Namaste Icon
Ad
Ad

जेठदेखी अवैध मोबाइल ‘लक’ गर्ने तयारी, वैध च्यानलबाट आएका मोबाइल डिभाइसमा मात्र नेटवर्कले काम गर्ने

जेठदेखी अवैध मोबाइल ‘लक’ गर्ने तयारी, वैध च्यानलबाट आएका मोबाइल डिभाइसमा मात्र नेटवर्कले काम गर्ने

काठमाडौं । आगामी जेठदेखी नेपालमा भित्रिएका अवैध मोवाइल लक हुने भएका छन् । नेपाल दूरसञ्‍चार प्राधिकरणले यसअघि नै यस्तो प्रणाली सञ्चालन गर्ने तयारी गरेपनि जेठबाट मात्र सञ्चालनमा आउने भएको छ । ठेक्का सम्झौता भएको दुई वर्षपछि अवैध मोबाइल नियन्‍त्रणका लागि बनाइएको प्रणाली सञ्‍चालन हुने भएको हो । प्रणाली सञ्‍चालनमा आएपछि नेपालमा पनि दर्ता भएर वैध च्यानलबाट आएका मोबाइल डिभाइसमा मात्र नेटवर्कले काम गर्ने छ । अवैध तथा चोरी गरी ल्याइएका एंवम् प्रणालीको डेटाबेसमा नभएका डिभाइस ब्लक हुनेछन् । मोबाइल डिभाइस म्यानेजमेन्ट विनियमावलीअनुसार आधिकारिक आयातकर्ताहरूले डिभाइसको युनिक नम्बर (आइएमइआइ नम्बर ) दर्ता गराउनुपर्ने छ । यसरी दर्ता भएका डिभाइसको डेटाबेस सेवाप्रदायकहरुको नेटवर्कसँग जोडिने छ ।

प्रणालीको कालोसूचीमा नभएको भएमात्र नेटवर्कले काम गर्ने नत्र ब्लक हुने प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए । ‘विनियमावलीमा तोकिएको ढाँचामा आयातकर्ताहरूले दर्ता गर्छन् । सोही सूचना भन्सारसँग पनि साझेदारी हुन्छ । त्यसैको आधारमा आएका मोबाइल वैध हुन्छन् । दर्ता नभएका मोबाइल स्वतः कालोसूचीमा पर्छन्’, अर्यालले भने । प्रणालीका लागि आवश्यक यन्‍त्र उपकरण सबै आइसकेको र अहिले जडानको काम भइरहेको छ । काठमाडौंको चाबहिलमा रहने यो प्रणाली सञ्‍चालनका लागि अहिले द्रुत गतिमा काम भइरहेको प्राधिकरणले जनाएको छ । व्यक्तिगत रूपमा विदेशबाट मोबाइल ल्याउनेहरूले पनि दर्ता गर्नुपर्ने छ । व्यक्तिगत रूपमा ल्याएकाहरूले निर्धारित ढाँचामा आफ्नो व्यक्तिगत विवरण दिएर डिभाइस दर्ता गर्नुपर्ने छ ।

कुनै पनि एउटा व्यक्तिले एक वर्षमा निश्चित डिभाइस मात्र दर्ता गर्न पाउने छ । तर कति संख्या भन्‍ने अहिले निर्धारण भएको छैन । प्रणाली सञ्‍चालनमा आउने बेलासम्म प्राधिकरणले यसमा थप निर्णय गर्ने अर्यालको भनाइ छ । कुनै पनि डिभाइस प्रणालीको डेटाबेसमा नहुनेबित्तिकै पहिलो पटकमै कालोसूचीमा भने पर्ने छैनन् । डेटाबेसमा नदेखिएपछि प्रणालीले चेतावनी सूचीमा राख्‍नसक्ने छ । त्यसपछि प्रयोगकर्तालाई उक्त चेतावनी पठाइने छ । यसरी पनि दर्ता नभएपछि कालोसूचीमा राखिने छ । विनियमावली अनुसार यो प्रणाली सञ्चालनमा आउनेबित्तिकै कालोसूचीको प्रक्रिया सुरू हुने छैन । सञ्चालनमा आएको पहिलो छ महिनालाई परीक्षण तथा जनचेतनाको अवधि मानिने छ । छ महिनापछि मात्र बाध्यकारी हुने छ । प्रणाली सञ्चालनमा आउनुभन्दा पहिले नै नेपाल भित्रिएर सञ्‍चालनमा रहेका डिभाइसलाई अनिवार्य दर्ता प्रक्रिया लागू गर्ने वा नगर्ने भन्ने विषयमा अहिले ठोस निर्णय भएको छैन । विश्वव्यापी प्रणालीमा पनि नपाइएका कुनै पनि डिभाइस लक हुनसक्ने बताइएको छ ।

Ad

सम्बन्धित समाचारहरु

एनसेललाई एचआर एक्सिलेन्स अवार्ड

एनसेललाई एचआर एक्सिलेन्स अवार्ड

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ‘नेशनल एचआर एक्सिलेन्स अवार्ड २०२०’ प्राप्त गरेको छ । मानव संसाधन विकासका क्षेत्रमा काम गर्दै आएको कम्पनी ग्रोथ सेलर्सले एचआर मिट २०२१ को एक कार्यक्रममाझ एनसेललाई यो अवार्ड प्रदान गरिएको हो ।

सार्वजनिक हुँदै ओपो एफ१९प्रो

सार्वजनिक हुँदै ओपो एफ१९प्रो

काठमाडौं । ओपोले यही चैत्र ३ गते ‘एफ१९प्रो’ सार्वजनिक गर्ने भएको छ । लाइभलञ्च इभेन्टमा ओपोका ब्राण्ड फ्रेन्ड तथा कलाकार स्वस्तिमा खड्का, तृष्णा गुरुङ र कुटुम्ब ब्याण्ड लगायतको उपस्थिति रहने कम्पनीले जनाएको छ । लामो समयदेखि कम्पनीले एफसिरिज मार्फत उपभोक्तालाई स्टेट अफ आर्ट प्रविधि पस्कँदै आइरहेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad