# भर्खरै
Namaste Icon
Ad

कालीगण्डकी गाउँपालिकाको अनुदानमा सयपत्री फूलखेती

कालीगण्डकी गाउँपालिकाको अनुदानमा सयपत्री फूलखेती

स्याङ्जा । कालीगण्डकी गाउँपालिकाले फूलखेतीमा ५० प्रतिशत अनुदान दिएसँगै फूलखेतीतर्फ किसान आकर्षित भएका छन् । फूलखेतीका माध्यमबाट स्थानीयवासीलाई रोजगारी दिने र आर्थिक लाभ लिने उद्देश्यसहित गाउँपालिकाले गतवर्ष आफैले फूलखेती थालेकामा यसवर्ष किसानलाई ५० प्रतिशत अनुदान दिएर फूलखेतीतर्फ आकर्षित गरेको हो । यसवर्ष गाउँपालिकाले करिब १५ रोपनी क्षेत्रफलमा र अन्य किसान समूह तथा व्यक्तिको ३५ रोपनी गरी ५० रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरिने भएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए ।

'गाउँपालिका आफैले फूल खेती गरेर उत्पादित फूल बिक्रीबाट राम्रो आम्दानी गरेपछि यहाँका अन्य किसानलाई पनि यसको व्यावसायिक उत्पादनतर्फ जोड्नका लागि ५० प्रतिशत अनुदान उपलब्ध गराउने निर्णय गरेका छौँ', उनले भने, 'गाउँपालिकाले ईच्छुकहरुको माग सङ्कलन गर्दा १४ किसान तथा किसान समूहलाई छनोट गरेर ५० प्रतिशत अनुदान उपलब्ध गराउने भएको हो ।'

गाउँपालिकाले वडा नं ४ को बिर्घा पुछार भन्ने स्थानमा करिब १५ रोपनी क्षेत्रफलमा व्यावसायिक फूलखेती गर्नका लागि नर्सरी स्थापना गरिसकेको उनले बताए । गाउँपालिकाले व्यावसायिकरुपमा फूलखेती गर्न नर्सरी राखेको बिर्घा पुछारमा पालिकाका सबै वडाबाट छनोट भई आएका किसान समूह तथा किसानलाई प्राविधिक ज्ञान दिइएको प्रमुख प्रशासकीय अधिकृत टंकराज पाण्डेयले बताए ।

'खनजोतदेखि फूल उत्पादन हुँदासम्मका लागि गाउँपालिकाले प्रतिरोपनी रु नौ हजारका दरले अुनदान उपलब्ध गराउने छ', उनले भने, 'उत्पादित फूल तथा माला किसान समूह वा किसान आफै बिक्री गर्न पनि सक्ने तर बिक्री नभएमा गाउँपालिकाले बजारीकरणको व्यवस्था मिलाउने छ ।'

गतवर्ष गाउँपालिकाले परीक्षणका रुपमा थालेको फूलखेतीको उत्पादन तथा बजारीकरण राम्रो भई मनग्य आम्दानी गरेपछि यसवर्षबाट किसानलाई आकर्षित गर्न अनुदान उपलब्ध गराइएको गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलले बताए ।

पालिकाका सात वटै वडाका तीन महिला समूह, एक घरबास (होमस्टे) र दश किसान गरी १४ समूह तथा व्यक्ति छनोट भएका हुन् । किसान समूह तथा व्यक्तिले कम्तीमा पनि दुई रोपनीदेखि पाँच रोपनीसम्म जग्गामा व्यावसायिक फूलखेती गर्नेछन् । 'पालिकाले नर्सर राखेको स्थानमा नै सबै किसान समूह तथा व्यक्तिलाई बोलाइ प्राविधिक ज्ञान, नर्सरी स्थापना, औषधि, बीउ तथा आधुनिक औजार उपलब्ध गराएका छौँ', उनले भने, 'किसान समूह तथा व्यक्तिले यहाँ सिकेका सीपलाई आ–आफ्नो ठाउँमा लगेर प्रयोग गर्नुभएको छ, अहिले बीउ राखेर बेर्ना उमारिसक्नुभएको छ ।'

बीउ राखेको ९० दिनमा उत्पादन लिन सकिने छ । गाउँपालिका तथा किसान समूह, किसानले विशेषगरी दसँैं तिहारलाई लक्षित गरेर फूलखेती सुरु गरेको उहाँले बताउनुभयो । गाउँपालिकाले यसवर्ष सयपत्री कर्मा ५५५ जातको बीउ लगाएको छ । एउटा बोटबाट ४०० फूल उत्पादन हुने र विभिन्न चरणमा आगामी चैतसम्म टिप्न सकिने उनको भनाइ छ ।

फूलको व्यावसायिक उत्पादन गर्न सकेको खण्डमा आर्थिक उपार्जन गर्न सकिने, खाली खेर गईरहेको जमिनको सही सदुपयोग हुने, फूलका माध्यमबाट पालिकाको पहिचान स्थापित गर्न सकिनाका साथै यहाँको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने उनको विश्वास छ । रासस

सम्बन्धित समाचारहरु

व्यावसायिक बन्दै सुँगुरपालन

व्यावसायिक बन्दै सुँगुरपालन

म्याग्दी । माग बढेपछि म्याग्दीमा व्यावसायिकरूपमा सुँगुर पाल्न थालिएको छ । घरायसी र धार्मिक प्रयोजनका लागि सुँगुर पाल्ने कृषकले आम्दानी गर्न थालेका हुन् । बेनी नगरपालिका–१ सिमका एकेन्द्र थापाको खोरमा अहिले २८ सुँगुरका माउ छन् । उनले वर्षको तीन सयभन्दा बढी सुँगुरका पाठापाठी बेच्दै आएका छन् । पाठापाठी किन्न जिल्लाबाहेक बागलुङ र पर्वतबाट समेत ग्राहक आउँछन् ।  एउटा पाठो पाँच हजारसम्ममा बिक्री हुने गरेको छ । ‘पुर्खादेखि नै सुँगुर पाले पनि व्यावसायिकरुप दिइएको  थिएन तर  अहिले बङ्गुरसँगै सुँगुर पनि व्यावसायिकरुपले पाल्न थालेको हुँ । परिवारबाहेक चार–पाँच जनालाई रोजगारी पनि दिएको छु’, उनले भने, ‘व्यवस्थित खोर बनाएर व्यावसायिक रूपमा पाल्न थालेपछि हिजोआज सुँगुरले पनि ‘मान’ पाएको छ, कृषकहरुलाई पनि हौसला मिलेको छ ।’

मकैको बिउबाटै मनग्य आम्दानी

मकैको बिउबाटै मनग्य आम्दानी

वालिङ । स्याङ्जाको फेदीखोला गाउँपालिका–४ आरुखर्कमा रहेको जैसीडाँडा किसान समूहले मनग्य आम्दानी गर्दै आएको छ । समूहले गत आर्थिक वर्ष ०७८/७९ मा ‘मनकामना–३’ जातको १६ टन मकैको बिउ बिक्री गरेर १६ लाख ६४ हजार आम्दानी गरेको हो । महिलाले मात्र आवद्ध रहेको जैंसीडाँडा किसान समूहले विगत ११ वर्षअघिदेखि सो जातको मकैको बिउ उत्पादन गर्दै आएको समूहकी अध्यक्ष संगीता हमालले बताइन् । ‘विगत ११ वर्षदेखि ‘मनकामना–३’ जातको मकैको बिउ उत्पादन गर्दै आएका छौँ,’ उनले भनिन, ‘गत आर्थिक वर्षमा १६ हजार ६ सय ४१ केजी मकैको बिउ प्रतिकेजी सय रुपैयाँका दरले बिक्री गरेका हौँ ।’ ०७८/७९ मा साढे १६ टन मकैको बिउ बिक्री गरेको समूहले ०७७/७८ मा १० टन बिउ बिक्री गरी नौ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस