# भर्खरै
Namaste Icon
Ad

जनप्रतिनिधिले काम गरेर बोल्ने हो, बोलेर सुनाउने मात्रै होइन : मिना कार्की बस्नेत

जनप्रतिनिधिले काम गरेर बोल्ने हो, बोलेर सुनाउने मात्रै होइन  : मिना कार्की बस्नेत
मिना कार्की बस्नेत, अध्यक्ष - लिखुपिके गाउँपालिका

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको परिणामले आम नागरिकले परिवर्तन खाँचो भएको संकेत गरेका छन । देशका ठुला पार्टी र बलिया मानिएका नेताहरुलाई धक्का दिँदै लौरो निर्वाचन चिन्ह लिएर चुनावमा होमिएका धरान उपमहानगरपालिकाबाट हर्क साम्पाङ, काठमाडौं महानगरपालिकाबाट बालेन शाह (बालेन्द्र) लगायतका स्वतन्त्र उम्मेदवारहरुले बाजी मारेका छन । यसले आम नागरिकमा पार्टीप्रति बितृष्णा अनुभुति भएको देखाएको छ भने युवा पुस्तालाई राजनीतिमा ल्याउन प्रेरित गरेको छ । त्यस्तै विभिन्न पार्टीभित्रका दम्भ र शीर्षस्थ नेताहरुको स्वार्थलाई समेत उदाङ्ग बनाएको छ । स्थानीय तहको निर्वाचनले नेतृत्व सचिन र आगामी मङ्सिर ४ गते हुने आसन्न चुनावमा सहि उम्मेदवारको टुंगो लगाउन राजनीतिकर्मीलाई अवसर पनि दिएको छ । यसपटकको स्थानीय तहको निर्वाचनमा राज्यले पछि पारेका अल्पसंख्यक, महिला, दलित समुदायले पनि पालिका तथा वडाको नेतृत्व गर्ने अवसर प्राप्त गरेका छन । यस्तै प्रदेश नम्बर एक अन्तर्गत सोलुखुम्बु जिल्लाको लिखुपिके गाँउपालिकामा महिला नेत्री निर्वाचित भएकी छन । निवर्तमान अध्यक्ष नेकपा माओवादीका उम्मेदवार डम्बरबहादुर बस्नेतलाई परास्त गर्दै नेपाली कांग्रेसबाट उम्मेदवार दिएकी मिना कार्की बस्नेत लिखुपिके गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएकी हुन् । उनले लगभग तीन दशक शिक्षण पेसामा बिताएकी थिइन् ।प्रस्तुत छ उनै नवनिर्वाचित अध्यक्ष मिना कार्की बस्नेतसँग दर्पण दैनिकले गरेको छोटो कुराकानी:


महिला नेत्री हुँदाको अनुभव बताईदिनुस न ?
अहिलेसम्म हाम्रो पालिकामा माहिलाहरु प्रमुख नेतृत्वमा आएका छैनन् । हामी पितृसत्तात्मक पृष्ठभुमिबाट आएका भएपनि यस पालिकामा त्यस्तो नराम्रो असर परेको छैन । त्यसैले मलाई एकदम खुसी लागेको छ । राष्ट्रपति पनि महिला नै हुनुहुन्छ । म पनि नेतृत्व सम्हाल्न सक्छु भनेर नै चुनवमा होमिएको थिएँ । लिखुपिकेवासी जनताले अमुल्य मत दिएर म लगायत हाम्रो पार्टीलाई विश्वास गरेर जिताउनु भएको छ । त्यसका लागि म धन्यवाद दिन्छु । त्यस्तै म नेत्री भएर मात्रै पनि हुँदैन । काम पनि गर्न सक्नुपर्छ । कामका आधारमा मात्रै सबै कुरा थाहा हुन्छ । हामी अहिले सुरुवातमा नै छौं । महिलाले के गर्न सक्छन् भन्ने कुरा आगामी दिनमा थाहा हुने कुरा हो । काम गरेर बोल्ने हो, बोलेर सुनाउने होइन । कुरा गर्नेले काम गर्न सक्दैनन् । त्यसैले म चाँही काम गर्नका लागि आत्मबलका साथ लागिरहेको छु ।

शिक्षण पेसामा कति वर्ष बिताउनुभयो ?
अस्थायी र स्थायी गरेर लगभग ३० वर्ष जति शिक्षण पेसामा बिताएँ । शिक्षण पेसाको अवधि पुगेपछि यो पेसाबाट अवकाश लिएँ । त्यसपछि मानव भएर जन्मेपछि केही त गर्नुपर्छ भन्ने लाग्यो । त्यसमा पनि यही गाउँ समाजमा केही सेवा गर्नुपर्छ भनेर राजनीतिमा लागेकी छु । यस लिखुपिके गाउँपालिकामा सुशासन भन्ने कुरा अत्यन्तै न्यून देखिएकोले त्यसलाई केही न केही व्यवस्थापन गर्न सकिन्छ कि भनेर म आएकी हुँ ।

चुनौतीहरु नि ?
हिँजो शिक्षण पेसामा हुँदा पनि प्रशस्तै चुनौतीहरु थिए । आज राजनीति क्षेत्रमा छु । यहाँ पनि धेरै नै चुनौतीहरु छन । ती चुनौतीलाई बिस्तारै पार गर्दै जानुपर्छ । यही गाउँसमाजको विकासको लागि काम गर्दा जस्तोसुकै चुनौतीहरु आएपनि सामना गर्न तयार भएर बसेकी छु । कोही जनप्रतिनिधि जनताले गाली गरे भन्छन् त्यो एकदम गलत हो । सबै मानिस सयमा सय नै सक्षम हुन्छन् भन्ने पनि होईन । केहि कमिकमजोरी हुन सक्तछन । त्यसलाई सुधार गर्नु आम जनताबाट सल्लाह सुझाव सहितको जनगुनासो आउन सक्छ । त्यो स्वीकार्नु पर्छ । यसरी जनगुनासो आउनु भनेको केही कुरा बिग्रेको छ अथवा बिग्रिदैँ छ है भन्ने जानकारी हो । त्यसलाई गालिका रूपमा नभै सुझावका रूपमा लिनुपर्छ । त्यसैले मैले राय, सल्लाह, सुझव र सहयोग गरिदिनुस भनेर लिखुपिकेवासीलाई भनिरहेकी छु ।


महिला नेत्री भएको नाताले महिलाहरूलाई के भन्नुहुन्छ ?
टोलटोलबाट वडावडाबाट महिला जागरण कार्यक्रम ल्याउन आवश्यक छ । अहिलेसम्म पनि हाम्रो समाजका अधिकांश महिलाहरू सक्षम हुनुहुन्न । घरपरिवारले पनि महिलाहरुलाई छुट दिनुहुन्न । हामी पितृसतात्मक समाज र संस्कृतिबाट आएका मान्छे हौं । पितृसत्तात्मक संस्कृतिलाई मान्न बाध्य छौँ । यसभित्रका सबै कुरा नराम्रो भन्ने पनि छैन । पितृसतात्मक भित्रको पनि केही कुरा मान्नुपर्छ साथै नकारात्मक असर पर्ने कुरा त्याग्दै जानुपर्छ । महिलाहरुमा चेतनाको अभाव छ । टोलटोलका महिलाहरुलाई शुन्यबाट नै सशक्तीकरण गर्न आवश्यक छ । त्यसपछि मात्रै महिलाहरुमा पनि स्थानीय तह, जिल्ला तह तथा प्रदेश र केन्द्रिय तहमा नेतृत्व गर्ने विकास हुन्छ । त्यसका लागि महिला सशक्तीकरणका तालिमहरु दिने हाम्रो घोषणापत्रमा पनि थियो र त्यसलाई कार्यान्वयन गर्ने तयारीमा छौं ।

तपाईंको कार्यकालपछि लिखुपिकेका नागरिकहरुले के पाँउछन ?
यहाँका जनताहरुले सुशासन, दिगो विकास, पारदर्शिता साथै भ्रष्टाचार न्यूनीकरण भएको पाँउनेछन् । यसका लागि सदैव सल्लाह, सुझाव र सहयोगको अपेक्षा राखेकी छु ।

सम्बन्धित समाचारहरु

नेपाली ढोकामा भविष्य खोज्दै बरिष्ठ फोटोग्राफर

नेपाली ढोकामा भविष्य खोज्दै बरिष्ठ फोटोग्राफर

विगत केहि समय यता नेपाली उत्पादनलाई प्रोमोट गर्नुपर्छ भनेर लागिपरेका योगेन्द्रजङ्ग बस्नेत एक सफल व्यापारी मात्र होईनन् उनी कुशल फोटोग्राफर पनि हुन् । फोटोग्राफी गर्ने शिलशिलामा नै उनले विश्वको ९० भन्दा बढि देशको भ्रमण पनि गरिसकेका छन् । हाल उनी नेपालमै टिम्बर क्राफ्ट नामक कम्पनीमा आवद्ध छन् । विशेष गरी टिम्बर क्राफ्टले घर बनाउंदा आवश्यक पर्ने ढोका उत्पादन, विक्रि तथा वितिरण गर्ने गर्दछ । यो नेपाली ढोका उत्पादक कम्पनी हो । प्रस्तुत छ उनै टिम्बर क्राफ्ट प्रालिका प्रबन्ध निर्देशक योगेन्द्रजङ्ग बस्नेतसंग दर्पण दैनिकका केशर विश्वकर्माले गरेको कुराकानीको सारसंक्षेपः

एकीकृत समाजवादी उम्मेदवार जमुना सुनारलाई प्रश्न, ‘तपाईलाई किन मत दिने ?'

अघाँखाचीको खनमा आमा छमकली सुनार र बुवा पिताम्बर सुनारको सुपुत्रीका रुपमा जन्मिएकी जमुना सुनार यतिबेला चुनावी मैदानमा उत्रिएकी छन । अर्घाखाँची जिल्लाबाट नेकपा एकीकृत समाजवादी पार्टीको नेतृत्व गर्दै कलम चुनाव चिन्ह लिएर समानुपातिक तर्फबाट उम्मेदवारी दिएकी जमुना प्रतिनिधि सभा सदस्यका लागि संघर्षरत छिन । लामो समय लोक संगीतको क्षेत्रमा आफुलाई समर्पित गरेकी जमुनाले नेपाली लोक संस्कृतिलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेलेकी छन् । प्रस्तुत छ उनै जमुना सुनार (सुनम) सँग दर्पण दैनिकका लागि केशर विश्वकर्माले गरेको छोटो कुराकानीको सम्पादित अंश:

प्रतिक्रिया दिनुहोस

Ad