Namaste Icon
Ad
Ad

दयनीय अवस्थामा त्रिपालमुनि कक्षा सञ्चालन हुदैं

दयनीय अवस्थामा त्रिपालमुनि कक्षा सञ्चालन हुदैं

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका– ६ मा रहेको समैजी आधारभूत विद्यालयको भवन बाढी पहिरोले बगाउदाँ त्रिपालमुनि कक्षा सञ्चालन भइरहेका छन् । २०७७ साउनमा आएको बाढी, पहिरोले विद्यालय भवन बगाउँदा त्रिपालमुनि कक्षा सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक हरकसिँह ठगुन्नाले जानकारी दिए । कोरोना संक्रमणका कारण विद्यालय बन्द अवस्थामा थियो ।

‘गत वर्ष मंसिरदेखि चैतसम्म विद्यालय खुलेका थिए, घाम लागेको दिन चौर र पानी परेको दिन त्रिपालमुनि कक्षा सञ्चालन गरेका हौँ’, विद्यालयका शिक्षक दिलीपसिंह ठगुन्नाले भने । गत चैतदेखि बन्द रहेका विद्यालय जिल्ला प्रशासन कार्यालय दार्चुलाले स्वास्थ्य मापदण्डको पालना गरी संचालन गर्न पाउने निर्णय गरेअनुसार २२ भदौदेखि भौतिक रूपमा कक्षा सञ्चालन गरिएको उनले बताए ।

आठ कक्षासम्म पढाइ हुने उक्त विद्यालय सञ्चालनका लागि चारवटा त्रिपाल टाँगिएको शिक्षक ठगुन्नाले बताए । ‘दुईवटा कोठा बाढीले बगाएको थिएन । त्यसमा कार्यालय र साना कक्षा सञ्चालनमा ल्याएका छौँ । चारदेखि आठसम्मका कक्षा त्रिपालमा पढाइ हुन्छ’, उनले भने ।

बेलाबेला हुने वर्षाले पढाइमा समस्या हुने गरेको छ । त्रिपालमुनि विद्यार्थीहरू राखेर बहुकक्षा शिक्षण गरी पठनपाठन भइरहेको शिक्षक ठगुन्नाले बताए । ‘बाढीले विद्यालयको सबै सम्पत्ति बगायो, गाउँपालिकाले दिएका त्रिपालहरूले कक्षा सञ्चालनमा ल्याएका हौँ’, उनले भने ।

बाढीले बगाएको विद्यालयको नयाँ भवन निर्माण टेण्डर प्रक्रियामा गइसकेको नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले जानकारी दिए । संघीय सरकारको एक करोड ३७ लाख रुपैयाँ अनुदानमा आठ कोठे भवन निर्माणका लागि ठेक्का आह्वान गरिएको र चैतभित्र विद्यालय भवन निर्माण गरिसक्ने लक्ष्य गाउँपालिकाले लिएको उनको भनाइ छ ।

‘गाउँपालिकासँग त्यति ठूलो बजेट भएन, प्रदेश सरकारलाई आग्रह गर्दा सहयोग भएन, चालू आर्थिक वर्षमा संघ सरकारबाट अनुदानमा रकम आएको छ’, गाउँपालिका अध्यक्ष धामीले भने ।

बाढीले जोखिम नभएको नयाँ ठाउँमा विद्यालय भवन निर्माणका लागि गाउँपालिकाले जमिनको व्यवस्था गरिसकेको र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट फिल्ड निर्माण गरिएको उनले बताए ।

त्रिपाल टाँगेर विद्यालयको बोर्ड राखिएको फोटो सामाजिक संजालमा भाइरल भएपछि धेरैले यसबारे चासो व्यक्त गरिरहेका छन् । न्यूज कारखाना

Ad

सम्बन्धित समाचारहरु

नेपालमा पनि निपा भाइरसको जोखिम !

नेपालमा पनि निपा भाइरसको जोखिम !

काठमाडौं । निपा भाइरसको संक्रमण फैलन नदिन नेपालमा पूर्वतयारी थालिएको छ । यो रोगको जोखिम नेपालमा पनि रहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्वतयारी स्वरुप देशभरका अस्पतालहरुलाई ‘अलर्ट’ हुन बिहीबार निर्देशन दियो । रोगको यकिन निदान नहुँदै वा तीव्र रुपमा बिरामीको स्वास्थ्य अवस्था बिग्रँदै गएमा वा मृत्यु भएमा त्यस्ता बिरामीहरुको विस्तृत विवरण लिई प्रयोगशालाको समन्वयमा नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा यथाशीघ्र पठाउने व्यवस्था मिलाउन अर्ली वार्निङ एण्ड रिपोर्टिङ सिस्टम (इवार्स) सेन्टिनेल साइट/अस्पतालहरुलाई मन्त्रालयले निर्देशन दिएको हो ।

यी २५ क्याम्पसको त्रिभुवन विश्वविद्यालयद्धारा सम्बन्धन खारेज

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २५ वटा क्याम्पसको सम्बन्धन खारेज गरेको छ । त्रिवि अन्तर्गत २५ वटा क्याम्पसहरुको सम्बन्धन खारेज भएको त्रिवि योजना निर्देशनालयले जनाएको छ । यसअघि त्रिवि अन्तर्गत एक हजार ८५ क्याम्पस थिए । त्रिवि योजना निर्देशनालयका शाखा अधिकृत रामकृष्ण खत्रीका अनुसार १० वटा क्याम्पस सुदूरपश्चिम विश्वविद्यालय र १५ क्याम्पस मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा गाभिएका छन् । यससँगै त्रिवि मातहत एक हजार ६१ क्याम्पस सम्बन्धन प्राप्त छन् ।

Ad

प्रतिक्रिया दिनुहोस