नारायण गाउँले ।
प्रिय कांग्रेस र एमाले युवाहरू,
देशकै शिर झुक्ने गरी भएको यो सङ्गीन अपराधमा पहरो भनेका देउबा र ओली नै हुन् ! अहिलेसम्म प्रहरीले तानिरहेको लहरोमात्रै हो ! तिनको छटपटी, भागम्भाग, चिटचिट पसिना, अन्ट-सन्ट बयान, आन्दोलनको धम्की, बचाउका दौड़धूप र लेनदेनका भद्दा बैठक कतिञ्जेल टुलुटुलु हेरिरहनुहुन्छ ? कतिञ्जेल आत्माको आबाज दबाएर दास बनिरहनुहुन्छ ? अझै तिनको जुठो प्रसाद खाएर राजनीतिको वैतरणी तर्न सकिने भ्रम कति पालिरहनुहुन्छ ?
पार्टी भनेको तपाईंको मात्रै होइन, देशकै सम्पत्ति हो । देशका लागि, अहिलेको पुस्ताका लागि र झन् बढ़ी तपाईंको आफ्नै आत्माका लागि अलिकति विवेक र आत्मबल देखाउनुहोस् र पार्टीलाई मुक्त बनाउनुहोस् ! डुङ्गा डुब्दै गरेको बेला एकले अर्काको डुङ्गा डुबेको हेरेर ताली बजाउने होइन, आफ्नो डुङ्गाको प्वाल टाल्ने हो, डुङ्गाभित्रको गह्रुँगो फोहोर झिकेर फाल्ने हो ! सबैथोक बचाउन सकिने अवस्था छैन भने काम लाग्ने गतिलो चीज बचाउनु बुद्धिमानी हुन्छ ।
यो तपाईंको जीवनमा अन्तिम मौकामात्रै होइन, ठूलो अवसर पनि हो ! तपाईंसँग भएको आँखा खोल्नका लागि हो र जिब्रो बोल्नका लागि हो ! लाचार, सुनसान र पाउपुजारी भएर नसकिनुहोस् ! बिन्ति छ, अँध्यारोले खर्लप्पै निलिहाल्नुअघि एउटा नयाँ, स्वच्छ र भविष्यको आस्था बोक्न सक्ने कांग्रेस-एमाले लिएर उठ्नुहोस् !
(फेसबुकबाट)
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google