काठमाडौं । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावी साधारणसभा सोमबार विहान ९ बजे सुरु हुने भएको छ । बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा हुने साधारणसभाले आगामी चार वर्षका लागि २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।
निर्वाचनको नतिजा सोमबार साँझसम्म आउने अनुमान गरिएको छ । अध्यक्षका पदका लागि वर्तमान कर्मा छिरिङ शेर्पा र पंकजविक्रम नेम्बाङ मैदानमा छन् । कर्मा वर्तमान अध्यक्ष हुन् भने पंकज वरिष्ठ उपाध्यक्ष हुन् । फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजिव पौडेल पनि अध्यक्ष पदका लागि प्रतिस्पर्धामा छन् ।
नेपाली खेलकुद क्षेत्रमा सबैभन्दा बढी चलायमान र धेरै बजेट हुने संघ हो, एन्फा । त्यसैले एन्फाको निर्वाचन धेरैको चासोको विषय बन्ने गरेको छ । पूर्वअध्यक्ष गणेश थापाको २२ वर्ष कार्यकालपछि नरेन्द्र श्रेष्ठ हुँदै कर्माको समूह एन्फाको नेतृत्वमा आएको थियो । तर, थापाको नेतृत्वलाई चिर्दै एन्फामा आएका कर्मा र पंकज नै यतिबेला प्रतिस्पर्धाको मैदानमा छन् ।
दुवैले समूह बनाएर नै एक अर्कालाई चुनौति दिएका छन् । अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी पर्दा एक वरिष्ठ उपाध्यक्ष पदका लागि दुई, चार उपाध्यक्ष पदका लागि आठ, १३ खुल्ला सदस्य पदका लागि ३५ र दुई महिला सदस्य पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ ।
वर्तमान अध्यक्ष कर्माको समूहबाट ‘बी’ डिभिजन क्लब सरस्वती युथका अध्यक्ष शिक्षित पराजुलीले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । उक्त समूहबाट चार उपाध्यक्ष पदमा पूर्वखेलाडी तथा वर्तमान उपाध्यक्ष उपेन्द्रमान सिंह, पूर्वखेलाडी विज्ञानराज शर्मा, दीर्घबहादुर (कुमार) केसी र रत्नकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
यसैगरी १३ सदस्य पदका लागि अनिल श्रेष्ठ, भरत बुढ्थापा, मनिष जोशी, रमेश व्यन्जनकार, लोकेन्द्र गुरुङ, प्रदेशसिंह राठोर, रुपेश अधिकारी, विनोद लामा तामाङ, दीपक थापाक्षेत्री, प्रविवणकुमार यादव, रामराज गुरुङ, मणिराज विष्ट, टिका लामा तथा महिलातर्फ पेमा डोल्मा लामा र विना श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
पंकज समूहबाट भने वरिष्ठ उपाध्यक्षमा सिन्धुपाल्चोक जिल्ला फुटबल संघका प्रतिनिधि तथा वर्तमान उपाध्यक्ष वीरबहादुर खड्काले उम्मेदारी दिएका छन् । उक्त समूहबाट काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष तथा पूर्वखेलाडी विराटजंग शाही, ‘बी’ डिभिजन क्लब प्लानिङ ब्वाइज क्लबका अध्यक्ष दावा लामा, धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दीपक खतिवडा र ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी)का अध्यक्ष सुन्दरनरसिंह जोशीले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
उक्त समूहबाट सदस्य पदमा महेन्द्र क्षेत्री, नेपाल कार्की, निरज खड्गी, विजय घले, मुखिया लामा लिलि, पुरुषोत्तम थापा, भोजराज शाही, अनिल मल्ल, विकासनारायण श्रेष्ठ, रविन्द्र चन्द, दिपेन्द्र धिमाल, प्रविण सुवाल, तपेश्वरकुमार राउत तथा महिला सदस्यमा वृन्दा देवान र सरला श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । सदस्य पदका लागि केही स्वतन्त्र उम्मेदवार पनि मैदानमा छन् ।