# भर्खरै
Namaste Icon
Ad

बाख्रापालनमा बढ्दै महिलाको आकर्षण

बाख्रापालनमा बढ्दै महिलाको आकर्षण

पाल्पा । जिल्लको रामपुर नगरपालिका–९ लाम्दीखोला बस्ने मालती भुषालले परिवारको आर्थिक अवस्था उकास्न बाख्रापालनलाई जोड दिँदै छिन् । सधैँ दुई–चार पैसाका लागि अरूको निर्भर रहँदै आएकी उनलाई आफ्नो खर्च आफैँ धान्न हेफर प्रोजेक्ट नेपालले बाख्रा उपहार दिएपछि उत्साह थपिएको छ । ग्रामीण भेगका महिलाको जीविकोपार्जन गर्न हेफरले बाख्रापालनलाई प्रोत्साहन गर्दै उपहारस्वरूप दिएको बाख्रालाई राम्रोसँग पालनपोषण गरी आम्दानी बढाउने भुषालले लक्ष्य लिएकी छन् । उनले भनिन्, ‘अरूको भरमा रहँदा महिलालाई दुःख छ, घरको काममा मात्रै सीमित बस्दा सधैँ अरूसँगै दुई–चार पैसाका लागि हात थाप्नुपर्ने अवस्था रह्यो, बाख्रा खरिद पनि गर्नु परेन, बाख्रापालन गरियो भने त आफ्नो खर्च हामी आफैँ धान्न सक्छौँ ।’ उनले पालनपोषण गरेर ठूलो बनाएर उत्पादन बढाउने र त्यसलाई बिक्री गरी आत्मनिर्भर बन्ने बताइन् । बाख्रापालन गरेर आयआर्जन बढाएर अन्य महिलालाई पनि प्रोत्साहित गर्दै व्यावसायिकरूपमा पहिचान दिनसक्ने गरी काम गर्ने उनको अठोट छ ।

कोपिला खाँण ठकुरीले हेफरले उपहार दिएको एकसहित घरमा हाल सातवटा बाख्रापालन गरिरहेकी छन् । महिलालाई आर्थिक क्षेत्रमा अब्बल बनाउन उपहारका रूपमा दिएको बाख्राबाट धेरै बाख्रा उत्पादन गरेर आफू र परिवारको घरायसी खर्च धान्ने सोच राखेकी छन् उनले अरुको भरमा रहँदा घरपरिवार र समाजमा महिला अपहेलित हुनुपरेको छ । अर्थावस्था बलियो नहँुदा भने कतिपय परिवारमा झै–झगडा हुने गरेको छ । कमाइ नहुँदा महिला हेपिनुपर्ने अवस्था छ । मेहेनत गरेर पालनपोषण गरियो भने बाख्रापालनबाट मनग्य आम्दानी गर्न सकिने कविता गाहाले बताइन् । उनको घरमा यसभन्दा अघि छवटा बाख्रा पाल्दै आएकामा हेफरले व्यावसाय वृद्धि गर्न एक बाख्रा दिएको छ । विस्तारै बाख्रा उत्पादन वृद्धि गरी ठूलो संख्यामा व्यावसाय गरेर यसैबाट मनग्य कमाइ गर्ने गाहाले बताइन् । ‘गाउँघरमा प्रशस्त घाँसपात र चरनको सुविधा छ, व्यावसाय गर्छु भन्नेका लागि घरघरमा बाख्रा उपहारस्वरूप पाइएकै छ, बाख्रा खरिदमा लगानी गर्न नपर्ने, सित्तैमा पाएपछि गाउँका महिलामा बाख्रापालनमा उत्साह र आकर्षण बढेको छ,’ उनले भनिन् ।

विभिन्न आधारशीलाका बारेमा महिलालाई आयआर्जनमा वृद्धि गर्न रामपुर नगरपालिकाभित्र मूल समूह र उपहार समूह गरी ३६ वटा समूहको लक्ष्य रहे पनि हाल १० मूल समूह र २१ उपहार समूह गरी जम्मा ३१ वटा समूहमा आवद्ध महिलामाझ कार्यक्रम सञ्चालन गरिरहेको रामपुर कृषि तथा पशु उद्यमशीलता परियोजनाका संयोजक सञ्जु परियारले बताइन् । नगरभित्र आवद्ध रहेका समूहमा महिलालाई वडाको सिफारिस आधारमा बाख्रा उपहारस्वरूप दिइएको छ । पाल्पाका १० पालिकामध्ये हाल आठ पालिकामा साझेदारीमा कार्यक्रम अगाडि बढेको छ । रामपुर नगरपालिकामा गत असारदेखि नै चलिरहेको छ । गएको असारमा मात्रै यहाँ १ सय २८ वटा बाख्रा र ६ वटा बिउ बोका वितरण गरियो भने हालसालै ३ सय ६१ वटा बाख्रा र १० वटा बिउ बोका वितरण गरिएको छ । साझेदारी कार्यक्रमअन्तर्गत ५० प्रतिशत रामपुर नगरपालिकाको र २५ प्रतिशत प्रशासनिक र कर्मचारीको खर्चसहित केही बचेको रकम कार्यक्रममा लगाउने प्रावधानअनुसार कार्यक्रम चलिरहेको छ ।

समूहमा आवद्ध महिलाको मागका आधारमा बाख्रा वितरण गर्ने, उमेर पुगिसकेपछि र त्यसबाट उत्पादन भएपछि उपहारको रूपमा आफूजस्तै आवद्ध रहेको अर्को समूहका सदस्यलाई उपहारका रूपमा दिने गरी बाख्रा प्रदान गरिएको हेफर प्रोजेक्ट नेपाल पाल्पाका कार्यक्रम अधिकृत शोभाखर न्यौपानेले बताए । ‘लिने मात्रै होइन कि हामीले उत्पादन गरेका बाख्रा अरूलाई पनि दिन सक्षम छौँ भन्ने संस्कार सिकाउन र बाख्रापालनमा प्रोत्साहन दिनका लागि यो कार्यक्रम सञ्चालन गरिरहेका हौँ, बाख्रापालनबाट महिलाको आयस्तर उकास्न ठूलो टेवा पुग्नेछ,’ उनले भने । हेफरले २३ वर्ष काम गरेको इतिहासमा बाख्रा उपहार कार्यक्रम प्रभावकारी बनेको र यस कार्यक्रममा महिलाको उत्साजनक सहभागिता रहेको न्यौपानेले बताए । महिलालाई सशक्तीकरण गर्न र महिला परनिर्भरता हटाउनका लागि हेफरले नेपालमा बाख्रापालनबाट कार्यक्रम सुरुआत गरेको हो ।

बाहिरी देशबाट बाख्राको आयात बढी हुने भएकाले अहिले बाख्राको बजार राम्रो रहेको हुँदा नेपालमै बाख्रा उत्पादन बढाएर आर्थिक समृद्धि वृद्धि गर्न यो कार्यक्रम ल्याइएको हो । विदेशबाट करिब वार्षिक ६ अर्ब रुपैयाँभन्दा बढीको खसीबोका आयात हुने गरेको छ । यसलाई प्रतिस्थापन मात्रै गर्न सकियो भने पनि राष्ट्रिय आयमा सहयोग पु¥याउन सक्ने भएकाले यसको बजार मूल्य बढ्दै जाँदा बाख्रापालनबाट राम्रो आयस्रोत लिन सकिन्छ भन्ने उद्देश्यले यस कार्यक्रमलाई जोड दिइएको छ ।

हेफरले बाख्रापालनका अलवा बंगुर, कुखुरा, तरकारी खेतीलाई पनि सँगसँगै जोडेको छ । अब दूध उत्पादनलाई जोड दिँदै कार्यक्रम अगाडि बढाउने योजना छ । स्थानीयवासीको इच्छा र मागअनुसार नै कार्यक्रम गर्ने हेफरले जनाएको छ । कृषि र पशुपालन व्यवसायलाई प्रोत्साहित गरेर आर्थिक क्रान्ति गर्ने गरी यो कार्यक्रम गरिएको साझेदारी संस्था पछौटेपन उन्मूलन समाज (बेस) नेपालका कार्यकारी निर्देशक शालिराम पाण्डेयले बताए । यस कार्यक्रमअन्तर्गत बाख्रापालनका लागि आवश्यक पर्ने खोर व्यवस्थापन, दाना व्यवस्थापन, तालिम, गोष्ठीजस्ता कुरामा महिला समूहलाई सचेतनामूलक कार्यक्रम गरिँदै आएको पाण्डेयले जानकारी दिए । हेफरले यसभन्दा अगाडि सञ्चालन गरेको जिल्लाका विभिन्न स्थानमा बाख्रापालन कार्यक्रमबाट महिलाले राम्रो आयआर्जन गर्न सफल भएका छन् । निस्दीको गल्धा बहपुर, रम्भाको फोक्सिङकोटलगायतका गाउँका महिला व्यावसायिकरूपमा बाख्रापालन गरेर आर्थिक क्षेत्रमा अब्बल बन्दै गएका छन् । (सुशीला रेग्मी/रासस)

सम्बन्धित समाचारहरु

बागलुङ । गण्डकीका पूर्वप्रदेशसभा सदस्य कृष्ण थापा अहिले सुन्तला खेतीमा व्यस्त छन् । राजनीतिमा लाग्दै गर्दा केही समय छुट्याएर स्वरोजगारमूलक कृषि कर्म गर्नुपर्दछ भन्ने मान्यता राख्दै आएका उनले अहिले पूरै समय कृषिमा लगाएका छन् । बागलुङको राजनीतिमा राष्ट्रिय जनमोर्चाको छुट्टै पहिचान बनाउन सङ्घर्ष गरेका उनी अहिले राजनीतबाट अलग जस्तै बनेर सुन्तलाका बोट स्याहार्दै आएका छन् । जैमिनी नगरपालिका–४ सर्कुवाका थापाले २०६२/६३ सालमा जनमोर्चा बागलुङको नेतृत्व गरेका थिए । त्यसताका बागलुङमा राष्ट्रिय जनमोर्चाको ठूलो प्रभावसमेत थियो ।

चिया बेचेर मासिक रु ६० हजार बचत गर्दै २० वर्षीया विपना

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत २० वर्ष पुगिन् । यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ । यहीँ उमेरका युवायुवती भर्खरै सहर छिरेर रोजगार खोज्दै भौँतारिरहेका छन् । विपनाले जिल्लाको सदरमुकाम तम्घासमा चिया बेचेरै मासिक रु ९० हजार कमाउँदै आएकी छिन्।

प्रतिक्रिया दिनुहोस

Ad