# भर्खरै
Namaste Icon
Ad

कतारविरुद्ध नेपालको फराकिलो जीत

कतारविरुद्ध नेपालको फराकिलो जीत

काठमाडौं । कतारविरुद्धको टीट्वेन्टी शृंखलाको पहिलो खेलमा नेपालले फराकिलो जीत निकालेको छ। कतारको दोहास्थित वेस्ट एन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले कतारलाई एक सय १९ रनको फराकिलो अन्तरले पराजीत गरेको हो । नेपालले दिएको एक सय ४७ रनको लक्ष्य पछ्याएको कतारले ११.५ ओभरमा अलआउट हुँदै २७ रन मात्र बनाउन सक्यो । कतारका खालिदा इम्तियाज र एन्जेलिन मरेले समान आठ रन बनाए । यस्तै केरी पन्डसेटले सात रन बनाउँदा रिज्फा इमानुयलले तीन रनको योगदान दिइन् । कतारका सात खेलाडीले खाता खोल्न सकेनन् ।

कतारलाई धराशयी बनाउन नेपालकी कप्तान रुबिना क्षत्रीले तीन विकेट लिइन् । यसैगरी सीता रानामगर र कविता कुँवरले दुई/दुई विकेट लिँदा करुणा भण्डारीले एक विकेट हात पारिन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ४६ रन बनाएको थियो। नेपालका लागि इन्दु बर्माले अर्धशतकीय पालि खेलिन् । ४७ बलमा पाँच चौका हिर्काएकी इन्दु रिटायर्ड हट भएकी थिइन् ।

यसैगरी सीता राना मगरले ३९, सरिता मगरले २१ र कविता कुँवरले आठ रन बनाए । नेपालले २० रन अतिरिक्त रुपमा पाएको थियो। कतारका एन्जेलिन मरे र सबिजा पानयानले एक-एक विकेट हात पारे ।

नेपाल र कतारबीचको दोस्रो टीट्वेन्टी खेल बुधबार हुनेछ। आईसीसी महिला टीट्वेन्टी विश्वकपको एसियाली छनोटको तयारीका लागि नेपाली महिला टोलीले कतारसँग तीन खेलको टीट्वेन्टी शृंखला खेलेको हो । कतारमा तीन टीट्वेन्टी खेल खेलेपछि १४ सदस्यीय नेपाली टोली शुक्रबार संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई प्रस्थान गर्नेछ ।

आईसीसी महिला टीट्वेन्टी विश्वकपको एसियाली छनोट खेल नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुँदैछ । छनोटमा ६ टोलीको सहभागिता रहने छ । जसमा भुटान, हङकङ, कुवेत, मलेसिया, नेपाल र संयुक्त अरब इमिरेट्सले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको शीर्ष स्थान हासिल गर्ने टोलीले ग्लोबल छनोट खेल्ने छ ।

नेपालले आईसीसी महिला टीट्वेन्टी विश्वकपको एसियाली छनोटको पहिलो खेलमा आगामी सोमबार मंसिर ६ गते हङकङको सामना गर्नेछ । यसैगरी मंसिर ७ भुटान, मंसिर ९ गते कुवेत, मंसिर १० गते मलेसिया र मंसिर १२ गते यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।

छनोटका लागि नेपालले रुबिना क्षत्रीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ । नेपाली टोलीमा डली भट्ट, करुणा भण्डारी, ज्योति पाण्डे, सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, अप्सरी बेगम, संगीता राई, सरिता मगर, सरस्वती चौधरी, काजल श्रेष्ठ र सबनम राई छन् । नेपाली टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी जगत टमाटाले सम्हालेका छन् । यस्तै टिम ब्यवस्थापकमा जयन्ती भट्ट छिन् ।

Ad

सम्बन्धित समाचारहरु

अन्तर्राष्ट्रिय महिला रेस्लिङ काठमाडौंमा, नेपालकी अस्मिता अमेरिकी पोलान्कोसँग भिड्दै

काठमाडौं । नेपाल महिला रेस्लिङ फाउन्डेशनको आयोजनामा शनिबार अन्तर्राष्ट्रिय महिला रेस्लिङ प्रतियोगिता हुँदैछ । प्रतियोगितामा पाँच देशका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् । भृकुटिमण्डपस्थित गार्डेनमा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक फाउन्डेशनले जनाएको छ । प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, जापान र अमेरिकाका खेलाडीहरूको सहभागिता हुने भएको छ । नेपाली महिला रेस्लरमध्ये सबैभन्दा चर्चित हुन् अस्मिता जुरेली । उनी अमेरिकी रेस्लरसँग भिड्दैछिन् ।

बाह्रविसेमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रविसेमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । जिल्लामा सञ्चालित ब्याडमिन्टन प्रतियोगितामध्ये हालसम्मकै सर्वाधिक धनराशी पुरस्कार भएको प्रतियोगितामा राष्ट्रिय खेलाडीहरुले समेत भाग लिइरहेका छन् । स्थानीय खुर्सानीबारी खेलकुद कभर्ड हलको आयोजना, शिल्क ग्रुपको प्रायोजन र बाह्रविसे नगरपालिकाको होस्टमा ब्याडमिन्टन प्रतियोगीता सुरु गरिएको हो । प्रतियोगीतामा पाँच विधा समावेश गरिएको छ । पुरुष एकल, महिला एकल, पुरुष युगल, भेट्रान्स र स्थानीय पुरुष युगलका खेलहरु प्रतियोगीतामा समावेश गरिएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस