विश्वकर्मा पूजा : परम्परादेखि आधुनिक प्रविधिसम्म

केशर विश्वकर्मा ‘अथक’ १ आश्विन २०८३,२१:३९

केशर विश्वकर्मा ‘अथक’

post

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश हो । यहाँका हरेक जाति, समुदाय र संस्कृतिका आफ्नै परम्परा, विश्वास र पर्वहरू छन् । ती पर्वहरू केवल धार्मिक अनुष्ठान मात्र होइनन्; तिनले कुनै समुदायको इतिहास, पहिचान, जीवनशैली र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको ज्ञानलाई पनि बोकेका हुन्छन् ।

यस्तै महत्वपूर्ण पर्वमध्ये एक हो—विश्वकर्मा पूजा ।

विश्वकर्मा पूजा भन्नासाथ हाम्रो मानसपटलमा भगवान् विश्वकर्माको स्वरूप, औजार, मेसिन, निर्माण, सीप र श्रमको चित्र आउँछ । हिन्दू धार्मिक परम्परामा भगवान् विश्वकर्मालाई देवशिल्पी, वास्तुकार तथा निर्माण र शिल्पका देवताका रूपमा श्रद्धापूर्वक पूजा गरिन्छ । धार्मिक मान्यताअनुसार उहाँ देवताहरूका लागि विभिन्न दिव्य भवन, नगर, अस्त्रशस्त्र तथा संरचना निर्माण गर्ने शिल्पीका रूपमा वर्णित हुनुहुन्छ । तर विश्वकर्मा पूजाको अर्थ यतिमै सीमित छैन । यस पर्वको गहिराइमा पुग्दा यहाँ धर्म छ, संस्कृति छ, कर्म छ, सीप छ, श्रम छ र पहिचान पनि छ ।


धर्मसँग जोडिएको आस्था:

धर्म मानिसको आस्था र विश्वाससँग जोडिएको विषय हो । भगवान् विश्वकर्माप्रतिको श्रद्धा पनि त्यही धार्मिक आस्थाको एउटा रूप हो । विश्वकर्मा पूजाका दिन आफ्ना औजार, मेसिन, सवारीसाधन, कार्यस्थल तथा निर्माणसँग सम्बन्धित सामग्रीको पूजा गर्ने परम्परा छ । तर पूजाको मूल भावना केवल औजारमा फूल र अक्षता चढाउनु मात्र होइन । आफ्नो कर्मको साधनप्रति श्रद्धा राख्नु र कर्मप्रति इमानदार बन्नु पनि यसको महत्वपूर्ण सन्देश हो ।

हामीले पूजा गर्दा एउटा प्रश्न आफैँलाई सोध्न सक्छौँ—
‘जुन औजारलाई आज देवताको प्रतीक मानेर पूजा गरिरहेको छु, त्यसलाई चलाउने श्रमिकलाई मैले कति सम्मान गरेको छु?’ यही प्रश्नले पूजालाई कर्मसँग जोड्छ ।


संस्कृतिको निरन्तरता:

संस्कृति एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुने जीवन्त सम्पदा हो । विश्वकर्मा पूजा पनि एउटा सांस्कृतिक परम्परा हो, जसले शिल्प, निर्माण, औजार र कर्मसँग सम्बन्धित ज्ञान तथा विश्वासलाई पुस्तौँदेखि निरन्तरता दिँदै आएको छ । आज प्रविधि निकै अगाडि बढिसकेको छ । हथौडा, आरी, छिनो र परम्परागत औजारसँगै कम्प्युटर, आधुनिक मेसिन, रोबोट र अत्याधुनिक प्रविधि हाम्रो जीवनको हिस्सा बनेका छन् । तर औजार बदलिँदैमा श्रमको मूल्य बदलिँदैन । हिजो छिनो चलाउने हातले समाज बनायो, आज आधुनिक मेसिन चलाउने हातले पनि समाज बनाइरहेको छ । त्यसैले विश्वकर्मा पूजा पुरानो संस्कृतिको सम्झना मात्र होइन, परम्परागत सीपदेखि आधुनिक प्रविधिसम्मको यात्रालाई सम्मान गर्ने अवसर पनि हो ।


कर्म नै वास्तविक पूजा: 

‘कर्म’ शब्द विश्वकर्मा पूजाको केन्द्रमा रहेको देखिन्छ ।

मानिसले आफ्नो जीवनमा जे काम गर्छ, त्यसमा सीप, लगन र इमानदारी जोडियो भने त्यही कर्म सिर्जनामा परिणत हुन्छ । एउटा काठको टुक्रालाई सुन्दर कलाकृतिमा बदल्ने सिकर्मीको हात होस् वा फलामलाई आकार दिने विश्वकर्माको सीप—त्यहाँ मानिसको सिर्जनात्मक शक्ति बोलिरहेको हुन्छ ।

त्यसैले विश्वकर्माको पूजा गर्दा कर्मलाई सम्मान गर्ने संस्कार विकास गर्नु आवश्यक छ । औजारलाई पूजा गरेर मात्र हुँदैन, औजारको सही प्रयोग गर्नुपर्छ । मेसिनलाई पूजा गरेर मात्र हुँदैन; सुरक्षा नियम पालना गर्नुपर्छ ।
श्रमको जयजयकार गरेर मात्र हुँदैन, श्रमिकको श्रमको उचित मूल्य दिनुपर्छ । किनकि कर्मबिनाको पूजा अधुरो हुन्छ ।


पूजा कि प्रदर्शन?
आज कुनै पनि पर्वसँगै देखावटीपन र अनावश्यक खर्च बढ्ने सम्भावना हुन्छ । विश्वकर्मा पूजा पनि त्यसबाट टाढा छैन । ठूलो सजावट, खर्चिलो कार्यक्रम र बाहिरी प्रदर्शनभन्दा यसको मूल सन्देश महत्वपूर्ण छ ।
मेसिनमा टीका लगाउनु राम्रो हो, तर मेसिन चलाउने व्यक्तिको सुरक्षाको ख्याल गर्नु अझ ठूलो पूजा हो ।
औजारमा फूल चढाउनु राम्रो हो, तर औजार चलाउने श्रमिकलाई सम्मानजनक पारिश्रमिक दिनु अझ ठूलो धर्म हो । भगवान् विश्वकर्माको नाम लिनु श्रद्धा हो, तर सीप सिक्नु, इमानदार कर्म गर्नु र आफ्नो काममा उत्कृष्टता खोज्नु उहाँप्रतिको अझ गहिरो सम्मान हो ।

विश्वकर्मा पूजा : विगतको सम्मान, वर्तमानको जिम्मेवारी र भविष्यको निर्माण

विश्वकर्मा पूजा विगतको सांस्कृतिक परम्परालाई सम्झिने दिन मात्र होइन । यो वर्तमानप्रति जिम्मेवार बन्ने र भविष्य निर्माण गर्ने प्रेरणाको दिन पनि हो । आज नेपाललाई दक्ष जनशक्ति चाहिएको छ । युवालाई सीप चाहिएको छ । उद्योगलाई प्राविधिक चाहिएको छ । निर्माण क्षेत्रमा दक्ष श्रमिक चाहिएका छन् । कृषि, पर्यटन, सूचना प्रविधि, ऊर्जा, उद्योग र पूर्वाधार—हरेक क्षेत्रमा सीप र कर्मको आवश्यकता छ । त्यसैले विश्वकर्मा पूजालाई केवल धार्मिक अनुष्ठानमा सीमित नगरी सीप विकास, व्यावसायिक सम्मान, श्रमिक सुरक्षा, प्रविधिप्रतिको जिम्मेवारी र आत्मनिर्भरतासँग जोड्न सकियो भने यसको सामाजिक अर्थ अझ गहिरो बन्न सक्छ ।

अन्त्यमा...
भगवान् विश्वकर्माको पूजा गर्दा हामीले केवल एउटा देवताको स्मरण नगरौँ; आफ्नो हातमा भएको सीप, आफ्नो कर्म र आफ्नो सिर्जनात्मक शक्तिको पनि सम्मान गरौँ । जातीय पहिचानलाई सम्मान गरौँ, तर जातका नाममा हुने विभेदलाई होइन । संस्कृतिलाई जोगाऔँ, तर संस्कृतिको नाममा हुने गलत अभ्यासलाई होइन ।
धर्मलाई श्रद्धा गरौँ, तर धर्मको मूल सन्देशलाई मानवता, कर्म र सदाचारलाई व्यवहारमा पनि उतारौँ ।
श्रमको पूजा गरौँ, तर श्रमिकको जीवन पनि सम्मानित बनाऔँ ।

किनकि अन्ततः

औजारमा शक्ति हुन्छ तर औजार चलाउने हातमा जीवन हुन्छ । सीपमा सौन्दर्य हुन्छ, तर सीप प्रयोग गर्ने कर्ममा भविष्य हुन्छ । विश्वकर्मा एउटा देवताको नाम मात्र होइन,

सिर्जना गर्ने हरेक हातको सम्मान हो ।
 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०
post

इन्धनको मूल्य घट्यो

३१ असार २०८२,२२:०३
post

२ लाख नाघ्यो सुनको भाउ

१३ भाद्र २०८२,११:२२
post

दुग्ध किसान पनि सडकमा

१५ भाद्र २०८२,१३:४५
post

अन्डाको भाउ बढ्यो

११ कार्तिक २०८२,१५:३४
post

अण्डाको मूल्य घट्यो

११ पुष २०८२,१२:४२
post

नाडा अटो शो २०२६ सुरु

९ भाद्र २०८३,१२:१३
post

बोयर बाख्रा गरिबको धन

१५ माघ २०७९,१६:५४
post

उमेर, संगत अनि म

१० चैत्र २०७९,०७:३२
post

हिंसा रोकौँ, सभ्यता बोकौँ

२१ मंसिर २०८०,१९:३९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: