए। सडक विभाग र जिल्ला प्रशासनको पत्र नमानी पुल उद्घाटन हुने भएपछी सम्भावित घटनालाई मध्यनर गरी प्रमुख जिल्ला अधिकारी सागर आचार्यले उक्त अठ्सनामा निषेधाज्ञा लगाए भने बुधबार बिहान पनि आचार्य पौडेललाई भेट्न गए । त्यहाँ उनले हात जोडेर तपाईँ त्यो ठाउँमा नगइदिनुहोस्, पुरानो र अनुभवी नेता हुनुहुन्छ, मेरो अफ्ठेरो बुझिदिनुहोस् भनेर अनुनय विनय गरे। तर निकै अनुरोध गर्दा पनि पुल उद्घाटन गरेरै छाड्ने अडान पौडेलले छोडेनन् ।

एकातिर पौडेलको जिद्दी र अर्कातिर विपक्षीको खबरदारीका कारण अवस्था तनावपूर्ण हुने आँकलन पहिले नै भएपछी सोहीअनुसार निषेधाज्ञा लगाइयो र ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरियो । दिउँसो रामचन्द्र पौडेल चर्का नारा र उत्तेजित भाषण गर्दै निषेधित क्षेत्र तोडेर पुल बनेको स्थानमा पुगे , त्यहाँ ठुलो झडपको सम्भावना देखियो । पौडेलकै सुरक्षाको लागि भन्दै प्रशासनले उनलाई कुनै बलजफ्ती विना नै हामीले जिल्ला प्रहरी कार्यालयमा ल्याएर राखिएको र ३ घण्टापछी छोडिएको प्रमुख जिल्ला अधिकारी आचार्यको भनाई छ।

उता जसरी पनि पुल उद्घाटन कार्यक्रम रोक्ने अभियानमा लागेका सांसद किसान श्रेष्ठकै नेतृत्वमा पुल उद्घाटन कांग्रेसले नरोक्ने भएपछी युवासंघ विरोधमा उत्रियो। कानुन र विधि मिचेर पौडेलले पुल उद्घाटन गर्न लागेकाले कार्यक्रम रोकिनुपर्छ भनेको सांसद श्रेष्ठको भनाई थियो ‘संघीय र प्रदेश सरकारले पुल निर्माण गरेको छ । कांग्रेसले बिना समन्वय पुल उद्घाटन गर्न मिल्छ ?’ सांसद श्रेष्ठले भने, ‘पूर्वाधारमन्त्री वसन्त नम्वाङसँग भनेर पौडेललाई नै प्रमुख अतिथि बनाएर म विशेष अतिथि बनौंला तर समन्वय त हुनुपर्‍यो नि ।’

कांग्रेसको आह्वानमा दमौलीमा विरोध प्रदर्शन गरेर बिहीबार पौडेलबाटै बुल्दी पुलको उद्घाटन गर्ने तयारी छ । उपभोक्ता समितिले बिहीबार अधुरो पुलको उद्घाटन गर्ने कार्यक्रम राखेको कांग्रेस तनहुँका सचिव विश्व बास्तोलाले जानकारी दिए । विरोध कार्यक्रमका सहभागी हुन तनहुँका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारी, ध्रुव वाग्ले लगायत पनि आउँदैछन् ।

यसरी पुलको रिबन काट्ने विषयमा तनहुँमा भएको राजनीति र रामचन्द्र र किसानको भाले भिडन्त अहिले हटकेक बनेको छ। तर देशभरको अवस्था हेर्दा यो प्रतिनिधिमुलक घटना मात्र हो। उद्घाटन, शिलान्यास तथा प्रमुख अतिथि ,अतिथिका विषयलाई लिएर प्रायजसो ठाउँमा यस्तै किसिमका राजनीति हुने गरेका छन्। संघीयता बहाली पश्चात त झन् तीन तहका सरकार हुँदा कुन सरकार प्रधान र कसले गर्ने भन्ने विषयमा चरम विवाद भएको देख्न सकिन्छ। संघीय सांसद उपस्थित हुने कार्यक्रममा प्रदेश सांसद र स्थानीय सरकार हत्तपत्त जान चाहँदैनन् किनकि त्यहाँ उनीहरु प्रमुख आतिथ पाउदैनन। यो हेर्दा रिबन काट्ने शिलान्यासमा पुजा गर्ने गरेर मात्र नेताको हैसियत उच्च हुने कि जनता संग जोडिएका र प्रत्यक्ष देखिने काम हरेर नेता बन्ने भन्ने प्रश्नचिह्न खडा भएको छ ।

Ad

सम्बन्धित समाचारहरु

प्रचण्ड–नेपाल पक्षले ओलीलाई सोधेको स्पष्टीकरण पत्र बालुवाटारमा

काठमाडौं । नेकपा प्रचण्ड–माधव नेपाल पक्षले प्रधानन्त्री केपी ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सो सम्बन्धी निर्णय बोकेर नेताहरु बालुवटार पुगेका छन् । नेता सुरेन्द्र पाण्डेले आफुसहित तीन जना नेता बालुवाटार पुगेर ओलीलाई स्पस्टीकरण सोध्ने पत्र बुझाएको जानकारी दिए ।

ओली छलकपट र जालझेली गर्नमा माहिर : प्रचण्ड

ओली छलकपट र जालझेली गर्नमा माहिर : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपि शर्मा ओली ओली छलकपट र जालझेली गर्नमा माहिर भएको टिप्पणी गरेका छन । प्रचण्ड–नेपाल समूहको निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। पार्टीभित्र देखिएको विवाद पदको लागि नभएको स्पष्टीकरण दिंदै उनले ओलीको कारण समस्या आएको बताए ।

Ad

प्रतिक्रिया दिनुहोस