# भर्खरै
Namaste Icon
Ad

तरकारी जोनले लाभान्वित कृषक

तरकारी जोनले लाभान्वित कृषक

कावासोती । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत नवलपरासी पूर्वनवलपुरमा सञ्चालित तरकारी जोन कार्यक्रमले यहाँका कृषक लाभान्वित भएका छन् । नवलपुरका तीन स्थानीय तहका १६ वडालाई समेटी तरकारी जोन कार्यक्रम सञ्चालन गरिएको छ । कावासोती नगरपालिकाको वडा नं ४, ९, १० १२, १५, १६ र १७, मध्यबिन्दु नगरपालिकाको वडा नं १, २, ३, ६, ९ र हुप्सेकोट गाउँपालिकाको १, २, ३, ४ वडालाई समेटेर तरकारी जोन कार्यक्रम सञ्चालन गरिएको छ । तरकारी जोन कार्यक्रम आर्थिक वर्ष ०७६÷७७ बाट सुरु भएको हो । परियोजना सुरु हुनुपूर्व यी क्षेत्रमा तरकारी खेतीको क्षेत्रफल ५ सय १२ हेक्टर रहेको थियो ।

हाल क्षेत्रफल विस्तार भएर ६ सय ६० हेक्टर पुगेको छ । तीन स्थानीय तहका ९९ समूह, ६ सहकारी र ५२ उद्यमी गरेर १ सय ५७ तरकारी जोनमा आबद्ध छन् भने २ हजार ३ सय ५५ घरधुरी तरकारी जोनमा संलग्न छन् । नवलपुर जिल्ला कृषिमा अब्बल मानिन्छ । यहाँ व्यावसायिक तरकारी खेती गर्ने किसानको संख्या बाक्लै छ । परियोजना सुरु हुनुअघि नै धेरै किसान तरकारी खेतीमा लागेका थिए तर परियोजना लागू भएपछि किसान थप हौसिएका छन् । धेरै नयाँ किसानसमेत तरकारी खेतीमा आकर्षित भएका छन् । परियोजनाबाट प्राप्त सहयोग र परामर्शले तरकारी खेती गर्ने कृषकलाई ठूलो राहत मिलेको छ ।

जोनमा आबद्ध हुप्सेकोट–१ जुकेपानीको लेकबेँसी कृषक समूहका कृषक शंखर थापाले तरकारी जोन परियोजना लागू भएपछि मलचिङ, स्प्रे ट्यांकी, जोख्ने काँटालगायतका सामग्री पाउँदा कृषक निकै उत्साहित भएको बताए । परियोजनाका बारेमा जानकारी नहुँदा पालिकामा मात्रै निर्भर रहनुपरेको, पालिकाबाट सानो सहयोग हुने गरेकोमा परियोजनामा आबद्ध भएपछि कृषकलाई आवश्यक धेर सामग्री अनुदानमा पाउँदा लागत घटेको उनले बताए ।


परियोजनाको कामबाट आफ्नो समूह निकै खुसी भएको उनले सुनाए । ‘परियोजनाले विभिन्न सहयोग गरिरहेको छ, प्राविधिक ज्ञानसमेत प्रदान गर्ने गरेको छ । यसले धेरै सहजता मिलेको छ’ कृषक शंखर थापाले भने, ‘यसले कृषि पेसा गर्न उत्पे्ररित गरेको छ ।’ जुकेपानीकै सुनौलो महिला कृषक समूहकी अध्यक्ष कृष्णमाया रानामगरले तरकारी जोन कार्यक्रमबाट किसानलाई धेरै कुरामा सहज भएको बताइन् । विशेष गरेर कृषि सामग्रीमा ५० प्रतिशत अनुदान कार्यक्रमले कृषक बढी लाभान्वित भएको उनले सुनाइन् । निर्वाहमुखी खेती गर्दै आएकोमा अहिले व्यावसायिक खेतीतर्फ किसान आकर्षित भएको उनले बताइन् ।

हुप्सेकोटको जुकेपानी क्षेत्रमा अधिकांश किसान काँक्रा खेती गर्छन् । जुकेपानीबाट मात्रै एक सिजनमा १० करोड रुपैयाँ बराबरको काँक्रा बिक्री गरिएको छ । त्यसबाहेक टमाटर, आलु, बोडी, भिन्डी करेलालगायतका खेती गर्ने गरिएको छ । यस्तै कावासोती–१७ का किसान जोगबहादुर महतोले पनि परियोजना किसानका लागि निकै फलदायी भएको बताए । परियोजनाबाट प्राप्त बीउबिजन राम्रो हुने भएकाले उत्पादन पनि राम्रो भएको उनको अनुभव छ । अनुदानमा सामग्री पाउँदा किसानलाई धेरै राहत मिलेको उनले सुनाए । परियोजना सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपरासी पूर्वको कार्यालयका कर्मचारी कृषकका समस्या समाधान गर्न लागि परिरहेका छन् ।

कार्यालय प्रमुख विष्णुप्रसाद शर्माले परियोजना लागू भएका तीन पालिकाका १६ वटा वडामा तरकारी जोनअन्तर्गत कार्यालयले गर्ने सहयोगमा क्षेत्र विस्तारमा बीउबिजन, उत्पादन सामग्रीमा ५० प्रतिशत अनुदान र सिँचाइ आयोजनामा ८५ प्रतिशतसम्म अनुदान दिइएको जानकारी दिए । तरकारी खेतीले छोटो समयमा उत्पादन दिने र आम्दानी गर्न सकिने पेसा भएको कारण अहिले युवासमेत तरकारी खेतीतर्फ आकर्षित भएको र कतिपय वैदेशिक रोजगारीमा जाने युवालाई गाउँमै रोक्न सफल भएको समेत उनको अनुभव छ ।

तरकारी जोन परियोजनाअन्तर्गत जिल्लामा विशेष गरेर काँक्रा र टमाटर खेतीलाई प्राथमिकता दिएको छ । त्यसबाहेक आलु, बोडी, भिन्डी करेला, घिरौँला, खुर्सानीलगायतका तरकारी खेती यहाँ गरिन्छ । परियोजना नहुँदा किसानले उत्पादन सामग्री सबै आफ्नै खर्चमा किन्नुपर्दा लागत बढी लाग्ने गरेको थियो । अहिले अनुदानमा सामग्री पाएपछि भने उत्पादन लागत घट्दा नाफा बढी भएको किसान बताउछन् ।

सम्बन्धित समाचारहरु

व्यावसायिक बन्दै सुँगुरपालन

व्यावसायिक बन्दै सुँगुरपालन

म्याग्दी । माग बढेपछि म्याग्दीमा व्यावसायिकरूपमा सुँगुर पाल्न थालिएको छ । घरायसी र धार्मिक प्रयोजनका लागि सुँगुर पाल्ने कृषकले आम्दानी गर्न थालेका हुन् । बेनी नगरपालिका–१ सिमका एकेन्द्र थापाको खोरमा अहिले २८ सुँगुरका माउ छन् । उनले वर्षको तीन सयभन्दा बढी सुँगुरका पाठापाठी बेच्दै आएका छन् । पाठापाठी किन्न जिल्लाबाहेक बागलुङ र पर्वतबाट समेत ग्राहक आउँछन् ।  एउटा पाठो पाँच हजारसम्ममा बिक्री हुने गरेको छ । ‘पुर्खादेखि नै सुँगुर पाले पनि व्यावसायिकरुप दिइएको  थिएन तर  अहिले बङ्गुरसँगै सुँगुर पनि व्यावसायिकरुपले पाल्न थालेको हुँ । परिवारबाहेक चार–पाँच जनालाई रोजगारी पनि दिएको छु’, उनले भने, ‘व्यवस्थित खोर बनाएर व्यावसायिक रूपमा पाल्न थालेपछि हिजोआज सुँगुरले पनि ‘मान’ पाएको छ, कृषकहरुलाई पनि हौसला मिलेको छ ।’

मकैको बिउबाटै मनग्य आम्दानी

मकैको बिउबाटै मनग्य आम्दानी

वालिङ । स्याङ्जाको फेदीखोला गाउँपालिका–४ आरुखर्कमा रहेको जैसीडाँडा किसान समूहले मनग्य आम्दानी गर्दै आएको छ । समूहले गत आर्थिक वर्ष ०७८/७९ मा ‘मनकामना–३’ जातको १६ टन मकैको बिउ बिक्री गरेर १६ लाख ६४ हजार आम्दानी गरेको हो । महिलाले मात्र आवद्ध रहेको जैंसीडाँडा किसान समूहले विगत ११ वर्षअघिदेखि सो जातको मकैको बिउ उत्पादन गर्दै आएको समूहकी अध्यक्ष संगीता हमालले बताइन् । ‘विगत ११ वर्षदेखि ‘मनकामना–३’ जातको मकैको बिउ उत्पादन गर्दै आएका छौँ,’ उनले भनिन, ‘गत आर्थिक वर्षमा १६ हजार ६ सय ४१ केजी मकैको बिउ प्रतिकेजी सय रुपैयाँका दरले बिक्री गरेका हौँ ।’ ०७८/७९ मा साढे १६ टन मकैको बिउ बिक्री गरेको समूहले ०७७/७८ मा १० टन बिउ बिक्री गरी नौ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस