# भर्खरै
Namaste Icon
Ad

संकटमा रैथाने नकटा हाँस

संकटमा रैथाने नकटा हाँस

कञ्चनपुर । कैलाली र कञ्चनपुरमा मात्रै पाइने नकटा हाँसको बासस्थान मासिँदै जान थालेपछि संकटमा परेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका कालिकिच, सिकारी तालसँगै निकुञ्ज बाहिरका पुरैनी, शोभालगायतका तालक्षेत्र आसपासका क्षेत्रमा सो प्रजातिको हाँस पाइने गर्छ । कैलालीको घोडाघोडीलगायतका ताल आसपासका क्षेत्रमा सो हाँसको बासस्थान रहेको छ ।


यसको संख्यामा केही समययतादेखि कमी आएको छ । ताल–तलैयाहरू मानव अतिक्रमणको चपेटामा पर्नु र स्थानीय बासिन्दाले शिकार गर्ने गरेका कारणसमेत हाँसका संख्यामा कमी आउन थालेको हो । संकटापन्न अवस्थामा रहेको नकटा हाँस जोगाउनका लागि स्थानीय बासिन्दालाई जैविक विविधता संरक्षणसँगै चरा संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गरी सचेत पार्नुपर्ने चरा संरक्षणको कार्यमा संलग्न सुमन चौधरीले बताए ।
‘निकुञ्ज आसपासका ताल–तलैया क्षेत्रमामात्रै नकटा हाँस देखिने गरेको थियो,’ उनले भने, ‘हाल यस प्रजातिको हाँस घना बस्ती नजिकका ताल–तलैयामा समेत देखिन थालेको छ । यसको संरक्षण गर्नु जरुरी छ ।’ बेलौरी नगरपालिकाको शोभाताल क्षेत्रमा पाँच बढीको संख्यामा नकटा हाँस पहिलोपटक देखापरेको उनले बताए ।

नेपाल पक्षी संरक्षण संघका चराविज्ञ हिरूलाल डगौराका अनुसार नकटा हाँस नेपालको रैथाने प्रजातिका सबैभन्दा ठूलो प्रजातिको हाँस हो । यस हाँसले वर्षातको समय सुरु भएसँगै बच्चा कोरल्ने गर्दछ । रुखको टोड्का, अरु चराले छाडेका गुँड, ठूलो घाँसको झाडीमा अण्डा पार्ने गर्दछ । पोथीले एकपटकमा १० देखि १५ सम्म अण्डा पार्ने गर्दछ । अण्डा पारेको २५ देखि ३० दिनमा बच्चा कोरल्ने गर्दछ । नकटा हाँस काला छिर्कापूर्ण सेतो–सेतो टाउको र सेतो–सेतो तल्लो भाग साथै अपूर्ण साँघुरो छातीपेटी हुने गर्दछ । माथिल्लो र तल्लो पखेटा कालो हुन्छ ।

भालेको कालो–कालो माथिल्लो भागमा टल्कने ढलौटे हरियो, निलो र हरियो रङको हुन्छ । ठोँडको फेदमा पुष्ट सिउर साथै ग्रिष्ममा टाउको छेउ र गर्दनमा पहेलो–पहेलो मैलो बगेको जस्तो देखिने हुन्छ । हिउँदमा सिउर सानो पोथी साना नापको माथिल्लो भाग बढी धमिलो हुन्छ । सिउर नभएको बच्चाको गाढा तालु र आँखीधर्सोभन्दा भिन्न देखिने फिक्का आँखीभौँ माथिल्लो भागमा मैला कत्ला र कैलोमैलो तल्लो भाग साथै छातीको छेउमा गाढा कत्ला हुन्छन् ।

सिमसार तथा जलसिञ्चित घाँसेमैदानमा चर्ने र छिपछिपे पानीमा खेल्ने गर्दछ । धेरै जलिय वनस्पति भएका जंगलभित्रका तालतलैयामा यो बढी बस्न रुचाउने गर्दछ । रैथाने प्रजातिको यस हाँसलाई नेपालमा संकटापन्नको सूचीमा सूचीकृत गरिएको छ । ‘यस हाँसको स्वभाव अरूभन्दा भिन्न हुने गर्दछ,’ चराविज्ञ डगौराले भने, ‘यो हाँस अरु हाँसका झुण्डमा मिसिएर बस्ने गरेको पनि पाइएको छ ।’

‘यस हाँसको संख्या थोरै मात्र छ । त्यसैले संकटमा छ,’ उनले भने, ‘केही दिनअघि कैलालीका तालतलैयामा गरिएको सर्भेक्षणमा यसको संख्या ४५ मात्रै रहेको पाइएको छ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र त्यस आसपासका तालतलैया क्षेत्रमा यसको संख्या ६० को हाराहारीमा रहेको अनुमान गरेका छौँ ।’ यस हाँसले आहाराका रूपमा किरा–फट्यांग्रा, माछा, जलीय वनस्पतिलाई ग्रहण गर्दछ ।

अंग्रेजीमा यसलाई कम्बडक भनेर चिनिन्छ । नकटा हाँस संकटापन्न अवस्थामा रहेकाले यसको संरक्षणमा सबैले चासो दिनुपर्ने चराविज्ञ डगौराको सुझाव छ । ‘सुदूर तराईका दुई जिल्लाको रैथानेमध्येको ठूलो प्रजातिको हाँस नकटा भएकाले यसको संरक्षणसँगै बासस्थान सुरक्षित बनाउन सकेमात्रै यसलाई जोगाउन सकिन्छ,’ उनले भने । रासस

सम्बन्धित समाचारहरु

बागलुङ । गण्डकीका पूर्वप्रदेशसभा सदस्य कृष्ण थापा अहिले सुन्तला खेतीमा व्यस्त छन् । राजनीतिमा लाग्दै गर्दा केही समय छुट्याएर स्वरोजगारमूलक कृषि कर्म गर्नुपर्दछ भन्ने मान्यता राख्दै आएका उनले अहिले पूरै समय कृषिमा लगाएका छन् । बागलुङको राजनीतिमा राष्ट्रिय जनमोर्चाको छुट्टै पहिचान बनाउन सङ्घर्ष गरेका उनी अहिले राजनीतबाट अलग जस्तै बनेर सुन्तलाका बोट स्याहार्दै आएका छन् । जैमिनी नगरपालिका–४ सर्कुवाका थापाले २०६२/६३ सालमा जनमोर्चा बागलुङको नेतृत्व गरेका थिए । त्यसताका बागलुङमा राष्ट्रिय जनमोर्चाको ठूलो प्रभावसमेत थियो ।

चिया बेचेर मासिक रु ६० हजार बचत गर्दै २० वर्षीया विपना

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत २० वर्ष पुगिन् । यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ । यहीँ उमेरका युवायुवती भर्खरै सहर छिरेर रोजगार खोज्दै भौँतारिरहेका छन् । विपनाले जिल्लाको सदरमुकाम तम्घासमा चिया बेचेरै मासिक रु ९० हजार कमाउँदै आएकी छिन्।

प्रतिक्रिया दिनुहोस

Ad