Namaste Icon
Ad

३० वर्षयताकै भीषण वर्षाले अस्ट्रेलियाको आगो निभ्यो, जनजीवन अस्तव्यस्त

३० वर्षयताकै भीषण वर्षाले अस्ट्रेलियाको आगो निभ्यो, जनजीवन अस्तव्यस्त

बिबिसी । अस्ट्रेलियाको सिड्नी सहरमा ३० वर्षयताकै भीषण वर्षा भएको छ। वर्षापछि आएको बाढीका कारण त्यहाँ यातायात तथा जनजीवन प्रभावित भएको छ।

हजारौँ मानिस आफ्ना घर छाड्न बाध्य भएका छन्। सो क्षेत्रको मौसमसम्बन्धी निकायका अनुसार गत चार दिनमा त्यहाँ झन्डै ४०० मिलिमिटर पानी परेको छ। सो निकायले अचानक बाढी आउन सक्ने र त्यसले ज्यान जोखिममा पार्न सक्ने चेतावनी दिएको छ। झन्डै एक लाख घरमा बिजुली गएको छ । केही महिनायता न्यू साउथ वेल्स राज्यका ठाउँठाउँमा फैलिएको डढेलोलाई वर्षाले निभाइदिएको छ। उक्त डढेलोले ५०० हेक्टर क्षेत्रफल प्रभावित पार्दै ३१२ वटा घर नष्ट गरिदिएको थियो।

मौसम विभागले डढेलो प्रभावित क्षेत्रहरू नै बाढीको बढ्ता खतरामा रहेका र तीव्र गतिमा बग्ने भेलले ठूलो परिमाणमा फोहोर बगाएर ल्याउने चेतावनी दिएको छ। साथै समुद्री तटमा ठूल्ठूला छाल आउने ठानिएको छ । हाल न्यू साउथ वेल्समा ३१ वटा छुट्टाछुट्टै डढेलो लागिरहेको थियो। भीषण वर्षाका कारण वर्षौँदेखि सुक्खा बेहोरिरहेको सो क्षेत्रमा पानीको आपूर्ति प्रणालीमा भरथेग भएको छ।

सिड्नीको अधिकांश पानीको माग पूर्ति गर्ने वारागाम्बा बाँध ७० प्रतिशत भरिन लागेको बताइएको छ। गत सातामात्र त्यहाँ जम्मा ४२ प्रतिशत पानी भरिएको थियो। अस्ट्रेलियाको सबभन्दा धेरै जनसङ्ख्या भएको न्यू साउथ वेल्स राज्यको सम्पूर्ण तटीय क्षेत्रमा हाल मौसमसम्बन्धी कडा चेतावनी जारी गरिएको छ।

सिड्नीमा मात्र कम्तीमा २०० जना मानिसलाई आपत्कालीन सेवाका कर्मचारीहरूले उद्धार गरेका छन्। सोमवार बिहान त्यहाँको रेल तथा डुङ्गा सेवा अवरुद्ध भएको छ। सिड्नीको एउटा मुख्य स्टेशन सेन्ट्रलका कैयौँ प्ल्याटफर्म पानीमा डुबेका छन्। दर्जनौँ स्कूल बन्द रहेका छन्। मानिसहरूलाई सकेसम्म घरमै बस्न भनिएको छ।

सहरका तल्ला भूभागमा बसिरहेकाहरूलाई त्यहाँबाट अन्यत्र जान वा जानको निम्ति तम्तयार रहन भनिएको छ। सेन्ट्रल सिड्नीमा सोमवार पानी रोकिएको छ तर यो साताभरि थप वर्षाको पूर्वानुमान गरिएको छ।

Ad

सम्बन्धित समाचारहरु

श्रीलंकाद्वारा एमसीसी अस्वीकृत

श्रीलंकाद्वारा एमसीसी अस्वीकृत

कोलम्बो । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) श्रीलंकाले अस्वीकृत गरेको छ। शुक्रबारको मन्त्रिपरिषद्को बैठकले एमसीसीमा हस्ताक्षर नगर्ने निर्णय गरेको सरकारका प्रवक्ता बन्डुला गुनावर्दनेले सञ्चारमाध्यमलाई जानकारी दिए। बिहीबार एमसीसी पुनरावलोकन समितिले प्रधानमन्त्री महिन्द्रा राजपाक्षलाई अन्तरिम प्रतिवेदन बुझाएको थियो। लगत्तै शुक्रबार सोही प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्ले एमसीसीमा हस्ताक्षर नगर्ने निर्णय गरेको श्रीलंकाली सञ्चारमाध्यम द सन्डे मर्निङले उल्लेख गरेको छ।

कोलम्बियामा सेनाको हेलिकप्टर दुर्घटनाः तीन जनाको मृत्यु

एजेन्सी । कोलम्बियामा सेनाको हेलिकप्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा हेलिकप्टरमा रहेका पाँचजना मध्ये तीनजनाको मृत्यु भएको कोलम्बियाको वायु सेनाले जनाएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad