काठमाडौं । बंगलादेशको ढाकास्थित नेपाली राजदूतावासले अत्यावश्यक कामबाहेक आफू बसेको स्थान र होस्टेलबाट बाहिर ननिस्कन नेपाली विद्यार्थीहरूलाई अनुरोध गरेको छ । राजदूतावासले कारणवश कलेज प्रशासनले होस्टेलबाट सुरक्षित स्थानमा जान वा आफू बसेको स्थान प्रतिकूल भएमा दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
राजदूतावासले नेपाली विद्यार्थी अध्ययनरत कलेजसँग निरन्तर सम्पर्कमा रहेको पनि जनाएको छ । बंगलादेशमा सरकारी जागिरमा रहेको कोटाको विरोध गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् । आन्दोलनका कारण ६ जनाको मृत्यु भएको छ । र अर्को सूचना जारी नभएसम्मका लागि बंगलादेशका विद्यालय र विश्वविद्यालय बन्द गरिएको छ । विशेषगरी मेडिकल शिक्षाका लागि नेपाली विद्यार्थी बंगलादेश जाने गरेका छन् ।
नेपाली राजदूतावास, ढाका
सूचना
बङ्गलादेशमा जारी कोटा विरोधी प्रदर्शनहरुमा भएका झडपका कारण बङ्गलादेश सरकारको शिक्षा मन्त्रालयले सम्पूर्ण सरकारी तथा नीजि विश्वविद्यालय र शैक्षिक संस्थाहरु अर्को सूचना जारी नभए सम्मका लागि बन्द रहने भनी गरेको निर्णयको सन्दर्भमा बङ्गलादेशमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरुलाई सुरक्षित रहन, अत्यावश्यक काम बाहेक होस्टेल वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आ-आफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्नुहुन अनुरोध गरिन्छ ।
साथै, कारणवश कलेज प्रशासनले होस्टेलबाट अन्य सुरक्षित स्थानमा जान निर्देशन दिएमा वा आफू बसेको स्थानमा सुरक्षा अवस्था प्रतिकुल भएमा यस राजदूतावासका देहायनुसारको नम्बरमा सम्पर्क र समन्वय गर्नुहुन अनुरोध छ ।
योजना बम्जन, द्वितीय सचिव: + ८८०१८८०६९१०१३
रिया क्षेत्री: + ८८०१७४५४०७९५८
यस राजदूतावासले विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको र सम्पूर्ण नेपाली विद्यार्थीहरुको शान्ति, सुरक्षा सुनिश्चित गर्न बङ्गलादेश सरकारका निकायहरु एवं सम्बन्धित कलेज प्रशासनसँग निरन्तर सम्पर्क एवं समन्वय गरिरहेको बेहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google