# भर्खरै
Namaste Icon
Ad

व्यावसायिक रुपमा तरुलखेती गरेका किसानलाई तरुल खन्न चटारो

व्यावसायिक रुपमा तरुलखेती गरेका किसानलाई तरुल खन्न चटारो

सर्लाही । माघे सङ्क्रान्ति नजिकिँदै गर्दा सर्लाहीको पश्चिम क्षेत्रका किसानलाई तरुल खन्ने र बेच्ने चटारो परेको छ । गत वर्षको भन्दा यस वर्ष तरुलको मूल्य राम्रो भएकाले चाँडै तरुल खनेर बिक्री गर्न किसानलाई हतार भएको हो । व्यापारीले व्यावसायिक रुपमा तरुल खेती गरिएका किसानको खेतबारीमै पुगेर तरुल खरिद गर्न थालेपछि उनीहरु उत्साहित भएका हुन् । माघे सङ्क्रान्ति आउन एक हप्ता बाँकी भए पनि अन्यत्र निकासीका लागि अहिलेदेखिनै खन्न थालिएको किसानले बताएका छन् ।

जिल्लाको कर्मैया, जिरायत, बरहथवा, हजरिया, राजघाट र शङ्करपुरलगायतका क्षेत्रमा व्यावसायिक रुपमा तरुलखेती गरिन्छ । तरुल खेतीबाट यहाँका किसानले वर्षेनी मनग्य आम्दानी गर्दै आएका छन् । यो वर्ष आफूले १७ कठ्ठामा लगाएको तरुल रु दुई लाख १५ हजारमा बिक्री गरिसकेको बागमती नगरपालिका–१०, शङ्करपुरका किसान मोहन लुम्रे मगरले बताउनुभयो । किसानको खेतमै व्यापारी पुगेर तरुल किन्ने गरेका कारण किसानले आफैले मजदूर लगाउनुपर्ने समस्या समाधान भएको किसानको भनाइ छ ।

यो वर्ष प्रतिकठ्ठा रु १५ देखि २० हजारसम्ममा तरुल बिक्री भइरहेको बागमती नगरपालिका–५ राजघाट टेकानीका किसान शिव पुलामीले बताउनुभयो । पुलामीले आफ्नो ६ कठ्ठाखेतमा लगाएको तरुल रु ९० हजारमा व्यापारीलाई बिक्री गरेको बताए । व्यापारीले नै खनेर लैजाँदा किसानको ज्याला पनि बच्ने गरेको उहाँको भनाइ छ ।

जिल्लाका किसानले फलाएको तरुल बढी मात्रामा काठमाडौँ लाने गरिएको व्यापारीले बताएका छन् । यहाँको तरुल स्वादिलो हुने भएकाले काठमाडौंलगायत ठूला शहरबाट अत्यधिक माग आइरहेको बरहथवा नगरपालिका–५ का व्यापारी रामनाथ साहले बताउनुभयो । जिल्लाका किसानले पताले र रातो तरुल धेरै मात्रामा लगाउने गरेका छन । यहाँको तरुल काठमाडौं, पोखरा, वीरगञ्ज, इटहरीलगायत प्रमुख बजारसम्म पुग्ने गरेको व्यापारीको भनाइ छ ।

जिल्लामा करिब २५० हेक्टर क्षेत्रफलमा तरुल उत्पादन हुने गरेको जिल्ला कृषि ज्ञान केन्द्र मलङ्गवाका निमित्त प्रमुख कमलदेवप्रसाद कुशवाहाले जानकारी दिए । उनका अनुसार प्रतिहेक्टर १५ टनसम्म तरुल फल्ने गर्दछ । – रासस

Ad

सम्बन्धित समाचारहरु

‘जुनार फल्छ तर बिक्री हुदैन’

‘जुनार फल्छ तर बिक्री हुदैन’

ममता भट्ट, डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाउँपालिका –५ शिराडका राजबहादुर भट्ट जुनार बिक्री नभएको भन्दै चिन्तामा छन्। बिगत १२ बर्षदेखी जुनार खेती गर्दै आएका भट्ट यो बर्ष भने जुनार बिक्री नहुँदा चिन्तीत छन्। ‘बिगतका बर्षमा घरमै आएर थुप्रै जुनार बिक्री हुन्थ्यो तर यो बर्ष भने भएका जुनार बारीमै कुहिएर खेर गएका छन, उनले भने ।’ बारीमा डेढ देखी दुई सय सम्म जुनारका बोट लगाएका उनी अहिले भने कसरी बिक्री गरु भन्नेमा छन् । सात जनाको परिवार सोहि खेती बाटै चल्ने गरेको भए पनि अहिले बिक्री गर्ने कार्य ठप्प हुँदा घरखर्च चलाउन मुस्किल हुन थालेको उनी बताउँछन्।

‘किसानहरुको वर्गीकरण गरी कृषि कार्यक्रमलाई व्यवस्थित गर्छौं’

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानहरुको वर्गीकरण गरेर कृषि कार्यक्रमलाई वितरण गरिने बताएकी छन । अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिका पदाधिकारी तथा जनप्रतिनिधि महिलाहरुसँग आयोजीत कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन । पहिलो चरणमा किसानहरुको वर्गीकरण गरी किसान परिचयपत्र वितरण गरिने मन्त्री अर्यालको भनाई थियो । मन्त्री अर्यालले भनिन, ‘किसानहरुको वर्गीकरण गरी परिचयपत्र वितरणको काम सम्पन्न गर्छौ । वर्गीकरणका आधारमा कृषि कार्यक्रमलाई व्यवस्थित ढंगले अगाडी बढाउछौ । आगामी फागुनदेखी यो कार्यक्रम द्रुतरुपले अगाडी बढ्छ ।’

Ad

प्रतिक्रिया दिनुहोस