इमेजका वचतकर्ता रकम फिर्ता पाएर खुशी थिए (विचार)

प्रतिमान पौडेल १८ जेष्ठ २०८०,०६:२६
post

प्रतिमान पौडेल । दिनभर काममा व्यस्त भइयो, सांझ पख बजारतिर यसो घुम्दै थिए, बाटोमा केही मान्छेहरु देव कुमार नेपाली आएछन्, पैसा दिन थालेछन्, ल राम्रो भयो भन्दै कुरा गरिरहेको सुने । त्यो सुनेपछि मलाई होला कि नहोला ? भन्ने मनमा लाग्यो त्यही पनि बुझौ न भन्दै म पनि इमेजको कार्यालयतिर लागे । साझ परिसकेको थियो । तल खासै मान्छे थिएनन्, होइन होला ? बाटोमा यसै मान्छेले कुरा गरेका रहेछन् भन्ने लाग्यो । त्यै पनि एकपटक माथि कार्यालयसम्म त पुगौ भन्ने लाग्यो र माथि उक्ले । दोस्रो तलामा रहेको कार्यालयमा जादा कार्यालय परिसरमा थुप्रै मान्छेहरु देखिए । इमेज बन्द हुदा निकै आक्रोशित रहने गरेका वचतकर्ताहरु यतिबेला निकै शान्त देखिन्थे, खुशी पनि देखिन्थे । कार्यालय भित्र कर्मचारीहरु पहिलेको जस्तै गरी आफ्नो काममा व्यस्त देखिन्थे, मैले यता उता हेर्दै गर्दा अलि पर देव कुमार नेपाली बसेको देखे ।     

देव कुमार नेपालीसंग केही वचतकर्ताहरुले खुसुर फुसर गरेको देखिन्थ्यो । साच्चिकै आफुले वचत गरेको रकम जोखिममा प¥यो भनेर चिन्तित भएका वचतकर्ताको खुशी देखेर म पनि असाध्यै खुशी भए । मेरो नजिकै रहेका एकजनालाई सोधे, पैसा पाउनु भयो त ? उनले हामीले ५० प्रतिशत पैसा पायौ, अब ५० प्रतिशत ६ महिनाभित्रमा भुक्तान गर्छु भन्नु भएको छ । सोचे, देवकुमार नेपालीले जेठ १ गते गरेको प्रतिवद्धता पुरा गरेछन् । फेरी अर्कोलाई सोधेकोसम्पर्क विहिन भएपछि निकै चिन्ता लागेको थियो, फर्केर आउनु भयो र पैसा फिर्ता गर्दा त सारै मन खुशी भएको छ, सबै मान्छे बदमास कहा हुन्छन् र ? उनले पनि खुशी व्यक्त गरे ।     

मैले हेर्दा हेर्दै इमेजका धेरै वचतकर्ताले रकम झिकेर लगे, कसैले समय थप गरिदिए, कसैले केही रकम मात्रै लगे । साच्चिकै सहकारी बन्द हुदा चिन्तामा रहेका वचतकर्तादेखि सहकारीको पैसा फिर्ता होस् भन्ने चाहना राख्ने, कामना गर्ने र लविङ गर्ने सबैका लागि यो खुशीको खबर थियो ।     
    
देवकुमार नेपालीलाई भेटेर धन्यवाद भनौ जस्तो लागेको थियो, फेरी मेरो खासै चिनजान, बोलचाल पहिला पनि भएको होइन, मैले इमेजमा पैसा राखेको पनि छैन, भेटका क्रममा तपाईलाई त चिनिन नि ? भन्लान कि भन्ने पनि लाग्यो र म मेरो बाटो लागे । 
    
 बाटोमा जादै गर्दा भेटिएका र चिनेकाहरुलाई इमेजले रकम फिर्ता गर्न लागेको सुखद समाचार सुनाए, कतिले त विश्वासै गरेनन्, कतिले अलिअलि विश्वास गरे । इमेज बन्द हुदा चर्काे चर्काे नारा लगाउने, सहकारी डुब्यो, पैसा जोखिममा भन्दै फेसबुकमा पोष्ट गर्नेहरु पनि यो बेला कतै देखिएनन्, मैले यसो सोचे गलत कुरापो मान्छेलाई छिटो बजारमा लैजाउनु पर्ने रहेछ, राम्रो कुरा त वास्ता हुदो रहेन्छ भन्ने लाग्यो । 
    
इमेजमा समस्या आउदा मेरो पैसा जोखिममा परेको थिएन, तर मलाई ति सबै वचतकर्तालाई जत्तिकै चिन्ता थियो, किनकी हामी सामान्य मान्छेहरुले रकम जम्मा गर्नका लागि धेरै मेहेनत गर्नुपर्छ, खाइ नखाई गरेको रकम सुरक्षाका लागि, ब्याजका लागि सहकारी, बैक तथा वित्तीय संस्थामा राखिन्छ, त्यो रकम आफुलाई चाहिएको बेलामा नपाउने अवस्था रहदा मात्रै त कस्तो हुन्छ भने पाउने कि नपाउने अनिश्चित हुुदा त झन कति गाह्रो हुन्छ । आज इमेजले पैसा फिर्ता गर्दा पनि ति वचतकर्ताहरु जत्तिको खुशी भएका छन्, मेरो मन पनि त्यत्तिकै खुशी भएको छ । 
    
कतै लेखेको देखेको थिए, कसैलाई समस्या पर्दा खुशी हुनु भयो भने तपाई अझै पूर्ण मानव हुनु भएको छैन, कतै कसैलाई सफलता प्राप्त हुदा तपाईको भित्री मनमा डाह लाग्छ भने पनि तपाई पूर्ण मानव भइसक्नु भएको छैन, त्यसैले म आफुलाई मानवको कोटीमा पार्न उद्दत छु, कसैलाई दुख पर्दा बल्ल खाइस र कसैको सफलतामा थुक्क भन्ने सोच मेरो मनमा आउदैन, साच्चिकै आज ५० प्रतिशत पैसा पाएर इमेजका वचतकर्ता जति खुशी छन्, म पनि त्यत्तिकै खुशी छु ।     

भित्र भित्र मनमा खुशी थियो, अलि पर चिया पसलमा केही मान्छेहरु गफिएको देखेर म पनि त्यतै लागे । चियाको सुर्कीसंगै त्यहाँ पनि इमेजकै कुरा थिए, कसैले पैसा दिएकै हो त ? भन्दै प्रश्न गरिरहेका थिए भने कसैले होइन होला, यो हल्ला हो । देव कुमारले फेरी वचतकर्तालाई झुक्याउने खेल खेल्दैछन् भन्दै थिए ।     

पैसा त दिएछन्, म त्यही गएर आएको भनि सुनाइदिए । सबै आआफ्नो तरिकाले सोच्ने बोल्ने नै गर्दछन् नै । देव कुमारले पैसा फिर्ता गर्छन् भन्ने त मलाई पहिल्यै लागेको थियो भन्दै एकजनाले कहानी शुरु गरे । उनले भन्दै गए, देव कुमार नेपाली मनका धनी हुन, उनले धेरैको उद्धार गरेका छन्, गरिवीबाट उठेको मान्छे हुन्, उनले दुखी गरीवहरुका लागि गरेको जस्तो काम अरुले गर्न सकेका छैनन्, अझ विशेष गरी दलित परिवारका मान्छेहरुलाई त उनले झन धेरै सहयोग गरेका छन् । उनको कुरामा धेरैले सहमति जनाए ।     

तर एकजनाले त्यसको प्रतिवाद गर्दै मन सफा थियो भने यत्रा दिन भागेर जनतालाई किन तनाव दिएका त ? उनले नियत नै खराव थियो, सहकारीका नाममा उनले जे गरिरहेका थिए, त्यो व्यक्तिगत सम्पत्ती कमाउनका लागि गरेका रहेछन् भन्ने कुरा उनको व्यवहारले पुष्टी गरेको छ । पैसा फिर्ता गर्न नसकेर सम्पर्क बिहिन हुने कुराले नै उनी इमान्दार थिएनन भन्ने पुष्टी हुन्छ । अर्को एकजनाले फेरी थपे ५० प्रतिशत मात्रै त पैसा दिएका हुन्, अझै ५० प्रतिशत कसरी दिन्छन् ?
    
उनीहरुका कुरा सन्दै गर्दा मैले चिया खाइसकेको थिए, अब उनीहरुको कुरा सुन्ने भन्दा पनि घर जादा ठिक हुन्छ भन्ने सोचर म घर जानका लागिहिडे । घरमा पुगेर बुडीलाई इमेजको कुरा सुनाए । उनी पनि निकै खुशी भइन, उनलाई पनि देव कुमारले पैसा फिर्ता दिएनन् रे, भागे रे भन्ने कुराले चिन्ता लागेको बताइन । दुख गरेर कमाएको पैसा डुब्यो रे भन्दा कस्तो दुख लागेको थियो, जे भए पनि आएर पैसा फिर्ता गरेछन्, खुशी लाग्यो भन्दै उनी भान्सातिर लागिन मैले ल्यापटप खोलेर इमेजले वचतकर्ताको पैसा फिर्ता गरेको खबर पोष्ट गर्न तर्फ लागे । ल्यापटप खोलेर नेपालीमा टाइप गरी यूनिकवर्ड बनाएर फेसबुक पेजमा पोष्ट गर्ने तयारी गर्दै थिए, ....चिया पाकी सक्यो उठ्नुस, भन्ने बुडीको चर्को आवाजले झसंग बिउझिए । बुडीले चियाका लागि बोलाएको आवाजले मेरो निद्रा खुल्यो, क्या मजाको सपना देख्दै थिए, तिमले मलाई बिउझायौ भन्दै उठे ।     

पाका पुराना मान्छेले बिहान पखको सपना लाग्छ भन्छन्, के साच्चिकै मैले देखेको सपना अनुसार नै देव कुमार नेपालीले वचतकर्ताको पैसा यसैगरी फिर्ता गर्लान ? प्रहरी प्रशासनले उनलाई खोजेर दुख गरेर रकम जम्मा गरेका वचतकर्ताको रकम फिर्ता गराउन गंभिरताका साथ लागोस ।     

सोझा साझा मान्छेहरुले खाइ नखाई जम्मा गरेको रकम सहकारीमा छ, सहकारीका सञ्चालकहरुले जनताले जम्मा गरेको पैसालाई आफ्नै जस्तो गरी नियत विपरित प्रयोग गरेका कारणले आज देशभर समस्या देखिएको छ । सहकारीहरु प्रति नै मान्छेमा एकखालको अविश्वास सिर्जना भएको छ । राम्रो गरेका, आफ्ना सदस्यहरुसंग मात्रै कारोबार गरेका, सदस्यहरुलाई मात्रै ऋण लगानी गरेका सहकारीहरुलाई पनि यस्तै सहकारीका कारण वचत फिर्ता गर्न गाह्रो पर्दै गएको छ । 

बागलुङमा शिव शिखर समस्यामा परेपछि इमेज पनि यस्तै हो, यो पनि डुब्छ भन्नेहरुले बजार हल्ला गरिदिए, शेयर सदस्यहरुसंग कारोबार नगरी वचतकर्ताहरुसंग कारोबार गरेका कारण वचतकर्ताहरु एकैपटक रकम फिर्ता गर्न जाँदा समस्या देखियो, यसरी एकैपटक धेरै मान्छे पैसा लिन जादा अरु कसैले पनि फिर्ता दिन सक्ने अवस्था रहदैन ।     
    
सहकारीका सञ्चालकहरुले बुझ्न पर्ने कुरा के हो भने सहकारीले वचत तथा ऋणको कारोबार आफ्ना शेयर सदस्यसंग मात्रै गर्ने हो । शेयर सदस्य नबनाइन रकम जम्मा गर्ने गर्दा वचतकर्ताहरुले केही समस्या आयो कि ? लाइन लाग्ने अवस्था रहन्छ । तर शेयर सदस्यहरु बनाएर कारोबार गरेको संस्थामा सदस्यहरुले यस्ता कुरा बुझ्छन् र बुझ्नु पर्छ ।     
    
सदस्यहरुले आफु शेयर सदस्य भएको संस्थामा जम्मा गरेको वचत रकम संस्थाले सदस्यहरुलाई लगानी गरेको छ कि ? सञ्चालकहरुले आफु््ना लागि प्रयोग गरेका छन् भन्ने कुरा बुझ्नु पर्छ । सदस्यलाई समस्या पर्दा सहकारीले सहयोग गर्नु पर्छ र सहकारीमा समस्या आउदा सदस्यले सहयोग गर्नु पर्छ । यसरी मात्रै सहकारी राम्रोसंग सञ्चालन हुन्छ ।             
    
वित्तीय क्षेत्रमा देखिएको संकटपूर्ण अवस्थाका कारण आज साना व्यवसायीहरु आफ्नो व्यवसाय छोडेर गाउँ र विदेश पस्ने तयारीमा छन् । साना मझौला व्यवसायी आफ्नो व्यवसाय छोडेर हिड्ने अवस्था सिर्जना हुनुमा धेरै कारणहरु मध्ये सहकारीमा देखिएको समस्या पनि एक हो । त्यसैले सहकारीमा देखिएको समस्या समाधानका लागि सबै सरोकारवालाहरु गंभिरताका साथ लाग्नु पर्छ । 
    
 

सम्बन्धित खबर

post

बोयर बाख्रा गरिबको धन

१५ माघ २०७९,१६:५४
post

उमेर, संगत अनि म

१० चैत्र २०७९,०७:३२
post

हिंसा रोकौँ, सभ्यता बोकौँ

२१ मंसिर २०८०,१९:३९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: