प्रतिबन्धित लागूऔषधसहित उपत्यकाबाट २२ जना पक्राउ

काठमाडौं । प्रहरीले उपत्यकाको विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित २२ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण व्युरो कोटेश्वरले २०७८ असार ३२ देखि साउन १८ गते बुधबारसम्म १९ दिनमा चार महिलासहित १८ पुरुषलाई पक्राउ गरेको हो । प्रहरीले यही साउन ८ गते ताप्लेजुङ मेरिङदेन घर भई ललितपुर इमाडोल बस्ने ३३ वर्षीय तुलसा खड्कालाई पक्राउ गर्यो । उनको साथबाट नाइट्राभेट ट्याब्लेट एक हजार २६० थान, प्रोक्सिभन क्याप्सुल १५० थान, ‘डायलेक्स डिसी’ छ बोलत र कोडिन जस्तो देखिने रातो रङको तरल पदार्थ तीन सय मिलिलिटर बरामद भयो । खड्कालाई लागूऔषध उपलब्ध गराउने सर्लाही हरिवन घर भई गोकर्णेश्वर बेँसीगाउँ बस्ने ३५ वर्षीय बुद्ध बम्जन र खड्कालाई लागूऔषध कारोबारमा सहयोग गर्ने सुनसरी बराह घर भई इमाडोल बस्ने २७ वर्षको युवराज खड्कालाई पनि प्रहरी पक्राउ गरेको छ ।
प्रहरीले लागूऔषधसहित पक्राउ परेकाको अनुसन्धानबाट सोही अवैध कारोबारमा सहयोग गर्ने र लागूऔषध उपलब्ध गराउनेसम्मलाई पक्राउ गरेको हो । त्यस्तै लागूऔषध नियन्त्रण ब्यूरोले यही साउन १३ गते ३८४ ग्राम हेरोइनसहित रामेछाप नगरपालिका–९ घर भई गोकर्णेश्वर बस्ने ४० वर्षीय जुनमाई मोक्तानलाई पक्राउ गरेको थियो । उपत्यकाको ललितपुर, भक्तपुर र काठमाडौंका विभिन्न स्थानबाट लागूऔषध कारोबारमा संलग्न रहेका सबैलाई पक्राउ गरी प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।
व्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विकास खनालका अनुसार पक्राउ परेकाहरुको साथबाट ४५९ ग्राम हेरोइन, ‘डायलेक्स डिसी’ एक हजार १८० बोतल, नाइट्राभेट ट्याब्लेट एक हजार २६० थान र प्रोक्सिभन क्याप्सुल १५० थान बरामद गरिएको छ । बरामद गरिएको लागूऔषधको कूल बजार मूल्य ५८ लाख १० हजार ८०० रहेको जानकारी प्रहरीले दिएको छ । यसरी अवैध लागूऔषधमा संलग्न हुने र पक्राउ पर्नेको संख्या बढ्दो देखिन्छ । यसअघि साउन १ गते चार किलो अवैध लागूऔषध हेरोइनसहित अफ्रिकी नागरिक ज्याक एन्टोन एन्गेलब्रेच र भारतका ३२ वर्षीया ज्योथाङीलाई प्रहरीले तिलगंगाबाट पक्राउ गरेको थियो ।
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित पक्राउ परेका भारतीय नागरिक यूसुफ हारोन जेल चलान भएका छन्। सुन भन्सार चोरी पैठारीमा मुद्दा चलाइएका हारोनलाई मंगलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो । जिल्ला अदालतका न्यायाधीश इन्द्रकुमार चोङ्टेन्लीलले हारोनलाई थुनामा पठाउने आदेश दिएका हुन् ।
काठमाडौं । पूर्वाधार विकास कार्यालय रौतहटका तत्कालीन निमित्त कार्यालय प्रमुख इन्जिनियर शिवजी प्रसाद राय, लेखा अधिकृत र निर्माण कार्य उपभोक्ता समितिका अध्यक्षसहित पाँचजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी लाभ तथा हानी पुर्याउने गरी १६ लाख ५९ लाख ९७२ रुपैयाँ हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।