कांग्रेस नेताले नेवार समुदायको चिहान हडपेको लागेपछि संसदमा होहल्ला

दर्पण दैनिक २८ फाल्गुन २०८१,१३:२७
post

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले काठमाडौंको तारकेश्वर–९, लोकतान्त्रिक चोकमा रहेको नेवार समुदायको चिहानको जग्गा नेपाली कांग्रेसका नेताले हडपेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले तारकेश्वर–९, लोकतान्त्रिक चोक कब्जामा लिई भोगचलन गरेको आरोप लगाएका हुन्। उनले कांग्रेसका कुन नेताले हडपेको भन्ने चाहिँ खुलाएनन् । 

‍‘काठमाडौं क्षेत्र नं. ६ मा पर्ने तारकेश्वर– ९ को लोकतान्त्रिक चोकमा रहेको नेवार समुदायको चिहान रहेको जग्गा, नेपाल सरकारको नाममा रहेको जग्गा कित्ता नं. ६२/६३ नेपाली कांग्रसका नेताले कब्जामा लिई भोगचलन गर्दै आइरहेको र स्थानीयवासीको गुनासो र उजुरीको वाबजुद स्थानीय निकायले उक्त जग्गा संरक्षणमा ल्याउन कुनै पहल नगरेको आम गुनासो छ,’ उनले भने । 

रास्वपाकै अर्की सांसद सुमना श्रेष्ठले पनि उक्त जग्गाको बारेमा अनुसन्धान गर्न माग गरिन् । सांसदहरूको यस्तो आरोपपछि कांग्रेस नेताहरूले उठेर विरोध जनाएका थिए। सभामुख देवराज घिमिरेले तथ्यमा टेकेर मात्र अभिव्यक्ति दिनसमेत संसद्को ध्यानाकर्षण गराए ।

कांग्रेसका सांसद राजेन्द्र बजगाईंले सुरुमा उठेर आपत्ति जनाएका थिए। त्यसपछि कांग्रेसका अन्य सांसदहरूले पनि उठेर हल्ला गरे । उनीहरूले होहल्ला गरेपछि सभामुख घिमिरेले भने- ‘प्रतिनिधिसभामा वादविवादमा जाने होइन, आफूले उत्तरदायी र जिम्मेवार तरिकाले राख्नुहुनेछ भन्ने हाम्रो विश्वास छ । सार्वजनिक ढङ्गबाट संसद्को अगाडि तथ्यपरक ढङ्गले राख्नहुन्छ, राख्नुहुनेछ ।

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: