# भर्खरै
Namaste Icon
Ad

राज्य संचालन गर्न सक्ने क्षमतावान विद्यार्थी उत्पादन गर्छु : ल्हाक्पा शेर्पा

राज्य संचालन गर्न सक्ने क्षमतावान विद्यार्थी उत्पादन गर्छु : ल्हाक्पा शेर्पा
चन्द्रज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक ल्हाक्पा शेर्पा

लिखुपिके गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री चन्द्रज्योति माध्यमिक विद्यालयमा १ सय ७१ जना विद्यार्थी अध्ययनरत छन् । विस २०६४ सालसम्म कक्षा ८ सम्ममात्रै अध्ययन अध्यापन हुँदै आएको सो विद्यालयमा विस २०६५ सालयता कक्षा ९ र १० पनि संचालन भईरहेको छ । विगत केही समययता उक्त विद्यालयमा ल्हाक्पा शेर्पाले प्रधानाध्यापकको जिम्मेवारी बहन गर्दै आएका छन । शेर्पा नवनियुक्त प्रधानाध्यापक हुन् । हाल सो विद्यालयमा १५ जना शिक्षक शिक्षिकाहरुले अध्यापन गराईहेका छन् । झन्डै दुई वर्षयता कोरोना कहरका कारण भनेजस्तो ढंगबाट पठनपाठन संचालन हुन सकेको छैन । जसले गर्दा कयौं विद्यार्थीको पढाई कमजोर हुँदै गएको छ । सुविधा सम्पन्न ठाँउ र आर्थिक सम्पन्न व्यक्तिका लागि नीजी तथा बोर्डिङ स्कुलले अनलाइन क्लास तथा भौतिक उपस्थितिमै सहजतापूर्वक कक्षा संचालन गरे पनि भौगोलिक विकटता र आर्थिक अभावमा हुर्केका विद्यार्थीका लागि कोरोना महामारीले आफ्नो अध्ययनलाई झनै पछाडी पारेको छ । पछिल्लो केही समययता सरकारले स्वास्थ्य मापदण्ड अपनाएर शैक्षिक सस्थाहरु खोल्न भनेको छ । अहिले अवस्था अनुसार प्रायः सबै विद्यालयहरु खुलेका छन् । प्रस्तुत छ चन्द्रज्योति माध्यमिक विद्यालयका उनै नवनियुक्त प्रधानाध्यापक ल्हाक्पा शेर्पासँग दर्पण दैनिकका लागि केशर विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंश:

 

तपाईंले प्रधानाध्यापकको जिम्मेवारी सम्हालेको कति भयो ?
विस २०७७ असार २८ गतेदेखि प्रधानाध्यापकको जिम्मेवारी सम्हादै आएको छु । मैले यो जिम्मेवारी पाएको एक वर्ष अलि बढी भएको छ । स्थानीय र युवा पनि भएकोले मलाई स्वस्फूर्त रूपमा यो जिम्मेवारी दिएको हो । मेरो मुख्य उद्देश्य भनेको गुणस्तरीय शिक्षामा जोड दिने हो । परम्परागत रूपमा संचालन भैरहेका शिक्षालाई आधुनिक तवरबाट अगाडी बढ्ने सोचमा छु । म आफै पनि कक्षा ७ सम्म यहि विद्यालयमा पढेको विधार्थी हुँ । मलाई त्यही बेला देखी नै शिक्षक बन्ने सपना थियो । शिक्षण क्षेत्रमा मेरो एकदशक बढीको अनुभव छ ।

 

यस विद्यालयमा गुणस्तरीय शिक्षाका लागि केकस्ता व्यवस्था छ नि ?
गुणस्तरीय शिक्षाका लागि अहिले होस्टेल, कम्प्युटर, विज्ञान प्रयोगशाला आदिको व्यवस्था छ । विगत लामो समययता हिमालयन प्रोजेक्टले पनि सहयोग गरेको छ । यही हिमालयन प्रोजेक्टको सहयोगमा माध्यमिक तहको अङ्ग्रेजी शिक्षकको व्यवस्था गरेका छौं । नेपाल सरकारको दरबन्दी दिएसम्म राहत शिक्षकलाई हिमालयन प्रोजेक्टले सहयोग गर्ने भनेको छ । त्यसपछि हामी स्थानीय तह, गाउँपालिका वा वडाबाट शिक्षक व्यवस्थापन गर्छौं । विद्यालयको सम्पूर्ण भवन संरचना हिमालयन प्रोजेक्टकै सहयोगमा बनेका छन् । बैठक कक्ष अर्थात् मिटिङ्ग हल निर्माण भएको छ । हिमालयन प्रोजेक्टले हामीलाई आवश्यक पर्ने सम्पूर्ण भौतिक संरचना बनाईदिएको छ । अब खासै नयाँ भवन बनाउनतर्फ जोड नदिने भनेको छ ।


तपाईं स्थानीय साथै युवा पनि हुनुहुन्छ, माध्यमिक तहको प्रधानाध्यापकजस्तो जिम्मेवारी सम्हालिई रहनु भएको छ, उद्देश्य के छ ?
अहिलेसम्म यो विद्यालयबाट उत्पादित विद्यार्थीहरु ईन्जिनियर, डाक्टर, पाईलट तथा राज्य संचालनका महत्त्वपूर्ण निकायमा खासै पुगेको देखिदैन र छैनन् पनि । एकादुई वा नगन्य मात्रामा होलान् । त्यो आफ्नै ठाउँमा छ । मेरो उद्देश्य भनेको अब चन्द्रज्योति माध्यमिक विद्यालयबाट उत्पादन हुने विद्यार्थीहरु राज्य संचालनका महत्त्वपूर्ण निकायमा पुग्न सक्षम र क्षेमतावान विद्यार्थी उत्पादन गर्ने हो । त्यस्तै; उत्पादित विद्यार्थीहरु सभ्य समाज निर्माण गर्न आवश्यक तह र तप्कामा पुर्‍याउने हो ।

 

कहिलेकाहीँ कतिपय ठाउँमा विद्यालयले विद्यार्थीको सही मुल्यांकन गरेन भनेर आरोप पनि लाग्ने गर्छ नि ?
हाम्रो विद्यालयमा निष्पक्ष मुल्यांकन हुन्छ । हामी नातावाद, कृपावाद साथै आग्रही-पूर्वाग्रही भएर मुल्यांकन गर्दैनौं । आन्तरिक तथा बाह्य साधनद्वारा मुल्यांकन हुन्छ । सरसफाइ, ड्रेस, अनुशासन अतिरिक्त क्रियाकलापमा सहभागिता आदिको पनि मुल्यांकन हुन्छ । त्यसकारण जो विद्यार्थी जस्तो छ उसले त्यही प्रकारको नतिजा पाँउछ ।

 

निम्नमाध्यमिक तहसम्म आफैले अध्ययन गरेको विद्यालयमा माध्यमिक तहको प्रधानाध्यापकको जिम्मेवारी ग्रहण गर्दा तपाईंलाई कस्तो लागेको छ ?
अभिभावक तथा अन्य व्यक्तिले त्यो स्कुल राम्रो छ भनेको सुन्दा खुसी लाग्छ । यो कुराले हामीलाई हौसला बढाएको छ । मेरो रुचिको विषय पनि यही क्षेत्र हो । हामी सबै स्टाफहरु एक भएर लागेका छौँ । पुस्तकालय (लाईब्रेरी) कम्प्युटर, होस्टेल आदिको राम्रो व्यवस्था छ । राम्रो अध्ययन गर्ने विद्यार्थीका लागि स्कलरशिपको पनि वयवस्था छ । हाल हिमालयन प्रोजेक्टद्वारा ४०-५० प्रतिशत विद्यार्थी स्कलरशिपमा अध्ययन गरिरहेका छन । नेपाल सरकारले पनि कक्षा १ देखि ८ सम्म छात्रावृत्ति दिएको छ । त्यस्तै स्टेएट स्कोल नामक सँस्थाले पनि सहयोग गरेको छ ।


चन्द्रज्योति माध्यमिक विद्यालयमा कुनकुन ठाँउका विद्यार्थी अध्ययनरत छन् ?
यस विद्यालयमा साविकको भकान्जे गाविस हालको लिखुपिके गाउँपालिका वडा नम्बर ५ भरीका विद्यार्थीहरु, लिखुपिके गाउँपालिका ३ र ४ साथै छिमेकी जिल्ला रामेछापको उमाकुण्ड गाउँपालिकाको क्यामा, गुम्देल र भण्डारका विद्यार्थी अध्यनरत छन ।


कोरोना कहरमा पनि विद्यालय संचालन गर्नुपर्ने बाध्यता छ, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) तथा नेपाल सरकारले दिएको स्वास्थ्य मापदण्ड कत्तिको पालना गर्नु/गराउनु भएको छ त ?

नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले दिएको सबै कुरा पालना गर्न गार्‍हो छ । जस्तैः दुई मिटरको दुरी कायम गर्न भनिएको छ, त्यो हाम्रो विद्यालय लगायत अन्य विद्यालयलाई पनि अप्ठ्यारो छ । किनकी हामीसँग प्रयाप्त फर्निचर छैन । कक्षा कोठा साना छन् । विद्यार्थीको चाप धेरै हुन्छ । कि त त्यसका लागि दुई शिफ्टमा कक्षा संचालन गर्नु पर्‍यो । त्यो पनि त्यति सजिलो र संभव छैन । शिक्षक व्यवस्थापन गर्न पनि गार्‍हो छ । समयमै कोर्स सकिदैँन । ती बाहेक माक्स, सेनिट्राईजर तथा साबुनपानीको भने यथासक्य व्यवस्थापन गरेका छौँ ।

Ad

सम्बन्धित समाचारहरु

'राजनीतिमा इमान्दारीताको खाँचो छ'

'राजनीतिमा इमान्दारीताको खाँचो छ'

स्थानीय तहको निर्वाचन भएको पनि चार वर्ष पूरा भईसकेको छ । यो समय अवधिमा कति जनप्रतिनिधिहरुले जनतासँग आफूहरूले गरेका प्रतिबद्धता पूरा गरे भने कतिपयले भने यो वा त्यो बहानामा प्रतिबद्धता तोड्दै गए । विकास निर्माणका कार्यहरू त परै जाओस् समाजका अत्यावश्यक काम पनि गर्न बिर्से । कतिपय जनप्रतिनिधि त पैसा पावर र पहुँचको आडमा भ्रष्टाचार गर्न पनि लिप्त भए । अब निर्वाचित जनप्रतिनिधिको समयावधि समाप्त हुन केही महिनामात्रै बाँकी छ । करिब चार वर्षको कार्यकालमा स्थानीय चुनावताका गरेको घोषणा र प्रतिबद्धता कल्ले कति पूरा गरे भन्ने कुरा जनताले प्रत्यक्ष मुल्यांकन तथा लेखाजोखा गरिरहेका छन र गर्ने नै छन । केही जनप्रतिनिधिले भने स्रोत र साधनले भ्याएसम्म सबै प्रतिबद्धता पूरा गरेको दाबी गरेका छन् । प्रस्तुत छ सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका वडा नम्बर ५ (साविकको भकान्जे गाविस) का अध्यक्ष ङिमाछिरी लामासँग दिगो विकासलगायत समग्र विषयमा रहेर दर्पण दैनिकका केशर विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंश:

अनेरास्ववियू शैक्षिक आन्दोलनको एउटा बिशाल नेता संगठन हो

नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गरेका अनेरास्ववियु सुर्खेतका संयोजक धुपेन्द्र शाही संगठनका विभिन्न तहमा जिम्मेवारी बहन गर्दै केन्द्रिय कमिटी सचिवालय सदस्यमा मनोनीत भएका छन । बिगत लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय भुमिका निर्वाह गर्दै आएका धुपेन्द्र शाहीसंग राजनीतिक तथा पारिवारिक जिवन बिषयमा केन्द्रित रहेर अनेरास्ववियु सुर्खेतका संयोजक धुपेन्द्र शाहीसंग दर्पण दैनिककर्मी खगेन्द्र हमालले गरेको कुराकानीको सारसंक्षेपः

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad