माटोको समस्यासँग प्रविधि जोड्ने महावीरहरूको प्रयासप्रति सम्मान

नारायण गाउँले १२ श्रावण २०८०,१७:२८
post

नारायण गाउँले । के तपाईंलाई पनि महाबीर पुनको आविष्कार केन्द्रले 'बाँदर धपाउने' बन्दूक बनाएको सुन्दा मन अलिक खल्लो भएको थियो ? छिमेकी भारत मङ्गलग्रह ताक्दै छ, हाम्रो आविष्कार भने यस्तो छ भन्ने लागेको थियो ? मलाई थियो !

तर हिजो विद्या चापागाईंजीको 'हेर्ने कथा' आँखा र मन दुबैले पढ़ियो ! बीसौँ वर्षदेखि बाँदरले हदैसम्म सताएका बस्ती, बाँदर आतङ्ककै कारण तहसनहस बनेका गाउँ, समाज र जीवनहरू,  अनि यसको रोकथाममा निरीह राज्यसंयन्त्रको सानो चित्र थियो त्यहाँ तर त्यसभित्रको घाउ भने निकै निकै ठूलो थियो । 

प्रत्यक्ष नबेहोर्ने हरूका लागि झट्ट सुन्दा बाँदरले सताउनु सामान्य जस्तो लाग्न सक्छ । तर गाउँबस्तीहरू कति पीड़ित छन् र स्थिति कति भयावह छ भन्ने बुझ्नुभयो भने आविष्कारलाई आफ्नै माटोको समस्यासँग जोड्ने महावीरहरूको प्रयासप्रति सम्मान जाग्नेछ । 

सोच्नुस्, तपाईं पहाड़ी गाउँको बासिन्दा हुनुहुन्छ । अलिकति बारी र खेतबाहेक अर्को जीविकाको स्रोत छैन । यातायात, अस्पताल, कलेज, बजार त छोड्नुहोस्, पानीको स्रोत पनि घण्टौँ टाढा छ । आकासे पानीको भरमा जे उब्जिन्छ, त्यही तपाईंको हातमुख जोर्ने साधन हो । पौष्टिक आहार, ब्यालेन्स्ड डाइट, भिटामिनदेखि चाडबाड़ र उपचार खर्च पनि त्यही हो । 

तर, त्यही बारीमा फल्ने एक दाना फलफूल, एक गेडा गहुँ या एक मुठी साग पनि तपाईंले भित्ऱ्याउन सक्नुभएन भने जीवन कति कष्टकर होला ? एकपटक होइन, बर्सैभरि, अझ बीसौं वर्षदेखि यही अवस्था रह्यो भने के होला ? घण्टौँ टाढाबाट बोकेको पानी दिनदिनै कुनै शत्रुले घोप्ट्याइदियो, पकाएर बच्चालाई खुवाउन ठीक्क पारेको रोटी कसैले खोसेर लगिदियो, ऋण खोजेर किनेको चिनी, चामल र फलफूल पनि बट्टैसँग लुटेर लगिदियो र यो क्रम दिनदिनै दशौं वर्षसम्म चल्यो भने के होला ? 
तपाईं कसरी दैनिक गुजारा गर्नुहोला ? कसरी लालाबालालाई खुवाउनुहोला ? कुन पैसाले फाटेको कपड़ा फेर्नुहोला र बिरामी हुँदा कुन पैसाले उपचार होला ? तपाईंको जीवन कस्तो होला ? 

धेरै पहाड़ी गाउँहरूको अवस्था यस्तै रहेछ । बाँदरकै आतङ्कले बारीमा एक त्यान्द्रो अन्न उब्जाउन सकिन्न, तरकारी फल्न पाउँदैन, बोटमा फलफूलको दाना अडिन्न, ढुङ्गाको छानो उधिनिदिन्छ, केटाकेटी स्कुल आउँदाजाँदा कापीकिताब खोसिदिन्छ, आक्रमण नै गर्ने डर पनि हुन्छ । झोलामा खाजा बोकेर हिँड्न सकिन्न, घर आउँदा पाकेको खानासमेत खान नपाएर भोकै सुत्नुपर्छ । हिजो गहुँ हुन्थ्यो, कोदो हुन्थ्यो, केरा, आँप र अम्बाहरू फ़ल्थे, गाउँ हराभरा थियो । आज उजाड़ मरुभूमिजस्तो छ । 
एक दिन होइन, दुई दिन होइन, हरेक दिन यस्तो भएपछि कसरी बाँच्न सकिएला ? पहाड़का गाउँहरू यसरी निरीह बनेर, असहाय बनेर रित्तिँदै जाने हो भने, त्यहाँ उत्पादन शून्य बन्दै जाने हो भने देशको अवस्था के होला ? बाँदर नाच्ने जग्गा बिक्ने कुरो भएन, छोडेर जानेहरू कहाँ कसरी बाँचेका होलान् ? 

गाउँ छोडेर मान्छे विस्थापित भएका छन् । दुःख र पसिनाले बनाएका घरमा झार उम्रेको छ । तर खासगरी दलित र अति विपन्नहरूसँग गाउँ छोडेर अन्त जाने साधन, उपाय र बाटो पनि छैन । जति गाउँ खाली हुन्छ, त्यति त्यहाँ बस्नेहरूको जीवन कष्टकर बन्दै जाँदो रहेछ । 

हामी तारे होटलमा बसेर खाद्य सुरक्षाको कुरा गर्छौं, पौष्टिक आहारको कुरा गर्छौं, गाउँमा एउटा निस्तो रोटीले छाक टार्नुपर्छ, त्यो पनि बाँदरसँग बचाएर । सिंहदरबारको राजनीति, हाम्रो चासो र चिन्तासँग गाउँका ती पीड़ितहरूको कुनै सम्बन्ध छैन । हामी रवि लामिछानेको नागरिकतामा छ महिना बिताउन सक्छौं, एक क्विंटल सुनमा अर्को छ महिना बित्छ । संसद पनि यिनै मुद्दामा कहिले भाषण गर्छ, कहिले हड़ताल गर्छ । 

महाबीरहरू माटोबाट उठेका हुन्, माटोको समस्या, घाउ र चित्कार तिनले सुन्न सक्ने रहेछन् । दुनियाँले खिसिट्युरी गरेपनि तिनले त्यही घाउको उपचार कसरी हुन्छ भन्ने पहिले सोच्ने रहेछन् । मुटुभित्र नघोची यो कुरो बुझिन्न, महाबीरलाई बुझिन्न । अलिकति बुझाइदिनुभएकोमा विद्याजी प्रति ऋणी छु । 

त्यो छोटो हेर्ने कथाले मन निकै बिथोलेको छ । नयाँ-पुराना दल र शासकको मन पनि बिथोलिने हो भने केही उपाय निस्किन्थ्यो कि ? तपाईंले हेर्नुभयो ?

नारायण गाउँलेकाे फेसबुकबाट
 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: