अनलाइनमार्फत औषधि बिक्री गरे कारबाही गरिने

काठमाडौं । अब अनलाइन तथा सामाजिक सञ्जालमार्फत औषधि बिक्री वितरण गर्न नपाइने भएको छ । सामाजिक सञ्जालमा फार्मेसी सेवाका नाममा गैरकानुनी रुपमा भइरहेको औषधि बिक्री–वितरण तत्काल बन्द गर्न औषधि व्यवस्था विभागले निर्देशन दिएको हो ।
विभागले सूचना जारी गर्दै औषधि ऐन २०३५, दफा १९ बमोजिम औषधिको गलत विज्ञापन गर्न नहुने कानुनी व्यवस्था रहेकाले कानुन विपरीत अनलाइनबाट भइरहेको औषधि बिक्री वितरण बन्द गर्न भनेको हो । निर्देशन अटेरी गर्नेमाथि कारबाही हुने विभागले चेतावनी दिएको छ ।
अनलाइन फार्मेसीबाट औषधि खरिद नगर्न र नगराउन विभागले उपभोक्तालाई आग्रह गरेको छ । पछिल्लो समय अनलाइन फार्मेसीका नाममा छुटरसुविधा उल्लेख गरेर औषधिको गैरकानुनी बिक्री वितरण भइरहेको विभागले जनाएको छ ।
काठमाडौं । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । बैठकमा मन्त्री श्रेष्ठले मौसम प्रतिकुलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी गराएका थिए ।
ललितपुर। नेपाल राष्ट्रिय शिक्षक संगठन महालक्ष्मी नगरपालिकाको दोश्रो नगर अधिवेशन सम्पन्न भएको छ। लुभुमा सम्पन्न उक्त अधिवेशनले कालीदेवी माविका प्रधानाध्यापक शेरबहादुर बस्नेतको अध्यक्षतामा आगामी तीन वर्षका लागि २१ सदस्यीय नयाँ कार्यसमितिसमेत सर्वसम्मत रुपमा चयन गरेको छ।