# भर्खरै
Namaste Icon
Ad

व्यावसायिक कुखुरापालनबाट वार्षिक ४० लाख आम्दानी

व्यावसायिक कुखुरापालनबाट वार्षिक ४० लाख आम्दानी

काठमाडाैं । झापाको मेचीनगर–८ स्थित गिरीगाउँका युवा व्यवसायी ईश्वर गिरीले छ वर्षदेखि व्यावसायिक कुखुरापालन गरेका छन् । उनले यसबाटै राम्रो कमाइसमेत गरेका छन् । द पूर्वाञ्चल पोल्ट्री फार्म प्रालि दर्ता गरेर १० कठ्ठा जग्गामा व्यावसायिकरूपमा गरेको लेयर्स जातको कुखुरापालनबाट वार्षिकरूपमा रू ४० लाख आम्दानी गर्न सफल भएको गिरीले बताए ।

रु एक करोड लगानीमा फार्म सञ्चालन गरेका उनले अहिले लेयर्स जातका छ हजार पाँच सय कुखुरा पालेका छन् । लेयर्स जातका कुखुराले एक ‘लट’मा पाच वर्षसम्म अण्डा दिने गरेको तर १५ महिना जतिचाहिँ राम्रो अण्डा दिने बताए ।

'स्वदेशमै बसेर केही आयआर्जन गर्ने सोचमा भएकाले सुरुमा ऋण लिएर कुखुरा फार्मका लागि जग्गा जोडेको थिएँ, अहिले यही पेसाबाट बैंकको ऋणसमेत तिर्न सफल भएँ', व्यवसायी गिरीले सुनाए ।

बिबीएस पास गरेका उनले युरोपका क्यानाडा, जर्मन, पोर्चुगललगायत विभिन्न देशमा रोजगारीको सिलसिलामा धेरै वर्ष बिताएका थिए । तर जहाँ बसे पनि नेपालमा बसेर व्यवसाय गरे जत्तिको सन्तुष्टि आफूलाई नमिलेको उनले बताए ।

कृषिमा सम्भावना देखेर रहरले विदेसबाट आएर व्यावसायिकरूपमा कुखुरापालन गरेकामा यसबाट आफू खुसी भएको उनले सुनाए ।

फार्ममा दैनिक पाँच हजार अण्डा उत्पादन हुन्छ । अण्डा प्रतिगोटा रु ११ मा फार्ममै बिक्री हुन्छ भने पूर्वी नेपाललगायत विभिन्न स्थानमा थोक तथा खुद्रा मूल्यमा बिक्री हुने गरेको किसान गिरीले उल्लेख गरे ।

लेयर्स जातको कुखुरा अण्डा र मासुका लागि उपयुक्त मानिन्छ । कुखुराको सुली (मल)बाट समेत राम्रो आम्दानी हुने गरेको उनले बताए । प्रतिबोरा रु तीन सयमा फार्मबाट सुली बिक्री हुने गरेको गिरीले सुनाए । दुईवटा ठूला–ठूला कटेरोमा कुखुरा पालिएको छ ।

कुखुरापालनसँगै उनले क्रसर व्यवसायमा समेत लगानी गरी अगाडि बढाएका छन् । उनले 'कृषिमा सम्भावना धेरै छ, जाँगर चलाउँदै तरिका पुर्‍याएर काम गर्दा नाफा हुन्छ', उनी भन्छन् ।

कुखुरालाई बेलाबखत लाग्ने रोगले भने सताउँछ, यसपालि पनि धेरै कुखुरा मरेका उनले बताए । त्यस्तै कहिलेकाहीँ बिचौलियाले गर्दा उचित मूल्य नपाउने गुनासो पनि उनले सुनाए ।

'हामीजस्ता युवालाई विदेश पलायन हुनबाट रोक्नका लागि उद्यमशील किसानलाई सरकारले आवश्यक सहयोग गरी स्वदेशमै आधुनिक खेती गर्न प्रेरित गर्न जरूरी छ', उनले भने । रासस

सम्बन्धित समाचारहरु

१८ औं राष्ट्रिय कफी दिवस नुवाकोटमा मनाइँदै

काठमाडौं । ‘व्यावसायिक कफी खेतीमा जोड, गुणस्तरीय उत्पादन हाम्रो अठोट’ मुल नाराका साथ १८ औं राष्ट्रिय कफी दिवस मनाइँदै छ । यो दिवस यसपटक नुवाकोटमा मनाउन लागिएको छ । प्रत्येक वर्षको मंसिर १ गते मनाउने कफी दिवस चुनावको आचारसहिंताका कारण तोकिएको समयमा मनाउन सकिएको थिएन । त्यही दिवसलाई मंसिर १६ गते मनाउन लागिएको राष्ट्रिय चिया कफी विकास बोर्डले जनाएको छ ।

हरियो मकै निर्यात गर्दै गैँडाकोट

टेकराज पोखरेल, नवलपुर । सहरमा हरियो मकै पोलेर खाने चलन चल्ती निकै छ । विशेष गरी दिउँसो र साँझको समयमा सहरका चोक, गल्ली र राजमार्गका किनारमा हरियो मकै पोल्ने र खानेहरूको भिड हुने गर्दछन् । काठमाडौं, पोखरा, नारायणघाट, बुटवललगायतका मुख्य सहरमा पोलेर खाइने हरियो मकै प्रायः नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा उत्पादन हुँदै आएको छ । गैँडाकोटमा बाह्रैमहिना मकैको राम्रो उत्पादन हुने भएकाले यहाँका किसान व्यावसायिक मकै खेती गरेर जिल्ला बाहिर निर्यात गर्दै आइरहेको गैँडाकोट–६ का किसान तिलकप्रसाद रिजालले बताए ।

प्रतिक्रिया दिनुहोस

Ad
Ad