काठमाडौं । ८ दलले संघीय तथा प्रदेश सभा सांसदहरूलाई आ-आफ्नो पार्टीभित्र आन्तरिक रूपमा प्रशिक्षण दिने निर्णय गरेका छन् । आज सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको ८ दलले गठन गरेको कार्यदलको बैठकले राष्ट्रपति निर्वाचनमा मतदान गर्ने तरिकालगायत विषयमा आन्तरिक रूपमा प्रशिक्षण दिने निर्णय गरेको हो ।
राष्ट्रपति चुनावका लागि मौन अवधि रहेकोले आन्तरिक रूपमा सांसदहरूलाई प्रशिक्षण दिन लागिएको बैठकमा सहभागी नेताहरूले बताएका छन् । ‘सबै मतदातालाई प्रशिक्षित गर्ने कुरा भएको छ। मौन अवधि रहेकोले आ-आफ्नो पार्टीभित्र सांसदहरूलाई राष्ट्रपति चुनावमा कसरी मतदान गर्नेलगायतबारे जानकारी गराइन्छ,’ बैठकमा सहभागी जसपा नेता राजेन्द्र श्रेष्ठले भने, ‘सांसदहरूलाई मतदान गर्न सिकाइरहनु त पर्दैन । तर यसपटक मतपत्रमा स्वस्तिक छाप लगाउने हो भन्ने कुरा आन्तरिक रूपमा भन्ने न हो ।’
कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले बुधबार बिहान ११ बजेसम्म प्रदेश सभा सांसदहरू तथा संघीय सांसदहरूलाई काठमाडौं आइसक्न पनि निर्देशन दिने निर्णय गरेको छ ।
बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले राष्ट्रपति चुनावलगायत विषयमा छलफल गरिएको बताए। ‘गठबन्धनलाई थप व्यवस्थित रूपमा अघि बढाउनेजस्ता विषयमा पनि छलफल भएको छ,’ उनले भने ।
कार्यदलका संयोजक कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचन तयारीबारे आजको बैठकमा छलफल गरिएको जानकारी दिए। ‘राष्ट्रपति निर्वाचनबारे प्रचारप्रसार अहिले गर्न मिल्दैन। मौन अवधि छ,’ उनले भने, ‘राष्ट्रपति निर्वाचन तयारी तथा व्यवस्थापनबारे कुराकानी गरिएको हो ।’
खड्काका अनुसार ८ दलका सांसदहरूलाई संयुक्त रूपमा प्रशिक्षण दिने कार्यक्रम भने स्थगित गरिएको छ। ८ दलले फागुन २४ गते काठमाडौंमा सांसदहरूलाई प्रशिक्षण दिने निर्णय गरेका थिए। मौन अवधिका कारण ८ दलका सांसदहरूलाई संयुक्त रूपमा प्रशिक्षण दिने कार्यक्रम स्थगित गरिएको खड्काले बताए ।
उनले शक्ति बाँडफाँटलगायत विषयमा भने आज बैठकमा छलफल नभएको बताए । राष्ट्रपति चुनावमा राष्ट्रिय सभा सदस्य, प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य मतदाता हुन्छन् ।
यही फागुन २५ गते राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ । ८ दलबाट कांग्रेस नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट नेता सुवास नेम्वाङ राष्ट्रपति पदका लागि उम्मेदवार छन् ।
नेता श्रेष्ठले ८ दलको मतभार नेकपा एमालेको भन्दा दोब्बरले बढी भएकोले चुनाव जित्ने कुरा निश्चितजस्तै भएको पत्रकारहरूलाई बताए । राप्रपा र रास्वपाले भने कसलाई मतदान गर्ने निर्णय गरिसकेका छैनन्। यी दुवै दलका कार्यालयमा पुगेर राष्ट्रपतिका दुवै उम्मेदवारले मत मागेका थिए ।