गठबन्धनको हुकुमी चुनावी तालमेल : निरास छन् तलका कार्यकर्ता
रामबहादुर जिसी । स्थानीय निर्वाचनको समय नजिकिदै छ, दलहरु उमेदवार छनोटमा व्यस्त छन् । उमेदवारका आकांक्षीहरु आफ्नो पक्षमा निर्णय गराउन अन्तिम दवाव सिर्जना गर्दैछन् । यस पटकको निर्वाचन अलि फरक छ । हिजो स्वतस्फूर्त चुनावी तालमेल हुन्थ्यो, स्थानीय आवश्यकताका आधारमा दलहरु सहकार्य गर्दथे । आज त्यो अवस्था छैन । परमादेशबाट बनेको सरकार समर्थित दलहरु हुकुमी गठबन्धनको पक्षमा छन् र त्यही खालको निर्देशन दिइरहेका छन् । हुकुमी चुनावी तालमेलका कारण गठबन्धनमा रहेका दलका कार्यकर्ताहरुमा नैरास्यता छ । यस्तो पनि हुन्छ ? भन्दै उनीहरु भित्र भित्र मुर्मिरिएका छन्, हेरौला चुनावको दिन भन्दै कति तटस्थ बस्ने तयारी गर्दैछन् भने कति त पार्टी छोडेर निष्क्रिय हुने, अर्को पार्टीमा लागिरहेका छन् । जनताको चाहना, कार्यकर्ताको भावना भन्दा पनि मुख्य तीन ठुला नेताको जुंगा जोगाउनका लागि गठबन्धनले हुकुमी चुनावी तालमेललाई अनिवार्य ठानेको छ ।