काठमाडाैं । पूर्व राजा ज्ञानेन्द्र शाहले देशलाई झन् झन् बर्बादीको बाटोमा लान नहुने भन्दै सोच्ने बेला आएको बताएका छन् । वीरगन्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राजा ज्ञानेन्द्रले देशलाई अब बर्बादीतिर लान नहुने भन्दै सबैले सोच्नुपर्ने बताएका हुन् ।
‘दुःखका साथ भन्नुपर्छ । हिमाल, पहाड र तराई, सबै उजाड बन्दै खोक्रो भएर चरम दुर्भाग्यतिर खस्किएको छ । यो अवस्थाको अनत्य गर्नैपर्छ । यसको निम्ति अब सोच्ने बेला आयो’, ज्ञानेन्द्रले भने, ‘देशलाई झन् झन् बर्बादीतिर नलैजाऊँ, अब सबैले सोचौं, समीक्षा गरौं ।’
प्राकृतिक, स्रोत साधन र क्षमता, सबै कुरा आर्थिक उन्नतीमा लगाउनुपर्ने उनले बताए । ‘घर उजाड पारेर अरुको उन्नतिमा श्रम लगाउने बेला अब गयो । आफ्नै गाउँ बस्ती बनाउनतिर अब हामी लाग्नैपर्छ । यसैमा देशको प्रगति, उन्नती र प्रतिष्ठा निर्भर हुन्छ’, उनले भने, ‘अब भूगोल र भूबनोटमा बाँडिने होइन । जातजाति, धर्म र संस्कृतिमा खण्डित हुने होइन । नेपालमा बस्ने हामी सबै नेपाली हौ । त्यसैले विभेदको, विखण्डनको, विग्रहको, र निषेधको राजनीति नगरौं । हामी सबैको भलाई यसैमा छ ।’ परिवार नै गुमाउनुपरेको पीडापछि ७ वर्ष आफूले दायित्व निर्वाह गरेको पनि उनले बताए ।
‘अप्ठ्यारोमा देशको बर्बादी नहोस् भनेर मैंले काम गरेको हुँ । २०५८ मा खटेको विनाशकारी घटनामा हामी र हाम्रो परिवारलाई कहालीलाग्दो, सम्झन पनि नपर्ने अवस्थालाई राजनीतिक जालझेल बनाइरहने धेरै नेपालीमा नकारात्मक भावना फैलाइयो’, उनले भने, ‘तर हामी र हाम्रो परिवारलाई घातक प्रहार पनि गरे । सत्य सधैं सत्य हुन्छ । असत्यको विजय कहिल्यै हुँदैन । अज्ञानता र छलले अझै पनि हामी बहकिरहेका छौं ।’
पुर्ख्यौली राजदरबारबाट बाहिरिँदा आफूले आम सञ्चारमा नेपालमै बसेर नेपालको हित र शान्तिको लागि योगदान पुर्याउन चाहन्छु भनेको पनि उनले बताए । स्वाभिमानी आम नेपालीको हित होस् भन्ने मेरो हार्दिक कामना रहे पनि १५ वर्षमा असन्तोष र चिन्तामात्रै देखिएको उनले बताए ।
‘बितेका १५ वर्षमा असन्तोष, चासो र चिन्ता सर्वत्र छताछुल्ल छ’, उनले भने । गरिमामाय राजपाठबाट श्रीपेच बुझाएर हिँडे पनि राष्ट्र प्रेम, राष्ट्रियता, प्रजातन्त्रप्रति प्रतिबद्धता रहेको उनले बताए ।
‘चीरकाल सुरक्षित होस् भनेर श्रीपेच राष्ट्रलाई सुम्पिएँ । देशमै छौं । देशमा रहेर देशको गौरव गाथा गाइरहेका छौ. । देशको सर्वाङ्गीण उन्नती होस्। देशवासीको विकास होस् भन्ने हाम्रो भावना छ’, उनले भने, ‘मौलिकता , अस्तित्व, पहिचान गुमाएर देशलाई विभाजनको खाडलतिर लानुहुन्न । देशमा सनातनदेखि रहिआएका सम्बन्धलाई बिथोलेर देशको भलो हुँदैन ।’
उनले देशको राज्य व्यवस्था, राजनीति र अर्थ व्यवस्थामा सुधार गर्नुपर्ने पनि बताए । ‘यसैले राज्य व्यवस्था, राजनीति, अर्थ व्यवस्था, हाम्रो सामाजिक दुरावस्थाको मूल्यांकन गरेर सबैको सुधार, विकास र निकासको बाटोमा हामी अब लाग्नुपर्छ । यसैमा हाम्रो कल्याण छ’, सम्बोधनलाई टुङ्ग्याउँदै ज्ञानेन्द्रले भने ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google