# भर्खरै
Namaste Icon
Ad

कोरियाको आम्दानी, कुखुरापालनमा लगानी

कोरियाको आम्दानी, कुखुरापालनमा लगानी

गलकोट । सानै उमेरदेखि व्यावसायिक सोच बनाएका बागलुङ नगरपालिका–४ पाखाथरका जीवन जिसीलाई त्यसबेला लगानी अभाव भयो । व्यावसायमै राम्रो सम्भावना देखेका उनी आर्थिक अभावका कारण सन् २०१३ मा कोरिया गएका थिए । इपिएस भाषा अध्ययन गरेर कोरिया गएका जिसीले कोरियाबाट फर्केर व्यावसायिक कुखुरापालन गर्दै आएका छन् । छ वर्ष कोरिया बसाइँ टुंग्याएर नेपाल आएपछि ब्रोइलर कुखुरापालन गर्दै आएका छन् उनी ।

जिसीले चार वर्षदेखि व्यावसायिकरुपले कुखुरापालन गर्दै राम्रो आम्दानीसमेत गर्दै आएका छन् । ‘व्यावसायिक सोच पहिल्यैको हो, आफ्नो जग्गा पनि थियो तर नेपालमा लगानी जुटाउनै समस्या थियो, त्यसबेला कोरियाका लागि भाषा परीक्षा पास गरेर गइयो’ उनले भने, ‘दुःख त कोरियामा धेरै नै हुन्छ तर कमाई पनि राम्रै हुन्छ, लगानी भएपछि आफ्नै बारीमा फर्म बनाएँ र ब्रोइलर जातका कुखुरापालन गरिरहेको छु ।’ जिसीको जेनिसा पोल्टी फर्ममा अहिले ८०० कुखुरा हुर्किरहेका छन् ।

उनले कोरियाबाट आउदा कमाएको रकममध्ये १० लाख रुपैयाँको लागतमा फर्म स्थापना गरेका हुन् । सुरुमा एक पटक कुखुरा हाल्दा एक लाख रुपैयाँदेखि डेढलाखसम्म कमाइ हुने गरेकामा अहिले दानाको मूल्य आकाशिएका कारण समस्या भएको र पहिलाजस्तो नाफा नभए पनि सन्तोषै लागेको जिसीले बताए । उनले आफू व्यवसायबाट सन्तुष्ट रहेको बताए । उनको मिहनत र कार्य हेर्दा काम गर्ने इच्छा शक्ति हुनेले नेपालमा पनि गरि खान सक्ने वातावरण भएको देखाउछ ।

कुखुरा पालेपछि दाना खुवाएर गरेको दुःख उठेर घरखर्च चल्दै आएको उनले सुनाए । ‘सुरुआतमा राम्रै कमाइ भएको हो, ४५ दिनमा कुखुरा तयार हुन्छन् एक÷डेढ लाख कमाइ हुन्थ्यो, अहिले दानाको भाउ बढेका कारण समस्या त छ तर भाडा तिर्न परेन कुखुरा पालनलाई धेरै दुःख छैन्,’ जिसीले भने, ‘अहिले पनि सन्तोषजनक आम्दानी छ, विदेश गएर ल्याएको पैसा खर्च गर्न परेको छैन, कुखुरापालनको आम्दानीले खान लाउन पुगेकै छ ।’
उनले आफ्नै आठ आना जग्गामा फर्म तयार गरेर कुखुरापालन गर्दै आएका छन् । नेपालीले केही समय विदेशमा कमाएको रकमलाई नेपालमा सदुपयोग गर्न नसके पुनः विदेश जाने समस्या दोहोरिने नियति बन्ने उनको बुझाइ छ । विदेशको कमाइ यही सदुपयोग गर्न उनले अन्य युवालाई सुझाव दिए । उनका अनुसार कुखुरा पालनमा रोगको प्रकोप नभए राम्रो आम्दानी गर्न सकिन्छ ।

कोरियामा गरेको दुःख सम्झदा नेपालमा नै केही गर्ने सोच पलाएर आउने गरेको जिसीको अनुभव छ । उनले आफ्नो फर्मलाई विस्तारै बढाउँदै लैजाने योजना बनाए पनि दानाको मूल्यअनुसार कुखुराको मासुको मूल्य बढ्न नसकेको गुनासो गरे । अहिले बजारमा कुखुराको मासुको मूल्य प्रति केजी ४ सय ६० रुपैयाँ रहेको छ । - रासस

सम्बन्धित समाचारहरु

व्यावसायिक बन्दै सुँगुरपालन

व्यावसायिक बन्दै सुँगुरपालन

म्याग्दी । माग बढेपछि म्याग्दीमा व्यावसायिकरूपमा सुँगुर पाल्न थालिएको छ । घरायसी र धार्मिक प्रयोजनका लागि सुँगुर पाल्ने कृषकले आम्दानी गर्न थालेका हुन् । बेनी नगरपालिका–१ सिमका एकेन्द्र थापाको खोरमा अहिले २८ सुँगुरका माउ छन् । उनले वर्षको तीन सयभन्दा बढी सुँगुरका पाठापाठी बेच्दै आएका छन् । पाठापाठी किन्न जिल्लाबाहेक बागलुङ र पर्वतबाट समेत ग्राहक आउँछन् ।  एउटा पाठो पाँच हजारसम्ममा बिक्री हुने गरेको छ । ‘पुर्खादेखि नै सुँगुर पाले पनि व्यावसायिकरुप दिइएको  थिएन तर  अहिले बङ्गुरसँगै सुँगुर पनि व्यावसायिकरुपले पाल्न थालेको हुँ । परिवारबाहेक चार–पाँच जनालाई रोजगारी पनि दिएको छु’, उनले भने, ‘व्यवस्थित खोर बनाएर व्यावसायिक रूपमा पाल्न थालेपछि हिजोआज सुँगुरले पनि ‘मान’ पाएको छ, कृषकहरुलाई पनि हौसला मिलेको छ ।’

मकैको बिउबाटै मनग्य आम्दानी

मकैको बिउबाटै मनग्य आम्दानी

वालिङ । स्याङ्जाको फेदीखोला गाउँपालिका–४ आरुखर्कमा रहेको जैसीडाँडा किसान समूहले मनग्य आम्दानी गर्दै आएको छ । समूहले गत आर्थिक वर्ष ०७८/७९ मा ‘मनकामना–३’ जातको १६ टन मकैको बिउ बिक्री गरेर १६ लाख ६४ हजार आम्दानी गरेको हो । महिलाले मात्र आवद्ध रहेको जैंसीडाँडा किसान समूहले विगत ११ वर्षअघिदेखि सो जातको मकैको बिउ उत्पादन गर्दै आएको समूहकी अध्यक्ष संगीता हमालले बताइन् । ‘विगत ११ वर्षदेखि ‘मनकामना–३’ जातको मकैको बिउ उत्पादन गर्दै आएका छौँ,’ उनले भनिन, ‘गत आर्थिक वर्षमा १६ हजार ६ सय ४१ केजी मकैको बिउ प्रतिकेजी सय रुपैयाँका दरले बिक्री गरेका हौँ ।’ ०७८/७९ मा साढे १६ टन मकैको बिउ बिक्री गरेको समूहले ०७७/७८ मा १० टन बिउ बिक्री गरी नौ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस