३० वर्ष शिक्षण पेसामा बिताएकी गाउँपालिका अध्यक्ष मिना कार्की

दर्पण दैनिक १६ फाल्गुन २०७९,०९:०८
post

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको परिणामले आम नागरिकले परिवर्तन खाँचो भएको संकेत गरेका छन । देशका ठुला पार्टी र बलिया मानिएका नेताहरुलाई धक्का दिँदै लौरो निर्वाचन चिन्ह लिएर चुनावमा होमिएका धरान उपमहानगरपालिकाबाट हर्क साम्पाङ, काठमाडौं महानगरपालिकाबाट बालेन शाह (बालेन्द्र) लगायतका स्वतन्त्र उम्मेदवारहरुले बाजी मारेका छन । यसले आम नागरिकमा पार्टीप्रति बितृष्णा अनुभुति भएको देखाएको छ भने युवा पुस्तालाई राजनीतिमा ल्याउन प्रेरित गरेको छ । त्यस्तै विभिन्न पार्टीभित्रका दम्भ र शीर्षस्थ नेताहरुको स्वार्थलाई समेत उदाङ्ग बनाएको छ । स्थानीय तहको निर्वाचनले नेतृत्व सचिन र आगामी मङ्सिर ४ गते हुने आसन्न चुनावमा सहि उम्मेदवारको टुंगो लगाउन राजनीतिकर्मीलाई अवसर पनि दिएको छ । यसपटकको स्थानीय तहको निर्वाचनमा राज्यले पछि पारेका अल्पसंख्यक, महिला, दलित समुदायले पनि पालिका तथा वडाको नेतृत्व गर्ने अवसर प्राप्त गरेका छन । यस्तै प्रदेश नम्बर एक अन्तर्गत सोलुखुम्बु जिल्लाको लिखुपिके गाँउपालिकामा महिला नेत्री निर्वाचित भएकी छन । निवर्तमान अध्यक्ष नेकपा माओवादीका उम्मेदवार डम्बरबहादुर बस्नेतलाई परास्त गर्दै नेपाली कांग्रेसबाट उम्मेदवार दिएकी मिना कार्की बस्नेत लिखुपिके गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएकी हुन् । उनले लगभग तीन दशक शिक्षण पेसामा बिताएकी थिइन् ।प्रस्तुत छ उनै नवनिर्वाचित अध्यक्ष मिना कार्की बस्नेतसँग दर्पण दैनिकले गरेको छोटो कुराकानी:

 

महिला नेत्री हुँदाको अनुभव बताईदिनुस न ?

अहिलेसम्म हाम्रो पालिकामा माहिलाहरु प्रमुख नेतृत्वमा आएका छैनन् । हामी पितृसत्तात्मक पृष्ठभुमिबाट आएका भएपनि यस पालिकामा त्यस्तो नराम्रो असर परेको छैन । त्यसैले मलाई एकदम खुसी लागेको छ । राष्ट्रपति पनि महिला नै हुनुहुन्छ । म पनि नेतृत्व सम्हाल्न सक्छु भनेर नै चुनवमा होमिएको थिएँ । लिखुपिकेवासी जनताले अमुल्य मत दिएर म लगायत हाम्रो पार्टीलाई विश्वास गरेर जिताउनु भएको छ । त्यसका लागि म धन्यवाद दिन्छु । त्यस्तै म नेत्री भएर मात्रै पनि हुँदैन । काम पनि गर्न सक्नुपर्छ । कामका आधारमा मात्रै सबै कुरा थाहा हुन्छ । हामी अहिले सुरुवातमा नै छौं । महिलाले के गर्न सक्छन् भन्ने कुरा आगामी दिनमा थाहा हुने कुरा हो । काम गरेर बोल्ने हो, बोलेर सुनाउने होइन । कुरा गर्नेले काम गर्न सक्दैनन् । त्यसैले म चाँही काम गर्नका लागि आत्मबलका साथ लागिरहेको छु ।


शिक्षण पेसामा कति वर्ष बिताउनुभयो ?

अस्थायी र स्थायी गरेर लगभग ३० वर्ष जति शिक्षण पेसामा बिताएँ । शिक्षण पेसाको अवधि पुगेपछि यो पेसाबाट अवकाश लिएँ । त्यसपछि मानव भएर जन्मेपछि केही त गर्नुपर्छ भन्ने लाग्यो । त्यसमा पनि यही गाउँ समाजमा केही सेवा गर्नुपर्छ भनेर राजनीतिमा लागेकी छु । यस लिखुपिके गाउँपालिकामा सुशासन भन्ने कुरा अत्यन्तै न्यून देखिएकोले त्यसलाई केही न केही व्यवस्थापन गर्न सकिन्छ कि भनेर म आएकी हुँ ।


चुनौतीहरु नि ?

हिँजो शिक्षण पेसामा हुँदा पनि प्रशस्तै चुनौतीहरु थिए । आज राजनीति क्षेत्रमा छु । यहाँ पनि धेरै नै चुनौतीहरु छन । ती चुनौतीलाई बिस्तारै पार गर्दै जानुपर्छ । यही गाउँसमाजको विकासको लागि काम गर्दा जस्तोसुकै चुनौतीहरु आएपनि सामना गर्न तयार भएर बसेकी छु । कोही जनप्रतिनिधि जनताले गाली गरे भन्छन् त्यो एकदम गलत हो । सबै मानिस सयमा सय नै सक्षम हुन्छन् भन्ने पनि होईन । केहि कमिकमजोरी हुन सक्तछन । त्यसलाई सुधार गर्नु आम जनताबाट सल्लाह सुझाव सहितको जनगुनासो आउन सक्छ । त्यो स्वीकार्नु पर्छ । यसरी जनगुनासो आउनु भनेको केही कुरा बिग्रेको छ अथवा बिग्रिदैँ छ है भन्ने जानकारी हो । त्यसलाई गालिका रूपमा नभै सुझावका रूपमा लिनुपर्छ । त्यसैले मैले राय, सल्लाह, सुझव र सहयोग गरिदिनुस भनेर लिखुपिकेवासीलाई भनिरहेकी छु ।

महिला नेत्री भएको नाताले महिलाहरूलाई के भन्नुहुन्छ ?

टोलटोलबाट वडावडाबाट महिला जागरण कार्यक्रम ल्याउन आवश्यक छ । अहिलेसम्म पनि हाम्रो समाजका अधिकांश महिलाहरू सक्षम हुनुहुन्न । घरपरिवारले पनि महिलाहरुलाई छुट दिनुहुन्न । हामी पितृसतात्मक समाज र संस्कृतिबाट आएका मान्छे हौं । पितृसत्तात्मक संस्कृतिलाई मान्न बाध्य छौँ । यसभित्रका सबै कुरा नराम्रो भन्ने पनि छैन । पितृसतात्मक भित्रको पनि केही कुरा मान्नुपर्छ साथै नकारात्मक असर पर्ने कुरा त्याग्दै जानुपर्छ । महिलाहरुमा चेतनाको अभाव छ । टोलटोलका महिलाहरुलाई शुन्यबाट नै सशक्तीकरण गर्न आवश्यक छ । त्यसपछि मात्रै महिलाहरुमा पनि स्थानीय तह, जिल्ला तह तथा प्रदेश र केन्द्रिय तहमा नेतृत्व गर्ने विकास हुन्छ । त्यसका लागि महिला सशक्तीकरणका तालिमहरु दिने हाम्रो घोषणापत्रमा पनि थियो र त्यसलाई कार्यान्वयन गर्ने तयारीमा छौं ।


तपाईंको कार्यकालपछि लिखुपिकेका नागरिकहरुले के पाँउछन ?

यहाँका जनताहरुले सुशासन, दिगो विकास, पारदर्शिता साथै भ्रष्टाचार न्यूनीकरण भएको पाँउनेछन् । यसका लागि सदैव सल्लाह, सुझाव र सहयोगको अपेक्षा राखेकी छु ।

(*पुन: अपलाेड गरिएकाे)

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: