# भर्खरै
Namaste Icon
Ad

मकै उत्पादनमा आत्मनिर्भर बन्दै म्याग्दी

मकै उत्पादनमा आत्मनिर्भर बन्दै म्याग्दी

गलेश्वर । म्याग्दीको फाँटैभरि यतिबेला मकैबाली झुलिरहेको छ । रासायनिक मल अभाव र फौजी किराको प्रकोप देखिएपछि उत्पादन राम्रो हुँदैन कि भनेर चिन्तित बनेका किसान समयमै पानी परेकाले बारीमा मकैबाली सप्रिदा दंग भएका छन् । पाँच वर्षयता म्याग्दी मकै उत्पादनमा आत्मनिर्भर बन्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ । दैनिक उपभोग गर्नेबाहेक बीउका लागि यहाँ फलेको मकै बाहिरी जिल्लामा समेत बिक्रीवितरण गर्न थालिएको छ । लेकदेखि बेँसीसम्मका अधिकांश जमिनमा मकै खेती हुन्छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाको ११ हजार हेक्टर जमिनमा वार्षिक ३७ हजार ८ सय १७ टन मकै उत्पादन हुँदै आएको छ । यो उत्पादन यहाँका लागि राम्रो हो ।

यहाँ उत्पादन भएको करिब २५ टन मकैको बिउ पर्वत, पोखरा, चितवन, लमजुङ, गोर्खा, डोल्पा, जुम्लालगायत जिल्लासम्म बिक्रीवितरण हुने गरेको छ । कृषि प्राविधिक जगत बानियाँ बिउ मकै उत्पादन गरी बाहिरी जिल्ला पठाउने गरिएको जानकारी दिए । सिँचाइ, फौजीकिरा नियन्त्रण र आवश्यक मलको प्रबन्ध गर्नसके कृषकले मकैबाट पर्याप्त आम्दानी गर्न सक्ने उनको विश्वास छ । जिल्लामा पपकन सेतो र पपकन पहेँलो जातका मकै १ सय ५० हेक्टरमा लगाउने गरिएको छ । यी मकै राम्रो उब्जनी हुने गरेको स्थानीय बिसानले बताए ।

जिल्लाको १ हजार ६ सय मिटरभन्दा तल्लो क्षेत्रमा मनकामना–१, ३, देउती, सितला तथा उपल्लो क्षेत्रमा अरुण–१, २, हिलपुल सेतो र स्थानीय जातको मकैखेती गरिन्छ । रत्नेचौर, बगरफाँट, घतान, पुलाचौर, सिँगा, पात्लेखेत, झीँ, भगवती, घार र बाबियाचौर क्षेत्रमा मकै खेती बढी गरिन्छ । पछिल्लो समय हरियो मकै बिक्री गरी आम्दानी गर्ने क्रम बढ्दै गएको छ । यसले यहाँको किसानमा मकै खेती प्रति आकर्षण बढाएको पाइएको छ ।

सम्बन्धित समाचारहरु

व्यावसायिक बन्दै सुँगुरपालन

व्यावसायिक बन्दै सुँगुरपालन

म्याग्दी । माग बढेपछि म्याग्दीमा व्यावसायिकरूपमा सुँगुर पाल्न थालिएको छ । घरायसी र धार्मिक प्रयोजनका लागि सुँगुर पाल्ने कृषकले आम्दानी गर्न थालेका हुन् । बेनी नगरपालिका–१ सिमका एकेन्द्र थापाको खोरमा अहिले २८ सुँगुरका माउ छन् । उनले वर्षको तीन सयभन्दा बढी सुँगुरका पाठापाठी बेच्दै आएका छन् । पाठापाठी किन्न जिल्लाबाहेक बागलुङ र पर्वतबाट समेत ग्राहक आउँछन् ।  एउटा पाठो पाँच हजारसम्ममा बिक्री हुने गरेको छ । ‘पुर्खादेखि नै सुँगुर पाले पनि व्यावसायिकरुप दिइएको  थिएन तर  अहिले बङ्गुरसँगै सुँगुर पनि व्यावसायिकरुपले पाल्न थालेको हुँ । परिवारबाहेक चार–पाँच जनालाई रोजगारी पनि दिएको छु’, उनले भने, ‘व्यवस्थित खोर बनाएर व्यावसायिक रूपमा पाल्न थालेपछि हिजोआज सुँगुरले पनि ‘मान’ पाएको छ, कृषकहरुलाई पनि हौसला मिलेको छ ।’

मकैको बिउबाटै मनग्य आम्दानी

मकैको बिउबाटै मनग्य आम्दानी

वालिङ । स्याङ्जाको फेदीखोला गाउँपालिका–४ आरुखर्कमा रहेको जैसीडाँडा किसान समूहले मनग्य आम्दानी गर्दै आएको छ । समूहले गत आर्थिक वर्ष ०७८/७९ मा ‘मनकामना–३’ जातको १६ टन मकैको बिउ बिक्री गरेर १६ लाख ६४ हजार आम्दानी गरेको हो । महिलाले मात्र आवद्ध रहेको जैंसीडाँडा किसान समूहले विगत ११ वर्षअघिदेखि सो जातको मकैको बिउ उत्पादन गर्दै आएको समूहकी अध्यक्ष संगीता हमालले बताइन् । ‘विगत ११ वर्षदेखि ‘मनकामना–३’ जातको मकैको बिउ उत्पादन गर्दै आएका छौँ,’ उनले भनिन, ‘गत आर्थिक वर्षमा १६ हजार ६ सय ४१ केजी मकैको बिउ प्रतिकेजी सय रुपैयाँका दरले बिक्री गरेका हौँ ।’ ०७८/७९ मा साढे १६ टन मकैको बिउ बिक्री गरेको समूहले ०७७/७८ मा १० टन बिउ बिक्री गरी नौ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस