नयाँ बसपार्कबाट सञ्चालन हुन थाले माइक्रोबस

दर्पण दैनिक २६ जेष्ठ २०८०,०७:३२
post

काठमाडौं । काठमाडौंबाट देशका विभिन्न जिल्लामा चल्ने लामो तथा मध्यम दुरीका माइक्रोबस नयाँबसपार्क भित्रबाट सञ्चालन हुन थालेका छन् । काठमाडौं महानगरपालिकाले यही जेठ १९ गते एक सूचना जारी गरी काठमाडौं उपत्यकाबाहिर चल्ने सम्पूर्ण सवारी साधनलाई गोँगबुस्थित नयाँ बसपार्कभित्रबाट मात्र सञ्चालन गर्ने निर्णय गरेसँगै केही माइक्रोबस भने नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेका हुन् ।

यसअघि नयाँ बसपार्कबाट ठूला सार्वजनिक सवारी साधन मात्र सञ्चालन हुँदै आएका थिए । महानगरपालिकाले जारी गरेको सूचनामा जभाभावी पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत राख्ने, सडकमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा अवरोध पुगेको उल्लेख गरिएको छ । 

काठमाडौं महानगरपालिकाले आगामी असार १ गतेदेखि नयाँ बसपार्क बाहिर रहेका टिकट काउन्टर हटाउनसमेत आग्रह गरेको छ । नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिले माइक्रोबसका लागि लोत्से मल पछाडि छुट्टै टिकट काउन्टर निर्माण गरिदिएसँगै काठमाडौंबाट नारायणगढ, भैरहवा, सुनौली, लुम्बिनी, तौलिहवा, पोखरा, स्याङ्जा, वालिङ, गल्याङ, बाग्लुङ, बेनी, बुर्तिवाङ, कुश्मा, चापाकोटलगायत स्थानमा जाने माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेका हुन् ।

लोत्से बहुउदेश्यीय प्रालिका मानव संशोधन प्रमुख पंकज मल्लले नयाँ बसपार्कभित्र सञ्चालन हुने माइक्रोबसका लागि छुट्टै टिकट काउन्टर निर्माण गरेको बताए । यसअघि काठमाडौंबाट चितवन, नवलपरासी, भैरहवा जाने माइक्रोबस कलंकीको मुख्य सडकबाट गुड्दै आएका थिए । 

यस्तै, पृथ्वी राजमार्गअन्तर्गत पोखरा, लमजुङ, बागलुङ, म्याग्दीलगायतका क्षेत्रमा चल्ने माइक्रोबस गोंगबुदेखि नयाँ बसपार्क बीचको मुख्य सडक छेउ, धादिङ, रसुवा नुवाकोट जाने सवारीसाधन माछापोखरी र गोरखा चल्ने माइक्रोबस बालाजु क्षेत्रबाट सञ्चालन हुँदै आएका थिए । काठमाडौं उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ गर्नका लागि काठमाडौं महानगरपालिकाले ०५६ सालमा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँबसपार्क सञ्चालनमा ल्याए पनि कतिपय सार्वजनिक बस भने अहिले पनि चक्रपथको मुख्य सडकलाई बसपार्क बनाएर सञ्चालन हुँदै आएका छन् । 
काठमाडौं महानगरपालिकाका यातायातविज्ञ जगतमान श्रेष्ठले चक्रपथ विस्तारको काम सुरु भएपछि सडकको वरिपरिबाट अव्यवस्थित रूपमा सञ्चालन हुँदै आएका सवारीसाधनलाई नयाँबसपार्कभित्रबाट सञ्चालन गर्नेगरी काठमाडौं महानगरपालिकाले काम गरिरहेको बताए । 

‘काठमाडौं महानगरपालिकाले लामो तथा छोटो दुरीका सार्वजनिक सवारीसाधन पार्किङका लागि नयाँबसपार्कमा १ सय ६१ रोपनी जग्गा उपलब्ध गराएको छ, सबै सवारीसाधन बसपार्कभित्रबाट सञ्चालन गर्नुपर्छ भनेर महानगरपालिकाले काम गरिरहेको छ’, उनले भने । गोंगबुस्थित नयाँ बसपार्कमा हाल आठ सय सवारीसाधन अटाउने क्षमता रहेको छ । 

महानगरपालिकाका यातायातविज्ञ श्रेष्ठले नयाँ बसपार्कभित्र काठमाडौं भित्रिने सवारीसाधन नअटाए त्यसको विकल्प खोजिने बताए । काठमाडौंको चक्रपथ वरपर मुख्य सडकमा टिकट काउन्टर र जथाभावी बस पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समेत समस्या हुने गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार लामो दुरीका सवारीसाधन चक्रपथको बाटो भएर ओहोरदोहोर गर्दा ट्राफिक व्यवस्थापनमा असहज हुने गरेको हो । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले लामो दुरीका सवारीसाधन चक्रपथ वरपर सडकमा पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको बताए । पछिल्लो समय मुलुकको संघीय राजधानी काठमाडौंलगायत देशभर निजी तथा सार्वजनिक सवारी साधनको संख्या वृद्धि हुँदा र बाटो साँघुरो हुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएको छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९