# भर्खरै
Namaste Icon
Ad

मकैको बिउबाटै मनग्य आम्दानी

मकैको बिउबाटै मनग्य आम्दानी

वालिङ । स्याङ्जाको फेदीखोला गाउँपालिका–४ आरुखर्कमा रहेको जैसीडाँडा किसान समूहले मनग्य आम्दानी गर्दै आएको छ । समूहले गत आर्थिक वर्ष ०७८/७९ मा ‘मनकामना–३’ जातको १६ टन मकैको बिउ बिक्री गरेर १६ लाख ६४ हजार आम्दानी गरेको हो । महिलाले मात्र आवद्ध रहेको जैंसीडाँडा किसान समूहले विगत ११ वर्षअघिदेखि सो जातको मकैको बिउ उत्पादन गर्दै आएको समूहकी अध्यक्ष संगीता हमालले बताइन् । ‘विगत ११ वर्षदेखि ‘मनकामना–३’ जातको मकैको बिउ उत्पादन गर्दै आएका छौँ,’ उनले भनिन, ‘गत आर्थिक वर्षमा १६ हजार ६ सय ४१ केजी मकैको बिउ प्रतिकेजी सय रुपैयाँका दरले बिक्री गरेका हौँ ।’ ०७८/७९ मा साढे १६ टन मकैको बिउ बिक्री गरेको समूहले ०७७/७८ मा १० टन बिउ बिक्री गरी नौ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

‘स्याङ्जासहित देशका विभिन्न ठाउँबाट यहाँ उत्पादन गरिएको ‘मनकामना–३’ जातको मकैको बीउको माग अत्याधिक छ, मागअनुसार पुर्याउन सकेका छैनौँ,’ उनले भनिन्, ‘यसवर्ष करिब २० टन बिउ उत्पादन हुने अनुमान गरेका थियौँ तर खडेरीका कारण अपेक्षाअनुसार बिउ उत्पादन हुन सकेन ।’

यहाँ उत्पादन भएको बिउ स्याङ्जाका स्थानीय बजारसहित पोखरा, चितवन, गोरखा, लमजुङलगायत ठाउँमा जाने गरेको समूहकी कोषाध्यक्ष कल्पना पौडेलले बताइन् । यहाँ उत्पादन भएको बिउ मकै स्याङ्जा जिल्लाभित्रका कृषिसँग सम्बन्धित कार्यालय, संघसंस्था, कृषि एग्रोभेट र जिल्लाबाहिरबाट पनि माग हुने गरेकाले खपतको कुनै समस्या नभएको समूहकी कोषाध्यक्ष पौडेलले जानकारी दिइन् ।

उत्पादन भएको मकैको बिउको नमुना प्रयोगशालामा पठाएर उमारशक्ति, चिस्यान र शुद्धता परीक्षण गरिन्छ । परीक्षणमा योग्य भएपछि घरघरमा रहेको मकैलाई संकलन केन्द्रमा ल्याएर समूहमार्फत एकमुष्ठ बिउको प्रयोजनका लागि समूहमार्फत बिक्री गरिँदै आएको छ ।

यहाँ उत्पादन भएको बिउ मकै सुुरुआतको चरणदेखि हालसम्म गुणस्तरीयता परीक्षणका क्रममा र रोपेपछि उत्पादन लिने बेलासम्म कमजोरी नदेखिएको दाबी समूहको छ । मकैको बिउ उत्पादन गर्दै आएको उक्त ठाउँमा बाँदरको समस्या भएकाले आलोपालो गरेर बाँदर कुर्ने÷धपाउने चार जनालाई समूहले पुरस्कृतसमेत गरेको छ । जैंसीडाँडा किसान समूहले गण्डकी प्रदेशकै सबैभन्दा धेरै उन्नत मकैको बिउ उत्पादन गर्दै आएको दाबी गाउँपालिकाका अध्यक्ष घनश्याम सुबेदीको छ ।

उन्नत जातको मकैको बिउ उत्पादन गर्दै आएको जैंसीडाँडा किसान समूहलाई विगत चार वर्षदेखि गाउँपालिकाले उत्पादनमा आधारित १५ प्रतिशत नगद अनुदान उपलब्ध गराउँदै आएको छ । गाउँपालिकाले पटकपटक गरी हालसम्म विभिन्न उपकरण खरिद, भण्डारका लागि आवश्यक सामग्री, तालिमका लागि ५० लाख बढी नगद अनुदान दिएको गाउँपालिकाका अध्यक्ष सुवेदीले बताए । आरुखर्कमा उन्नत मकैको बिउ उत्पादन राम्रो भएकाले वडा–३ को भाटखोलास्थित लोलासरी किसान समूहलाई ‘मनकामना–५’ जातको उन्नत मकैको बिउ उत्पादनको पकेट क्षेत्रका रूपमा विस्तार गरिएको उनले बताए ।  - रासस

सम्बन्धित समाचारहरु

व्यावसायिक बन्दै सुँगुरपालन

व्यावसायिक बन्दै सुँगुरपालन

म्याग्दी । माग बढेपछि म्याग्दीमा व्यावसायिकरूपमा सुँगुर पाल्न थालिएको छ । घरायसी र धार्मिक प्रयोजनका लागि सुँगुर पाल्ने कृषकले आम्दानी गर्न थालेका हुन् । बेनी नगरपालिका–१ सिमका एकेन्द्र थापाको खोरमा अहिले २८ सुँगुरका माउ छन् । उनले वर्षको तीन सयभन्दा बढी सुँगुरका पाठापाठी बेच्दै आएका छन् । पाठापाठी किन्न जिल्लाबाहेक बागलुङ र पर्वतबाट समेत ग्राहक आउँछन् ।  एउटा पाठो पाँच हजारसम्ममा बिक्री हुने गरेको छ । ‘पुर्खादेखि नै सुँगुर पाले पनि व्यावसायिकरुप दिइएको  थिएन तर  अहिले बङ्गुरसँगै सुँगुर पनि व्यावसायिकरुपले पाल्न थालेको हुँ । परिवारबाहेक चार–पाँच जनालाई रोजगारी पनि दिएको छु’, उनले भने, ‘व्यवस्थित खोर बनाएर व्यावसायिक रूपमा पाल्न थालेपछि हिजोआज सुँगुरले पनि ‘मान’ पाएको छ, कृषकहरुलाई पनि हौसला मिलेको छ ।’

कालीगण्डकी गाउँपालिकाको अनुदानमा सयपत्री फूलखेती

कालीगण्डकी गाउँपालिकाको अनुदानमा सयपत्री फूलखेती

स्याङ्जा । कालीगण्डकी गाउँपालिकाले फूलखेतीमा ५० प्रतिशत अनुदान दिएसँगै फूलखेतीतर्फ किसान आकर्षित भएका छन् । फूलखेतीका माध्यमबाट स्थानीयवासीलाई रोजगारी दिने र आर्थिक लाभ लिने उद्देश्यसहित गाउँपालिकाले गतवर्ष आफैले फूलखेती थालेकामा यसवर्ष किसानलाई ५० प्रतिशत अनुदान दिएर फूलखेतीतर्फ आकर्षित गरेको हो । यसवर्ष गाउँपालिकाले करिब १५ रोपनी क्षेत्रफलमा र अन्य किसान समूह तथा व्यक्तिको ३५ रोपनी गरी ५० रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरिने भएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए ।

प्रतिक्रिया दिनुहोस