# भर्खरै
Namaste Icon
Ad

हाँसपालनबाट मनग्य आम्दानी

हाँसपालनबाट मनग्य आम्दानी

चितवन । पछिल्लो समय हाँसका परिकारको पारखी बढ्दै जाँदा हाँसपालनतर्फ यहाँका किसान आकर्षित हुन थालेका छन् । हाँस पाल्न र बिक्रीका लागिसमेत सहज हुन थालेपछि हाँसपालनतर्फ किसान आकर्षित हुन थालेका हुन् । भरतपुर–१९ शारदानगरमा हाँसपालन गर्दै आएका शंकर महतोले हप्तामा पाँच सय वटा हाँसका चल्ला बिक्री गर्दै आएका छन् । महतोले इमानियल हाँस फार्म तथा ह्याचरी दर्ता गरेर करिब दुई हजार हाँस पाल्दै आएका छन् । उनले हाँस बिक्री वितरणका लागि बजार सहज भएकाले यसतर्फ आकर्षित भएको बताए ।

‘मैले पहिले बुंगुरपालन गरेँ, माछापालन गरेँ, च्याउ खेती गरेँ । तर, विगत दुई वर्षदेखि हाँसपालन सुरु गरेको छु’ महतोले भने, ‘हाँसबाट निकै नै सन्तुष्टि मिलेको छ । यसको बजार खोज्न हिँड्नुपरेको छैन । फार्मबाटै बिक्री हुने गरेको छ ।’ महतोले आफ्नै फार्मबाट तयारी हाँस, हाँसका चल्ला तथा अण्डा बिक्री गर्दै आएका छन् ।

उनले प्रतिचल्ला १ सय ८० रुपैयाँसम्म बिक्री गर्दै आएको बताए । त्यस्तै, हाँसको अण्डा ३० प्रति गोटा तथा तयारी हाँस प्रति किलोको ३ सय ५० रुपैयाँमा बिक्री गर्ने गरेको महतोले बताए । ‘हाँसको मासु तथा अण्डाबाट धेरै फाइदा हुने भएकाले र हाँसको मासु मीठो हुने भएकाले मानिस फार्ममै आएर हाँस तथा चल्ला र अण्डा किनेर लैजाने गरेका छन्’, महतोले भने, ‘पछिल्लो समय रेस्टुरेन्ट तथा होटलले छोइला बनाउनका लागि समेत हाँसको माग गरेका छन् ।’

सानो क्षेत्रफलमा पनि राम्रोसँग हाँसपालन फस्टाएको र धेरै दुःख नगरी राम्रो आम्दानी लिन सकिने भएकाले हाँसपालनमा लागेको उनको भनाइ छ । महतोले भने, ‘दाना हुँदा दाना दिने, होइन भने घाँसबारीमा छोडिदिएमा पनि हाँस अघाउने गरेको छ ।’ माछा पोखरी र धानबारीमा हाँसपालन गर्दा दोहोरो फाइदा लिन सकिन्छ ।

‘धानखेती भएको ठाउँमा माछापालन गर्दा हाँसले धानमा हुने अनावश्यक झारहरू खाने तथा नष्ट गर्ने गर्छ तर धानलाई कुनै पनि नोक्सान गर्दैन’, महतोले भने । त्यस्तै माछा पोखरीमा हाँसपालन गर्दा पोखरीमा भएका अनावश्यक घोँगी, सिपी तथा सर्पहरू हाँसले खाइदिन्छ जसले गर्दा माछा सप्रिन पाउँछ । पोखरीमा हाँसपालन गर्दा हाँसले पोखरीमा पौडी खेल्दा र घोँगी टिप्न जाँदा पानीमा अक्सिजनको मात्रासमेत बढेर माछालाई फाइदा पुग्ने बताइन्छ ।

सम्बन्धित समाचारहरु

व्यावसायिक बन्दै सुँगुरपालन

व्यावसायिक बन्दै सुँगुरपालन

म्याग्दी । माग बढेपछि म्याग्दीमा व्यावसायिकरूपमा सुँगुर पाल्न थालिएको छ । घरायसी र धार्मिक प्रयोजनका लागि सुँगुर पाल्ने कृषकले आम्दानी गर्न थालेका हुन् । बेनी नगरपालिका–१ सिमका एकेन्द्र थापाको खोरमा अहिले २८ सुँगुरका माउ छन् । उनले वर्षको तीन सयभन्दा बढी सुँगुरका पाठापाठी बेच्दै आएका छन् । पाठापाठी किन्न जिल्लाबाहेक बागलुङ र पर्वतबाट समेत ग्राहक आउँछन् ।  एउटा पाठो पाँच हजारसम्ममा बिक्री हुने गरेको छ । ‘पुर्खादेखि नै सुँगुर पाले पनि व्यावसायिकरुप दिइएको  थिएन तर  अहिले बङ्गुरसँगै सुँगुर पनि व्यावसायिकरुपले पाल्न थालेको हुँ । परिवारबाहेक चार–पाँच जनालाई रोजगारी पनि दिएको छु’, उनले भने, ‘व्यवस्थित खोर बनाएर व्यावसायिक रूपमा पाल्न थालेपछि हिजोआज सुँगुरले पनि ‘मान’ पाएको छ, कृषकहरुलाई पनि हौसला मिलेको छ ।’

मकैको बिउबाटै मनग्य आम्दानी

मकैको बिउबाटै मनग्य आम्दानी

वालिङ । स्याङ्जाको फेदीखोला गाउँपालिका–४ आरुखर्कमा रहेको जैसीडाँडा किसान समूहले मनग्य आम्दानी गर्दै आएको छ । समूहले गत आर्थिक वर्ष ०७८/७९ मा ‘मनकामना–३’ जातको १६ टन मकैको बिउ बिक्री गरेर १६ लाख ६४ हजार आम्दानी गरेको हो । महिलाले मात्र आवद्ध रहेको जैंसीडाँडा किसान समूहले विगत ११ वर्षअघिदेखि सो जातको मकैको बिउ उत्पादन गर्दै आएको समूहकी अध्यक्ष संगीता हमालले बताइन् । ‘विगत ११ वर्षदेखि ‘मनकामना–३’ जातको मकैको बिउ उत्पादन गर्दै आएका छौँ,’ उनले भनिन, ‘गत आर्थिक वर्षमा १६ हजार ६ सय ४१ केजी मकैको बिउ प्रतिकेजी सय रुपैयाँका दरले बिक्री गरेका हौँ ।’ ०७८/७९ मा साढे १६ टन मकैको बिउ बिक्री गरेको समूहले ०७७/७८ मा १० टन बिउ बिक्री गरी नौ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस