# भर्खरै
Namaste Icon
Ad

घरका छतभरि राताम्य खुर्सानी

घरका छतभरि राताम्य खुर्सानी

जाजरकोट । त्रिपुरासुन्दरी नगरपालिका–४ रङ्ग डोल्पाकी रमिता कुलालको घरको छत राताम्य भएको छ । माटो र ढुङ्गाको मिश्रणबाट निर्माण गरिएको घरको छानामा सुकाइएको स्थानीय जातको खुर्सानीले रङ्ग गाउँका छाना राताम्य देखिएको हो ।

कुलालका अनुसार १८ क्विन्टल खुर्सानी बारीमा उत्पादन भएको छ । कुलालले भनिन्, “हाम्रो यहाँको खुर्सानी रुकुमपश्चिम, जाजरकोट र डोल्पा जिल्लाभरिलाई पुग्छ । भोटाने खुर्सानी (मच्य) भनेर चिनिने हामीले उत्पादन गरेको यो खुर्सानी धेरै बिक्री हुँने गर्दछ ।” कुलाल जस्तै सरस्वती बुढाको घरमा यसवर्ष १२ क्विन्टल खुर्सानी उत्पादन भएको छ । अहिले उत्पादित खुर्सानी सुकाउने र भण्डारण गर्ने काम चलिरहेको छ ।

वैशाखमा लगाएको खुर्सानी असोज, कात्तिक महिनामा टिपेर सुकाउने काम चलिरहेको बुढाले बताइन् । अग्लो डाडामा रहेको रङ्ग गाउँ सडक सञ्जालसँग जोडिएको छ । अधिकांश माटो प्रयोग गरेर निर्माण गरिएका यहाँका घरका छत खुर्सानी सुकाउनका लागि उपयुक्त हुने गरेको बुढाको भनाइ छ ।

भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको बीचमा पर्ने रङ्ग गाउँ खुर्सानीको रातो रङ्गले हिउँदयामको कात्तिक र मंसिर महिनाभरि छत राता हुने गर्दछन् । आधुनिक प्राविधिकभन्दा पनि स्थानीय जातकै खुर्सानी सबैले मन पराउने र माग बढी हुने भएपछि आफूहरु त्यहीअनुसार खुर्सानी खेतीतर्फ लागेको स्थानीय कालीबहादुर बुढाले बताए ।

यहाँ २१४ घरधुरी छन् । तत्कालीन सुँ गाविसको वडा नं. ७, ८ र ९ लाई समेटेर त्रिपुरासुन्दरी नगरपालिकाको वडा नं. ४ बनेको छ । पूर्ववडा सदस्य हरिवान बुढाका अनुसार वडाभरि खुर्सानी राम्रो उत्पादन हुने गर्दछ । सानो रबरको एक जग खुर्सानी बिक्री गर्दा रु ७० पर्ने गर्दछ । एक क्विन्टल बिक्री गर्दा रु सात हजार दुई सय पर्ने गरेको बुढाले बताए । खुर्सानी बिक्री बाट स्थानीयले झण्डै रु दुई लाखजति आम्दानी गर्ने गरेको उनको भनाइ छ ।
गाउँबाट ढुवानीका साधनबाट त्रिपुराकोटस्थित बगरमा रहेका बजारमा बिक्री गर्ने गरिएको छ । सिँचाइ सुविधा सबै ठाउँमा नपुगेका कारण सोचेजति खुर्सानी उत्पादन गर्न मुस्किल हुँदै आएको स्थानीयवासी बताउँछन् ।

नगरपालिका र अन्य निकायले व्यावसायिकरुपमा खेती गर्दै आएका किसानका लागि अनुदानको व्यवस्था, सिँचाइको व्यवस्था गरिदिए सहयोग पुग्ने स्थानीय भावना बुढाले बताइन् । रङ्ग गाउँ खुर्सानी मात्र होइन, स्याउको पनि स्थापित मानिन्छ ।

मध्य डोल्पामा पर्ने त्रिपुरासुन्दरी स्याउ, ओखर र खुर्सानीका लागि चर्चित हुँदै आएको छ । त्रिपुरासुन्दरी नगरपालिकाबाट खुर्सानी खेतीका लागि कुनै कार्यक्रम नभएको कृषि शाखाका जगतबहादुर रोकायले बताए । स्याउ र ओखरका लागि मात्र बजेट विनियोजन गरी काम भएको उनको भनाइ छ । रासस

सम्बन्धित समाचारहरु

१८ औं राष्ट्रिय कफी दिवस नुवाकोटमा मनाइँदै

काठमाडौं । ‘व्यावसायिक कफी खेतीमा जोड, गुणस्तरीय उत्पादन हाम्रो अठोट’ मुल नाराका साथ १८ औं राष्ट्रिय कफी दिवस मनाइँदै छ । यो दिवस यसपटक नुवाकोटमा मनाउन लागिएको छ । प्रत्येक वर्षको मंसिर १ गते मनाउने कफी दिवस चुनावको आचारसहिंताका कारण तोकिएको समयमा मनाउन सकिएको थिएन । त्यही दिवसलाई मंसिर १६ गते मनाउन लागिएको राष्ट्रिय चिया कफी विकास बोर्डले जनाएको छ ।

हरियो मकै निर्यात गर्दै गैँडाकोट

टेकराज पोखरेल, नवलपुर । सहरमा हरियो मकै पोलेर खाने चलन चल्ती निकै छ । विशेष गरी दिउँसो र साँझको समयमा सहरका चोक, गल्ली र राजमार्गका किनारमा हरियो मकै पोल्ने र खानेहरूको भिड हुने गर्दछन् । काठमाडौं, पोखरा, नारायणघाट, बुटवललगायतका मुख्य सहरमा पोलेर खाइने हरियो मकै प्रायः नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा उत्पादन हुँदै आएको छ । गैँडाकोटमा बाह्रैमहिना मकैको राम्रो उत्पादन हुने भएकाले यहाँका किसान व्यावसायिक मकै खेती गरेर जिल्ला बाहिर निर्यात गर्दै आइरहेको गैँडाकोट–६ का किसान तिलकप्रसाद रिजालले बताए ।

प्रतिक्रिया दिनुहोस

Ad
Ad