# भर्खरै
Namaste Icon
Ad

पशुपालक किसानको रोजाइमा डालेघाँस

पशुपालक किसानको रोजाइमा डालेघाँस

बागलुङ । जिल्लाका किसानले पशुपालनका लागि डालेघाँस रोप्ने कामलाई तीव्रता दिएका छन् । स्थानीय किसानलाई पशुपालन व्यवसाय फस्टाउनका लागि पछिल्लो समय भू–संरक्षण र वन कार्यालयले उत्पादन गरेर वितरण गर्ने डालेघाँसले सहज बनाएको बताएका छन् । भू–संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले बागलुङ जिल्लामा यस वर्ष मात्रै ३२ हजार डालेघाँसका विरुवा वितरण गरेको छ । भू–संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालय पर्वत अन्तरगतको शाखा कार्यालय बागलुङले उत्पादन गरेका ३२ हजार डालेघाँसका विरुवा किसनालाई यही असार महिनाभर वितरण गरिसकेको छ ।

पशुपालनका लागि सहज हुने डालेघाँसले भू तथा जलाधारको क्षेत्रमा समेत सहयोग पुग्नेछ । सडकको छेउछाउ, खोल्साखोल्सी र खोलानाला छेउमा डालेघाँस रोप्दा पशुपालन र भू–क्षय नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले कार्यालयले वर्षेनी सो घाँसका विरुवा वितरण गर्दै आएको छ । कार्यालयले बागलुङमा स्थापना गरेको नर्सरीमा उत्पादन गरेको ३२ हजार विरुवा गत सोमबार देखि वितरण सुरु गरिएको थियो । एकहप्तामै ३२ हजार विरुवा वितरण भइसकेको छ । यसले किसानलाई मात्र नभएर भू–संरक्षण र वातावरणको क्षेत्रमा समेत सहयोग गर्ने भएकाले सो विरुवा वितरण गरिँदै आइएको छ ।

नर्सरीमा उत्पादन भएका ३२ हजार बिरुवा किसानको व्यावसायिक पशुपालनका आधारमा अनुपात मिलाएर असार मसान्तसम्म वितरण गरिसक्ने लक्ष्य लिएकोमा एक हप्ताअघि नै वितरण सम्पन्न भइसकेको भू–संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका कार्यालय प्रमुख दिवाकर पौडेलले जानकारी दिए । पौडेलका अनुसार राइखन्यू, निमारो, तारुबाँस र काफाल लगायतका आधा दर्जन घाँसका विरुवा वितरण गरिएको छ । भिरालो जमिन, सडकको छेउछाउ, खोलसोल्सी लगायत खाली जमिनमा घाँस लगाउन सकिने भन्दै पछिल्लो समय किसानहरू यसप्रति आकर्षित भएको उनले बताए । कार्यालय प्रमुख पौडेलले भने, ‘किसानको माग निमारो, राइखन्यू र काफाल जातको डाँलेघाँसमा बढी छ, त्यही अनुरुप हामीले विरुवा उत्पादनलाई बढाउँदै लगेका छौँ, एकहप्तामै ३२ हजार विरुवा वितरण सम्पन्न भइसक्यो ।’

सम्बन्धित समाचारहरु

व्यावसायिक बन्दै सुँगुरपालन

व्यावसायिक बन्दै सुँगुरपालन

म्याग्दी । माग बढेपछि म्याग्दीमा व्यावसायिकरूपमा सुँगुर पाल्न थालिएको छ । घरायसी र धार्मिक प्रयोजनका लागि सुँगुर पाल्ने कृषकले आम्दानी गर्न थालेका हुन् । बेनी नगरपालिका–१ सिमका एकेन्द्र थापाको खोरमा अहिले २८ सुँगुरका माउ छन् । उनले वर्षको तीन सयभन्दा बढी सुँगुरका पाठापाठी बेच्दै आएका छन् । पाठापाठी किन्न जिल्लाबाहेक बागलुङ र पर्वतबाट समेत ग्राहक आउँछन् ।  एउटा पाठो पाँच हजारसम्ममा बिक्री हुने गरेको छ । ‘पुर्खादेखि नै सुँगुर पाले पनि व्यावसायिकरुप दिइएको  थिएन तर  अहिले बङ्गुरसँगै सुँगुर पनि व्यावसायिकरुपले पाल्न थालेको हुँ । परिवारबाहेक चार–पाँच जनालाई रोजगारी पनि दिएको छु’, उनले भने, ‘व्यवस्थित खोर बनाएर व्यावसायिक रूपमा पाल्न थालेपछि हिजोआज सुँगुरले पनि ‘मान’ पाएको छ, कृषकहरुलाई पनि हौसला मिलेको छ ।’

मकैको बिउबाटै मनग्य आम्दानी

मकैको बिउबाटै मनग्य आम्दानी

वालिङ । स्याङ्जाको फेदीखोला गाउँपालिका–४ आरुखर्कमा रहेको जैसीडाँडा किसान समूहले मनग्य आम्दानी गर्दै आएको छ । समूहले गत आर्थिक वर्ष ०७८/७९ मा ‘मनकामना–३’ जातको १६ टन मकैको बिउ बिक्री गरेर १६ लाख ६४ हजार आम्दानी गरेको हो । महिलाले मात्र आवद्ध रहेको जैंसीडाँडा किसान समूहले विगत ११ वर्षअघिदेखि सो जातको मकैको बिउ उत्पादन गर्दै आएको समूहकी अध्यक्ष संगीता हमालले बताइन् । ‘विगत ११ वर्षदेखि ‘मनकामना–३’ जातको मकैको बिउ उत्पादन गर्दै आएका छौँ,’ उनले भनिन, ‘गत आर्थिक वर्षमा १६ हजार ६ सय ४१ केजी मकैको बिउ प्रतिकेजी सय रुपैयाँका दरले बिक्री गरेका हौँ ।’ ०७८/७९ मा साढे १६ टन मकैको बिउ बिक्री गरेको समूहले ०७७/७८ मा १० टन बिउ बिक्री गरी नौ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस