वास्तविकता नबुझी अतिरञ्जित गरियाे : लिखुपिके गाउँपालिका

दर्पण दैनिक ३ असार २०८२,०९:५८
post

सोलुखुम्बु । लिखुपिके गाउँपालिकामा जनप्रतिनिधिहरूले अनुगमन प्रतिवेदन बिनै भत्ता लिएको खबर विभिन्न सामाजिक सञ्जाल लगायतका मिडियाहरूमा बाहिरिएपछि गाउँपालिकाले प्रेस विज्ञप्ति जारी गरेको छ । 

"हामी जनप्रतिनिधि इमान्दारपूर्वक पारदर्शिता र अनुशासनप्रति प्रतिबद्ध भएर काम गरिरहेको सबैजनालाई आश्वस्त पार्न चाहन्छौं" प्रवक्ता मणिराज बस्नेतको हस्ताक्षर सहितको जारी प्रेस विज्ञप्तिमा भनिएको छ । त्यस्तै पालिका अध्यक्षको व्यक्तिगत फोटो राखेर बदनाम गर्न खोजिएको प्रयासप्रति पालिकाको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्ताे छ, प्रेस विज्ञप्ति

मुलुक संघिय संरचनामा गएसँगै तीन तहका सरकारले जनताको सेवा र मुलुकको सम्वृद्धिको लागि कार्य सम्पादन गर्दै आईरहेको विदितै छ । मुलुकका व्यवस्था परिवर्तनसँगै नागरिकका अधिकारका दायराहरु बढ्दै गएका छन् भने विकास प्रतिका अपेक्षा पनि वृद्धि हुँदै गएका छन् ।

सिमित श्रोत साधन र अधिक नागरिक अपेक्षा विचमा तालमेल हुन नसक्दा वर्तमान व्यवस्था र जनप्रतिनिधि प्रतिको आक्रोस बढ्दै गईरहेको स्वभाविक हो । यही शिलशिलामा सकारात्मक काम र उपलब्धिहरु धेरै नै भएका छन् तर यस्को चर्चा गर्नु भन्दा वास्तविकता नबुझि नकारात्मक कुराहरुलाई अतिरन्जित तवरले सनसनिपूर्ण बनाउनु विडम्बनापूर्ण कुरा हो । 

यही सन्दर्भमा यस लिखुपिके गाउँपालिकाको अघिल्लो आ.व. को म.ले.प. प्रतिवेदनमा पदाधिकारीहरुले अनुगमन भत्ता बुझेको विषयलाई केहि सामाजिक सञ्जाल प्रयोग कर्ताले विषयलाई तोडमोड गरि सैद्धान्तिक बेरुजु (नियमित गर्नु पर्ने) भएको विषयमा सिंगो गाउँपालिकालाई प्रहार गर्ने नियतका साथ पालिका अध्यक्षको व्यक्तिगत फोटो राखेर उहाँको बदनाम गर्ने मनसायका साथ गरिएको प्रयास प्रति पालिकाको गम्भिर ध्यानाकर्षण भएको छ । 

पालिकाका पदाधिकारीहरुले लिएको अनुगमन भत्ता कोशी प्रदेश सरकारले निर्धारण गरे बमोजिम कोशी प्रदेश भरिकै पालिकाका पदाधिकारीहरुले स्थानीय तह गठन भएदेखिनै बुझ्दै आएको स्पष्ट पार्न चाहान्छौं । पालिकाका तत्कालिन कर्मचारीहरुको प्राविधिक त्रुटिका कारण अनुगमन प्रतिवेदन म.ले.प. मा पेश गर्न छुटाएकाले नियमानुसार लिएको रकम सैद्धान्तिक बेरुजु मात्रै भएको कुरा स्पष्ट पार्न चाहान्छौं। कमिकमजोरी कस्को हो नबुझि जनप्रतिनिधिलाई आक्रमण गरि सस्तो प्रचार गरेको प्रति गाउँपालिका खेद प्रकट गर्दछ । हामी जनप्रतिनिधि ईमान्दारपुर्वक पारदर्शिता र शुसासन प्रति प्रतिबद्ध भएर काम गरिरहेको सबै जनतालाई आश्वस्त पार्न चाहान्छौं ।

तसर्थ पालिकामा कुनै भ्रष्टाचार नभएको र जनप्रतिनिधिले एक रुपैंया पनि तलमाथि नपारेको स्पष्ट पार्दै कुनै भ्रममा नपर्न अनुरोध गर्दछु । कुनै पनि स्वार्थ समुहको नकरात्मक अभिप्रायले बदनाम गराउने अभिष्ट पुरा हुन नदिन गाउँपालिका प्रतिबद्ध छ ।

मणिराज बस्नेत
(प्रबक्ता)
 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: