Namaste Icon
Ad

नेपाली भूभागमा चिनियाँ भवन !

नेपाली भूभागमा चिनियाँ भवन !

सिमकोट । हुम्लाको नाम्खा गाउँपालिका–६ मा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन निर्माण गरेको छ । निर्माणाधिन भवनले ओगटेको भूमिका विषयमा दुई देशबीच विवाद उत्पन्न भएपछि वार्ताको पहल पनि विफल भएको छ ।

नेपाली अधिकारीहरुले चिनियाँ पक्षले नेपालको भूभागमा सो भवन बनाएको भन्दै सोमबार स्थलगत अनुगमन समेत गरेका छन् । हुम्ला सदरमुकामबाट स्थलगत अध्ययनका लागि गएको नेपाली टोलीसँग चिनियाँ पक्षले भने आफ्नै भूभागमा भवन बनाएको जवाफ दिएको छ । हिमालपारीको गाउँ लिमीको लाप्चा क्षेत्र पुगेका प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीसहितको टोलीलाई चिनियाँ पक्षले नक्सा नै देखाएर भवन बनाएको स्थान आफुहरुको भएको दावी गरेको हो ।

नेपाली पक्षले पनि नक्सा देखाउदै यो आफुहरुको भूभाग भएको र विगतमा भवन बनाएको क्षेत्रभन्दा साढे दुई किलोमिटर उत्तरतर्फ नेपालले बाटो खनेको समेत जानकारी दिएका थिए । स्थलगत अवलोकन गरेर फर्किनु भएका नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले सो क्षेत्र नेपालकै भूभागमा पर्ने देखिएको बताए । दुवै पक्षले भूमि आ–आफ्नो भनेर दावी गरेपनि त्यहा रहेको ११ नम्बरको सीमा पिल्लर नभेटिएपछि थप समस्या देखिएको हो ।

हराएको भनिएको ११ नम्बर पिलर नभेट्दासम्म चीनको दावी स्वीकार गर्न नसकिने उनले बताए । ‘पिलर भेटिएमा कसैले ढाँट्न नमिल्ने भएको कारण पहिले दुबै देश मिलेर हराएको पिलर खोज्नु पर्छ’, उनले भने । उक्त क्षेत्रका स्थानीयहरुले पनि चिनियाँले भवन बनाएको क्षेत्र नेपालकै रहेको बताएका छन् । पिलर कसरी हराएको हो अहिलेसम्म पत्ता लागेको छैन । अध्यक्ष तामाङले भने, ‘नक्सा देखाएर हुँदैन । हराएको पिलर पत्ता नलगाई चीनको दावीमा विश्वास गर्न सकिँदैन ।’

चिनियाँ पक्षले भवन बनाइरहेको स्थलमा नेपाली टोली पुग्दा त्यहा रहेको चिनियाँ प्रहरीले सेनालाई बोलाएका थिए । ‘भवनहरू बनाएकोभन्दा एक किलोमिटरवर नेपालतर्फको क्षेत्रको भूभाग हाम्रो हो भन्ने चिनियाँ पक्षको भनाइ आयो’, अध्यक्ष तामाङले भने, ‘हाम्रो ११ नम्बरको पिलर हालसम्म नभेटिएकाले हामीलाई यकिन गर्न गाह्रो भयो । लाप्चा लेकमा रहेको हाम्रो १२ नम्बरको पिलरलाई आधार मान्ने हो भने त्यो भवनहरू बनेको ठाउँ हाम्रै भूमिमा पर्ने देखिन्छ ।’

प्रमुख जिल्ला अधिकारीसहितको टोलीले लगभग डेढ घण्टा भवनहरु बनेको क्षेत्रमा बिताएपनि सीमा र सुरक्षा हेर्ने सैनिक टोली आएपछि वार्ता गर्न नसकिने भन्दै चिनियाँ सेनाले नेपाली टोलीलाई फर्काईदिएको थियो । एउटा ट्यांकर, एउटा ट्रक र जीपमा पीपीई सेट लगाएर आएका चिनियाँ सैनिकले त्यहाँ माइकको प्रयोग गरी नेपाली पक्षलाई चिनियाँ भूमिमा कुरा गर्न नमिल्ने र वार्ता नै गर्न मन भए सीमा बिन्दुमा जाऔँ भन्ने प्रस्ताव गरेका थिए ।

उक्त स्थानमा चीनले केही वर्षअघि दुईवटा भवनहरू बनाएको थियो । ईँटबाट बनेका प्लास्टर गरिएका भवनहरू त्यतिकै छाडिएको भए पनि यो वर्ष ११ वटा भवन बनाएर पर्खाल लगाएको र सोलार पनि जडान गरेको पाइएको अध्ययन टोलीले जनाएको छ । अध्यक्ष तामाङले आफूले चिनियाँ प्रहरीलाई सैनिक राख्न भवन बनाइएको हो वा होइन भनेर सोधेको र त्यसको जबाफमा एक तिब्बती मूलका प्रहरीले व्यापारिक प्रयोजनका लागि ती भवन बनाइएको जानकारी दिएको उल्लेख गरे ।

चिनियाँ पक्षले भवन बनाएको स्थानसम्म पुगेको प्रमुख जिल्ला अधिकारी गिरी नेतृत्वको टोलीमा नेपाली सेनाका सात जना र सशस्त्र प्रहरीका १४ जना सहभागी थिए । टोलीले यससमस्यालाई समाधान गर्न केन्द्रबाटै पहल गर्नुपर्ने बताएको छ । पहिला ११ नम्वरको पिल्लर खोज्नुपर्ने र त्यसपछि सो भूभाग कुन क्षेत्रमा पर्छ भनेर स्पष्ट हुने अध्यक्ष तामाङले बताए ।

नाम्खा गाउँपालिकाको सीमा चीनसँग जोडिएपनि त्यहाँ सरकारको उपस्थिति शून्य रहेको र सुरक्षा चौकी बनाउन पटकपटक सरकारसँग आफूले माग गरेको तामाङले बताए । हाल चिनियाँ पक्षले भवनहरू बनाएको वडा नम्बर ६ मा तीनवटा गाउँहरू भए पनि ती चिनियाँ सीमाभन्दा टाढा छन् । झन्डै डेढ सय घरधुरी रहेको उक्त क्षेत्रबाट ‘टिपर’ चढेर चीनसँगको सीमामा पुग्न तीन घण्टा लाग्ने बताइन्छ । सौर्य दैनिकबाट

Ad

सम्बन्धित समाचारहरु

एक्कासि गम्भीर बिरामी भएका नेकपा सांसद राधेश्यामलाई काठमाडौँ ल्याईयो

काठमाडौँ। राष्ट्रिय सभाका सांसद राधेश्याम पासवान एक्कासि गम्भीर बिरामी परेपछि उपचारका लागि काठमाडौं लगिएको छ। सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानी घर भएका पासवान शनिबार दिउँसो घरमै एक्कासि बेहोस भएपछि केहीबेर अघि उनलाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको सत्तारुढ दल नेकपा सर्लाही जिल्ला कमिटीका सचिव कमल बुढाथोकीले जानकारी दिए।

ललितपुरबाट लागुऔषधसहित ४ जना पक्राउ

ललितपुरबाट लागुऔषधसहित ४ जना पक्राउ

काठमाडौँ। सशस्त्र प्रहरीको इन्टेलीजेन्स विशेष व्यूरोले ललितपुरबाट लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ। ललितपुरको हात्तिवनबाट औषधि जन्य लागुऔषध र २ केजी चरेससहित चार जनालाई पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाईएको हो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad