पाल्पा । व्यक्ति एक ठाउँअनुसार उसको भूमिका अनेक हुन सक्छन् भन्ने उदाहरणीय बनेकी छन् बन्दना पोखरेल । पत्रकारिता, सामाजिक अभियान्ताको रूपमा पाल्पामा राम्रो पहिचान बनाएकी पोखरेलको परिचय हिजोआज उद्यमीसँग जोडिएको छ ।
पाल्पामा सक्रियरूपमा पत्रकारितासँगै महिला सशक्तीकरण, महिला हिंसाविरुद्ध सशक्तरूपमा नेतृत्व गर्दै आएकी पोखरेल यतिबेला अचार उद्यमीको रूपमा कहलिएकी छन् । पत्रकारिता गर्ने क्रममा गाउँघरका महिला, किसान, अन्याय, हिंसा, समानता, सशक्तीकरणका कुरामा कलम चलाउने र उनीहरूका आवाजलाई मिडियामा ल्याउने क्रममा आफू पनि यसबाट प्रभावित भएर व्यवसायमा होमिएको उनले बताइन् । १ वर्षअघिदेखि उनले रामपुरमा अचार उत्पादन शुरू गरेकी छन् ।
पारिवारिक अवस्था अब्बल रहे पनि आफ्नो व्यवसायबाट अरु महिलाले पनि सिको गरुन् भनेर आफैंले व्यस्त समयका अलवा व्यावसायिक अचार उत्पादन शुरू गरेको उनले बताइन् ।
‘महिलालाई सशक्तीकरण गर्न, रामपुरको उत्पादन बाहिर चिनाउन र फुर्सदको समय सदुपयोग गर्दै यस व्यवसायमा लागेको छु,’ उनले भनिन्, ‘अहिलेको बजार अवस्था राम्रै रहेकाले उत्पादन वृद्धि गर्दै जाँदा यसबाट मनग्य आम्दानी लिन सकिने सम्भावना १ वर्षको अनुभवले मैले देखेको छु ।’
घरेलु तथा साना उद्योग कार्यालय पाल्पामा ‘भान्छाको साथी दिदीको अचार’ नाममा उद्योग दर्ता गरी व्यावसायिक उत्पादन शुरू गरेकी छन् ।
मुला, गाँजर, गुन्द्रुक, भटमास, तामा, अकबरे खुर्सानी, मेथी, लसुन, आँप, अमला, इमिली, लप्सी लगायतका गाउँघरमा उत्पादन हुने कृषिउपजबाट विभिन्न खालका अचार उत्पादन गर्छिन् । होलसेल मूल्य हाल (तौलअनुसार फरक) न्यूनतम ११० देखि बढीमा २५० र खुद्रा मूल्य न्यूनतम १३५ देखि ३०० रुपैयाँमा धमाधम बिक्री भइरहेको छ ।
उनी भन्छिन्, ‘अचारको माग धेरै आएको हुँदा यसलाई विस्तार गरी ठूलो मात्रामा उत्पादन गर्ने तयारी गरिरहेको छु, ल्याब टेस्टको लागि भैरहवा पठाइएको हँुदा त्यसको रिपोर्ट आएपछि उत्पादन बढाएर विभिन्न स्थानमा ब्राण्ड बनाएर बजार पठाइनेछ ।’
पाल्पा (तानसेन), बुटवल, काठमाडौंमा समेत अचार खपत हुने गरेको छ । स्थानीय उत्पादन भएकाले विभिन्न स्थानबाट खोजी खोजी अचार माग गर्ने बढेको उनी बताउँछिन् । स्थानीय उत्पादनको स्वाद फरक र गुणस्तर राम्रो भएकाले विदेशमा बसोबास गर्ने नेपालीबाट माग भई विभिन्न देशमा अचार पुगेको उद्यमी पोखरेलले बताइन् ।
कोभिड–१९ को प्रभावले बन्दाबन्दीको समयलाई सदुपयोग गर्दै केही नयाँ उद्यम गरौं भन्ने मनसायले यस व्यवसायमा सीप सिकेर उत्पादन शुरू गरेको उनको भनाइ छ । उद्यमी पोखरेलले काठमाडौंको बूढानीलकण्ठमा रहेको रिक फूड उद्योगमा ५ दिनको तालिम लिएर व्यावसायिक उत्पादनलाई जोड दिएकी हुन् ।
‘न्याय र समानता, आर्थिक समृद्धिका लागि महिलाको अर्थपूर्ण सहभागीता हुनु जरुरी छ, महिला आफैंमा आर्थिक क्षेत्रमा सक्षम भइएन भने घरपरिवार, समाजमा हिंसाको शिकार बन्नुपरेको छ, आफैंले कमाउन सकियो भने अरुसँग आश्रित हुनुपरेन, यसले महिला हिंसाका घटना कमी हुँदै जानेछ,’ उद्यमी पोखरेलले भनिन् । - सुशीला रेग्मी, रासस
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google