तीन वर्षदेखि सञ्चालनमा रहेको रेस्टुराँमा हाल २० जना कर्मचारी छन् । व्यवसाय सुरु गरेको पहिलो दुई वर्ष निकै समस्या भोगेको रेस्टुराँ आर्थिक वर्ष २०७८-७९ मा भने लगानीकर्तालाई पाँच प्रतिशत लाभांश दिन सफल भएको अध्यक्ष गुरुङको भनाइ छ ।
सङ्ख्या विज्ञानमा अङ्क ९९ एउटा चक्रको अन्त्य र अर्को चक्रको सुरुवात हो । गणना विधिमा दुई अङ्कको चक्र ९९ सकिन्छ र तीन अङ्कको चक्र सुरु हुन्छ । धार्मिक हिसाबले अङ्क ९९ लाई प्रतिकात्मक रूपमा विभिन्न सकारात्मक विषयसँग जोडेर हेर्ने गरिन्छ । एकता, प्रतिवद्धता, कार्यसफलतालगायतका भाव र अर्थको सङ्केत यो अङ्कले दिन्छ ।
९९ जना महिलाले पर्यटकीय नगरी पोखरामा सञ्चालन गरेको व्यवसाय ‘रोयल दिदीबहिनी किचन’ यस्तै प्रतीकात्मक बिम्ब हो । जसले निकै खराब समयबाट गुज्रिएर आशाको प्रकाश बालेको छ र यो महिला सशक्तिकरणको ज्वलन्त उदाहरण बनेको छ । गृहणीदेखि विभिन्न पेसा व्यवसायमा जोडिएका महिला एकताबद्ध भएर केही फरक, चुनौतीपूर्ण र नमुना काम गर्ने प्रयासमा छन् ।
पोखरा महानगरपालिका-१० को बुद्ध चोकमा महिलाहरूको सामूहिक प्रयासमा साढे दुई करोड लगानीमा रेस्टुराँ सुरु भएको हो । उनीहरू सबै पोखरा ‘रोयल बचत तथा ऋण सहकारी’मार्फत एकापसमा जोडिए । कम्पनी ऐनअनुसार निजी कम्पनी दर्ता गरे र रेस्टुराँ तथा बैंक्वेट चलाए ।
महिला सशक्तिकरणका लागि केही फरक गर्नुपर्छ भन्ने लागेरै आफूहरूले रेस्टुराँ सुरु गरेको सञ्चालक रुद्रकुमारी गुरुङ बताउँछिन् । पोखरा रोयल बचत तथा ऋण सहकारीमा अध्यक्ष गुरुङकै नेतृत्वमा महिलाहरू एकजुट भई दिदीबहिनी किचन स्थापना गरेका हुन् ।
‘सहकारीमा उपाध्यक्ष हुँदा मैले दिदीबहिनी किचनको नेतृत्व गरेको हुँ । विभिन्न अध्ययन अवलोकन र भ्रमणमा आउनेका लागि कार्यक्रम सञ्चालन गर्न र सँगसँगै खाना खान मिल्ने ठाउँको आवश्यकता महसुस भएपछि रेस्टुराँ सुरु गरेका हौँ', गुरुङले भनिन् ।
महिलाहरू एकताबद्ध भएर भई सञ्चालन गरेको यो व्यवसाय आफैँमा उदाहरणीय भएका कारण विभिन्न क्षेत्रका महिला समूह र सहकारी संस्थाका सदस्यहरू अध्ययन तथा अवलोकनका लागि आउने गरेको उनको भनाइ छ । रोयल दिदीबहिनी किचनमा पोखरा रोयल सहकारीकै सदस्यहरू जोडिएका भए पनि छुट्टै कम्पनी हो । यो प्राइभेट लिमिटेडका रूपमा दर्ता छ । हरेक सदस्यले समान साढे दुई लाख बराबर लगानी गरेका छन् । रेस्टुराँमा एक सय जनालाई एकै साथ सेवा दिने क्षमता छ भने एक सय जनासम्म अटाउने बैङ्क्वेट तथा पार्टी भेन्यु पनि सञ्चालनमा छ ।
एउटा रेन्टुराँ चलाउन ९९ जनाको लगानी किन ? ‘यसको सांकेतिक अर्थ त छ नै । व्यवहारिक रूपमा पनि यस्तो हुन गयो । प्राइभेट कम्पनीमा ९९ जनाभन्दा बढी सदस्य बस्न नमिल्ने रहेछ । नत्र हामी अरु महिला दिदीबहिनीलाई पनि यसमा सहभागी गराउने सोचमा थियौँ ', सञ्चालक गुरुङले भनिन् ।
कोभिड-१९ महामारीभन्दा केही समयअघि मात्र सुरु भएको रेस्टुराँ लकडाउनका समयमा नराम्रोसँग थलियो । व्यवसाय पूर्ण रूपमा बन्द भएपछि सञ्चालन खर्चसमेत धान्न नसक्ने अवस्था आएको थियो । तर, दिदीबहिनी किचनले कर्मचारी कटौती गरेन । तीन वर्षदेखि सञ्चालनमा रहेको रेस्टुराँमा हाल २० जना कर्मचारी छन् । व्यवसाय सुरु गरेको पहिलो दुई वर्ष निकै समस्या भोगेको रेस्टुराँ आर्थिक वर्ष २०७८-७९ मा भने लगानीकर्तालाई पाँच प्रतिशत लाभांश दिन सफल भएको अध्यक्ष गुरुङको भनाइ छ ।
दिदीबहिनी किचेनले सामाजिक क्षेत्रमा पनि काम गर्दै आएको छ । 'रेस्टुराँसँग जोडिएका दिदीबहिनीहरू सामाजिक काममा पनि खटिन्छन् । यसवर्ष हामीले न्यून आर्थिक अवस्था भएका केहीलाई न्यानो कपडा बाँड्यौँ,' उनले भनिन् ।कम्पनीमा आवद्ध महिलालाई अन्य सीपमुलक काममा पनि खटाउने गरेको उनको भनाइ छ । सहकारीको अवधारणाबाट सञ्चालित रेस्टुराँ निजी क्षेत्रका लागि पनि अनुकरणीय छ । - रासस
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google