Namaste Icon
Ad
Ad

सरकारी जग्गा श्रीमतीदेखि भतिजा बुहारीसम्मको नाममा

सरकारी जग्गा श्रीमतीदेखि भतिजा बुहारीसम्मको नाममा

काठमाडौं । ललिता निवासको सरकारी जग्गा मालपोत कार्यालयका तत्कालीन अधिकारीले आफन्तको नाममा बकसपत्रमार्फत पास गरेको खुलेको छ । सरकारी जग्गा व्यक्तिको नाममा पास गरिदिएवापत पाएको सो जग्गा उनीहरूले पनि आफन्तकै नाममा पास गरेको भेटिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको लामो अनुसन्धानपछि भेटिएको कागजपत्र अनुसार भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन महानिर्देशक, मालपोत कार्यालय डिल्लीबजारका शाखा अधिकृत, प्रमुख मालपोत अधिकृत र खरिदारले आफन्तकै नाममा बकसपत्रमार्फत पास गराई दिएका हुन् । उनीहरूले श्रीमति, छोरीज्वाई, सालीको छोरा, साढुभाई, भतिजा बुहारीको नाममा पास गरेको भेटिएको हो । अख्तियारका अनुसार सरकारी जग्गा पास गराउन भूमाफियाहरूले सरकारी अधिकारीलाई केही जग्गा सो ठाउमा उपलब्ध गराईदिएका थिए । सार्वजनिक जग्गा किर्ते गर्ने कार्यमा सहयोग गरेवापत प्राप्त भएको जग्गालाई उनीहरूले लुकाउने प्रयोजनका लागि आफन्तको नाममा जग्गा पास गरिदिएको अख्तियारले दायर गरेको अभियोगमा उल्लेख छ ।

अख्तियारका अनुसार विभागका महानिर्देशक मुकुन्द प्रसाद आचार्यले आफ्नै छोरीज्वाईलाई जग्गा पास गरिदिएका हुन् । आचार्यले सो जग्गा आफ्नै कार्यकक्षमा लिखत तयार पार्दै पास गराईदिएको खुलेको छ । आचार्यका ज्वाईं बैकुण्ठ शर्मा रेग्मीले अख्तियारलाई दिएको बयानअनुसार उनले विभागमै बोलाएर आफूलाई सही छाप गराएको र उक्त कागजातका बारेमा प्रश्न गर्दा ससुराको विश्वास छैन भनेर हप्काएको दाबी गरेका छन् । तर, हाल आचार्यको निधन भईसकेको अख्तियारले जानकारी दिएको छ । अख्तियारले दायर गरेको अभियोगमा उनको मृत्यु भईसकेकाले सजाय नहुने भएकाले ७५ लाख १० हजार विगो दाबी गरेको छ ।

विभागमात्र होइन्, मालपोत कार्यालयका उपल्लोस्तरका अधिकारीले पनि बालुवाटारमा जग्गा पाएको अख्तियारको अनुसन्धानले खुलेको छ । कार्यालयका तत्कालिन अधिकृत कलाधर देउजाले सो जग्गा आफ्ना साढुभाई इन्द्रबहादुर क्षेत्रीको नाममा पास गरिदिएका छन् । क्षेत्रीले भने सो जग्गा देउजाले आफ्नो नाममा पास गरिदिएको र दुई वर्षपछि आपूmले १० लाख रुपैयाँमा बिक्री गरेको बयान दिएका छन् । अख्तियारको बयानमा उनले भनेका छन्,‘राणा परिवारलाई आफुले नचिनेको तर साढुदाई देउजाले बालुवाटारमा एउटा जग्गा छ तपाइँको नाम राखिदिउँ भन्दै पास गरिदिनु भएको हो ।’ अख्तियारले देउजामाथि २ करोड, २६ लाख ८५ हजार ५ सय बिगोसहित कैदको माग गरेर आरोपत्र दायर गरेको छ ।

मालपोत अधिकृत सुरेन्द्रमान कपालीले भने आफ्नै भतिजा बुहारीको नाममा जग्गा पास गरिदिएको खुलेको छ । उनीहरूले सिधै आफ्नो नाममा जग्गा राख्दा पछि अनुसन्धानबाट देखिने हुँदा आफन्तको प्रयोग गरेको हुन सक्ने आशंका अख्तियारले गरेको छ । कपालीले शान्ति मल्ल प्रधानको नाममा बकस गरिदिएको भेटिएको हो । मल्लले अख्तियारमा दिएको बयानअनुसार नाताले काका ससुरा पर्ने कपालीले बालुवाटारको जग्गा ८१ हजार मूल्य राख्दै उनको नाममा बकस गरिदिएका थिए । उक्त जग्गा उनले पाँच वर्षपछि ८ लाख रुपैयाँमा बिक्री गरिदिएको बयान अख्तियारमा दिएकी छन् । अख्तियारले कपालीलाई मालपोत प्रमुखको हैसियतले सरकारी जग्गा गैह्रकानुनी रूपमा व्यक्ति विशेषलाई फिर्ता दिनका लागि प्रमुख भूमिका खेलेको भन्दै २ करोड, २६ लाख ८५ हजार ५ सय बिगोसहित कैदको माग गरेर आरोपत्र दायर गरेको छ ।

अख्तियारको बयानमा मालपोतका तत्कालिन खरिदार युक्तप्रसाद श्रेष्ठले आफ्नो श्रीमतीको नाममा जग्गा पास गराएको देखिएको छ । श्रेष्ठकी श्रीमतीले पनि मालपोत कार्यालयमा कार्यरत रहेका श्रीमानको पहुँचका आधारमा बालुवाटारको जग्गा प्राप्त गरेको बयान अख्तियारलाई दिएकी छन् । उनी डिल्लीबजार मालपोतमा कार्यरत रहेको समयमा २०४९ सालमा ८५ हजार मोठ राखेर बकसपत्र गरिएको थियो । श्रेष्ठकी श्रीमती सरस्वतीकुमार श्रेष्ठले दिएको वयानमा जग्गा कारोबारी मिठुराम चापागाईंबाट बकसपत्रमार्फत प्राप्त भएको खुलाएकी छिन् ।

खरिदार श्रेष्ठले श्रीमतीमात्र नभई बहिनी निर्मलादेवी श्रेष्ठलाई पनि बकसमा जग्गा पास गराएको खुलेको छ । अख्तियारको बयानमा निर्मलादेवीले दाजु डिल्लीबजार मालपोत कार्यालयमा खरिदार रहँदा आफ्नो नाममा एउटा जग्गा पास गर्न बोलाएको र पछि उनैले ऋण लाग्यो वेच्न पर्यो भनेपछि आफूले पास गरिदिएको बयान दिएकी छन् । श्रेष्ठमाथि अख्तियारले २ करोड २९ लाख ५७ हजार ४ सय रुपैयाँ बिगो माग गर्दै मुद्दा दायर गरेको छ । अख्तियारले यी सबै जग्गा सरकारी भएकाले फिर्ता ल्याउन सरकारलाई सुझाव दिईसकेको छ ।

 

बैंकको ऋण गुम्ने डर

ललिता निवासको सरकारी जग्गामा बैंक तथा वित्तीय संस्थाले धितो राखेर ऋण लिएको देखिएको छ । अख्तियार स्रोतले दिएको जानकारी अनुसार त्यहा जग्गा हुने २१ जनाले १५ वटा बैंकबाट २ अर्ब ४१ करोड ६९ लाख ३६ हजार १ सय २५ रुपैयाँ भन्दा बढीको धितो ऋण लिएका हुन् । उनीहरूलाई पनि आवश्यक कारवाही गर्न भनेर अख्तियारले नेपाल राष्ट्र बैंकलाई पत्र पठाएको छ ।

राष्ट्र बैंकले ललिता निवासको सरकारी जग्गा धितो राखेर ऋण दिएका बैंकहरूलाई अनुसन्धान भने सुरु गरिसकेको छ । यदी सो ऋण रकम चुक्ता भइसकेको भए थप कारवाही केहीपनि हुँदैन । राष्ट्र बैंकले बैंकहरूलाई यसरी धितो राखेका ऋणीलाई अर्को जग्गा धितो राख्नको लागि भन्नेछन् । त्यो नभएमा सो बराबरको ऋण एनपीएलमा गणना हुन्छ । बैंकहरूले सो बराबरको रकम नोक्सानी व्यवस्थाको लागि प्रोभिजन गर्नुपर्ने हुन्छ ।

ललिता निवासको सरकारी जग्गा धितो राखेर सबैभन्दा बढी इन्दु शर्माले ऋण लिएकी छन् । उनले नेपाल इन्भेस्टमेन्ट बैंकबाट ६९ करोड १० लाख रुपैयाँ ऋण लिएको भेटिएको छ । सो ऋण भने चुक्ता भएको छैन । यस्तै पुरुषोतम पौडेलले पनि सबैभन्दा बढी रकम ऋण लिएका छन् । उनले ४९ करोड रुपैयाँ नेपाल इन्भेस्टमेन्ट बैंकबाट ऋण लिएका छन् । – सौर्य दैनिकबाट

Ad

सम्बन्धित समाचारहरु

कांग्रेस युवा नेता शाहीद्धारा बिद्यार्थीलाइ बर्षभरी पुग्ने गरी कापी कलम सहित आर्थिक सहयोग

कालिकोट । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले विपन्न बिद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका छन् । नेपाली कांग्रेसबाट २०७४ सालको प्रतिनिधि सभा सदस्यका उम्मेद्वार समेत रहेका शाहीले जिल्लाको सान्नीत्रिवेणी गाँउपालिका वडा नं २ सेरिज्यूलाका गोरख तिरुवालाई शैक्षिक सामग्री सहयोग गरेका हुन् । सान्नीत्रिवेणी गाँउपालिका वडा नं २ स्थित संकर मावी सेरीज्यूलामा कक्षा १० मा अध्यायनरत बिद्यार्थी तिरुवालाई बर्षभरी पुग्ने गरी कापी कलम सहित आर्थिक सहयोग गरेका छन् । योगा तथा जेम्नेष्टिक खेलाडी समेत रहेका तिरुवालाई पढाईमा निरन्तरताका लागि आफुले व्यक्तिगत रुपमा सहयोग गरेको नेता शाहीले बताए ।

नियतवश श्रीगोपाल महर्जनको व्यक्तित्व र इमानदारितामाथि प्रश्नचिह्न उठाउन खोजियो!

सन्तोष दाहाल,ललितपुर। मृगौला प्रत्यारोपण प्रकरणमा गलत व्यक्तिलाई नाता प्रमाणित गरिदिएको आरोपमा पक्राउ परेका ललितपुर महानगरपालिका ३ का वडाध्यक्ष श्रीगोपाल महर्जनलाई नियोजित र षड्यन्त्रपूर्ण ढंगबाट फ़साईएको भन्दै न्याय र शिघ्र रिहाईका लागि यतिबेला विभिन्न व्यक्ति तथा संघसंस्थाबाट जोडतोडका साथ मागहरू उठिरहेका छन्। यसअघि नै ललितपुर महानगरपालिका,यसमा आबद्ध कर्मचारी संघ संगठन तथा जनप्रतिनिधिह्रेउको तर्फबाट महर्जनको रिहाईको माग गर्दै विरोध प्रदर्शन देखि लिएर कलम बन्दसम्मका कार्यक्रमहरु गरिसकिएका छन्।

Ad

प्रतिक्रिया दिनुहोस

Ad