काभ्रेकाे खानीखोलामा एक सयबढी कुकुरको बन्ध्याकरण

दर्पण दैनिक १ चैत्र २०७९,२०:३८
post

काभ्रे । काभ्रेको खानीखोेला गाउँपालिकाले सामुदायिक (छाडा छोडिएका) तथा घरपालुवा एक सयबढी कुकुरको बन्ध्याकरण गरेका छन् । गाउँपालिकाभित्र छाडा कुकुरको संख्या दिनहुँ बढेसँगै मान्छेलाई समेत टोक्न थालेपछि तीन दिने शिविर सञ्चालन गरी एक सय ५ वटा कुकुरलाई नियन्त्रणमा लिई बन्ध्याकरण गरेका हुन् ।

खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले गाउँपालिकाको मुख्य बजार क्षेत्रमा छाडा कुकुरको संख्या बढ्दै जाँदा रेबिज रोगको सङ्क्रमण हुने खतरा भएकाले कुकुरको बन्ध्याकरणका साथै रेविजविरुद्धको खोप समेत लगाइएको बताए ।

रेविज रोग नियन्त्रण तथा न्युनीकरण गर्ने लक्ष्यका साथ बन्ध्याकरण शिविर सञ्चालन गरिएको उनको भनाई छ । अध्यक्ष थिङले भने, ‘छाडा कुकुरहरुको बन्ध्याकरण गरेपछि कुकुरको संख्या बढ्न पाउदैन । यसले रेविजको जोखिम पनि कम हुन्छ ।’

गाउँपालिकाको पशु शाखाका प्रमुख हेमन्त घिमिरेले गाउँपालिकाको पुश शाखा मार्फत् नेपाल एनिमल वेलकेयर एण्ड रिसर्ज सेन्टर बनेपा काभ्रेको प्राविधिक सहयोगमा कुकुरहरुलाई बन्ध्याकरणसहित रेविजरोग विरुद्धको खोप तथा लुतो जस्ता छाला सम्बन्धि रोगको औषधि समेत लगाइएको बताए । उनका अनुसार २ वटा विरालो सहित ६९ भाले र ३८ पोथी कुकुरको बन्ध्याकरण गरेका छन् ।

पशु शाखाका पशु प्रविधिक अमृत सापकोटाले नेपाल एनिमलका डा. सुरज श्रेष्ठ, डा. सुजन अधिकारी सहितको टोलीले बन्ध्याकरण शिविरमा पहिलो दिन गाउँपालिकाको ताल्ढुंगा बजारसँगै हात्तीसार क्षेत्रका २५ भाले र १५ पोथी गरी ४० वटा कुकुर, दोस्रो दिन धार्ने, फलामेटार क्षेत्रको २० भाले र १० पोथी गरी ३० वटा र तेस्रो दिन फुलडाँडा, आँपटार, सल्धाराको तल्लो भेग र महाँकाल क्षेत्रका २२ भाले र १३ पोथी गरी ३५ वटा कुकुरको बन्ध्याकरण गरेको जानकारी दिए । छुटेका स्थानलाई समेट्ने गरी कुकुर बन्ध्याकरण कार्यलाई आगामी दिनमा निरन्तरता दिइने गाउँपालिकाको पशु शाखाले जनाइएको छ ।

 

बालकालिकामा कुकुर त्रास

गाउँपालिका अध्यक्ष थिङले कुकुरले मानिस तथा पशुचौपायलाई टोकेर घाइते बनाउनुका साथै रेविज रोगको सङ्क्रमण देखिन थालेपछि रोग नियन्त्रण गर्न बन्ध्याकरण गरिएको बताए । उनले भने, ‘गाउँपालिकाको सुरक्षा एवं पशुको रक्षाका लागि छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण शिविर सञ्चालन गरिएको हो ।’

पशु शाकाका प्रमुख घिमिरेले बालबालिकामा त्रास फैलाउने घटना बढेको बताए । उनले  कुकुरको टोकाईबाट स्थानीय राजकुमार आचार्य भैसी समेत मरेको र रेविज परिक्षण गर्दा पोजेटिभ देखिएकापछि कुकुर नियन्त्रणका लागि बन्ध्याकरण र रेविज विरुद्धको खोप कार्यक्रम चलाइएको बताए ।

 

त्यस्तै गाउँपालिकाको केन्द्र ताल्ढुंगामा होटल सञ्चालन गर्दै आएका स्थानीय विकास रुम्बाको छोरा उर्गेन रुम्बा लगायतका दर्जन बढी बालबालिकलाई कुकुरले टोकेका छन् । कुकुरको कारण बालबालिकामा त्रास बढेसँगै कुकुर आतंक बढ्न थालेपछि भाले र पोथी दुवै कुकुरको बन्ध्याकरण गरिएको हो ।

 

होटल सञ्चालक रुम्बाले भने, ‘गाउँपालिकाले कुकुरलाई बन्ध्याकरण तथा रेविज विरुद्धको खोप शिविर ल्याएर धेरै राम्रो गरे, अब बालबच्चामा देखिएको त्रास केही हदसम्म कम हुनेछ ।’ उनले थपे, ‘कुकुरले टोकि हालेमा भनेको बेला औषधी पाइदैन, यस्तो शिविर बेलाबेला सञ्चलान गरेमा कुकुर आतंक मात्रै नभई रोगको जोखिम समेत कम हुन्थ्यो ।’
 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: