Namaste Icon
Ad
Ad

मेलम्चीको सुरुङमा आजबाट पानी

मेलम्चीको सुरुङमा आजबाट पानी

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणका लागि आजबाट पानी भर्न शुरु गरिने भएको छ । बहुप्रतीक्षित मेलम्चीको साढे २६ किलोमिटर सुरुङमा सोमबारदेखि पानी भर्न थालेर परीक्षण गरिने भएको हो । गत असारमै हतार हतार सुरुङमा पानी भर्ने क्रममा दुर्घटना भएको थियो । हेलुम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं. १७) फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो । उनिहरुमध्ये इन्जिनियरको शव फेला परेपनि चालकको शव अहिलेसम्म भेटिएको छैन । त्यसपछि आयोजनाको पुनःनिरिक्षण गर्दा ढोकाहरु गलत ढंगले बनाइएको फेला परेको थियो ।

खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक प्राविधिक सम्पूर्ण काम पूरा गरेको छ । मन्त्रालयका सचिव माधब बेल्वासले आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम राखेर पानी भर्न सुरु गरिने जानकारी दिए । ‘आवश्यक प्राविधिक परीक्षण सकेर सुरुङमा पानी भर्न सोमबारबाट सुरु हुँदैछ’, सचिव बेल्बासले भने । विगतको जस्तो दुर्घटना नहोस् भन्नका लागि आयोजनाले यसपालि विशेष सतर्कता अपनाइएको छ । परीक्षणका क्रममा हेलिकप्टर स्ट्याण्डबाइ (तयारी) राखिएको छ । उद्धार योजना बनाएर धुलिखदेखि काठमाडौँस्थित विभिन्‍न अस्पतालहरुसँग समन्वय गरिएको छ । सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्नेछ । सुरुवाती चरण भएकाले सुरुङको क्षमताअनुसार पानी नछाडिने आयोजनाका कार्यकारी निर्देश तिरेश खत्रीले बताए ।

दैनिक १७ करोड लिटर पानी ल्याउने सुरुङको क्षमता ६ हजार लिटर प्रतिसेकेण्ड (६ क्यूबिक मिटर) छ । तर पहिलो चरणमा क्षमताको तीन प्रतिशत मात्र अर्थात् तीन सय लिटर प्रतिसेकेण्ड पानी छाडिने खत्रीले बताए । मेलम्ची सुरुङ दैनिक ५१ करोड लिटर पानी ल्याउन सकिने गरी बनाइएको छ । सिन्धुपाल्चोककै याङ्दी र लार्के खोलाको पानी नौ किलोमिटर सुरुङ खनी हालकै मुहानमा मिसाउने योजना छ ।

कति पानी खोलाबाट मुहान हुँदै सुरुङमा पठाइयो, कति पानी सुन्दरीजलमा झर्यो, पानीको गुणस्तर के कस्तो रह्यो लगायतका यावत् परीक्षण गर्नका लागि सुरुङमा पानी क्रमशः भर्न लागिएको उनले बताए । खत्रीका अनुसार आगामी चैत २५ गतेसम्म सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको जलाशय भरिनेछ । जलाशय पनि भरिएपछि उपत्यकाको जनताको घरधुरीमा पानी कहिले छाड्ने भन्‍ने विषयमा भने छलफल भइरहेको खत्री बताउँछन् । उनका अनुसार जनताको घरमा पानी छाड्ने दुईवटा विकल्पबारेमा छलफल भइरहेको छ । पहिलो सुरुङ भरिएको लगत्तै अर्थात् आजको १६ दिनपछि तत्काल उपभोक्ताको घरमा पानी छाड्ने । अर्काे, तुरुन्तै पानी छाड्नुभन्दा चेकजाँच (पाइप खाली गर्दै पानी छाड्दै) गरेर छाड्ने भन्ने बारेमा छलफल भईरहेको छ । चेकजाँचको विकल्पमा गइयो भने आगामी वैशाखमा उपभोक्ताका घरमा पानी पुग्छ ।

मेलम्ची दुई वर्षअघि नै पूरा हुन लागिसकेको थियो । अघिल्लो ठेकेदार सीएमसीले करिब ९७ प्रतिशत काम पूरा गरेको थियो । उसले आयोजनाले दिनुपर्ने भुक्तानी रकम (३६ करोड रुपैयाँ) नपाएका कारण काम छाडी हिंडेको थियो । अघिल्ल्ला सचिव गजेन्द्र ठाकुर र खानेपानी मन्त्री बिना मगरले ठेकेदार सीएमसीले पाउनुपर्ने रकम रोकेका थिए । सीएमसीले दाबी गरेको ६५ करोडमध्ये विवाद समाधान बोर्ड (डीआरबी) ले ३५ करोड रुपैयाँ आयोजनाले दिनुपर्ने निर्णय गरेको थियो । काम गरिरहेको ठेकेदारलाई भगाउँदा पछिल्लोपटक मेलम्ची दुई वर्ष पर धकेलिएको हो । मेलम्ची खानेपानी आयोजना पूरा भएमा उपत्यकामा दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यका ल्याउन सकिन्छ । उपत्यकामा खानेपानीको माग दैनिक ४१ करोड ५० लाख लिटर रहेको अनुमान छ । त्यसमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले दैनिक १० करोड ७२ लाख लिटर मात्र वितरण गर्छ ।  - सौर्य दैनिकबाट

Ad

सम्बन्धित समाचारहरु

पशुपतिमा १ अर्व ८ करोडको सुनको जलहरी राखियो

पशुपतिमा १ अर्व ८ करोडको सुनको जलहरी राखियो

काठमाडौं । पशुपतिनाथ मन्दिरमा एक अर्ब आठ करोड रुपैयाँको सुनको जलहरी राखिएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथको क्षमापूजा गरेपछि जलहरी राखिएको हो पशुपतिनाथ मन्दिरको मुख्य शिवलिंगमा रहेको जलहरी जीर्णोद्धार जारी रहँदा राष्ट्रपति भण्डारी क्षमापूजाका लागि बुधबार पशुपति पुगेकी थिईन् । राष्ट्रपतिले क्षमापूजा गरेपछि सुनको जलहरी राखिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदिप ढकालले जानकारी दिए ।

उर्लाबारीका प्रवीण बास्तोलाको हत्या भएको प्रहरीको दावी, निष्पक्ष छानबिन गरिने

विराटनगर । मोरङको उर्लाबारी-५ का प्रवीण बास्तोलाको मृत्यु प्रकरणमा उनको हत्या भएको प्रहरीले दावी गरेको छ। उक्त घटनाको निष्पक्ष छानबिन गरी अनुसन्धान गरिरहेको र कुनैपनि हालतमा दोषीलाई कानुनी दायरामा ल्याइने मोरङ प्रहरी प्रमुख सन्तोष खड्काले बताए।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad