
चितवन । चिनियाँ सहयोगमा चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा वर्णशङ्कर धान रोपाइँ कार्यक्रम गरिएको छ । चीनको छोङ चिङ कृषि विज्ञान प्रतिष्ठानले विकास गरेको ३७ जातका वर्णशङ्कर धान परीक्षणका रूपमा रोपिएको हो ।
नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गको उपस्थितिमा परीक्षणका रूपमा धान रोपिएको हो । सँगै नेपालमा विकास गरिएको एउटा र प्रचलनमा रहेका आठ जातका धान रोपिएको छ । हरेक जातका धानको ३०० ग्राम बीउ उत्पादन गरी विश्वविद्यालयको परिसरमा रोपिएको छ ।
धान रोपाइँ सुरू गर्नुअघि सोमबार आयोजित कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन गएको बेला भएको सम्झौताअनुसार यो महत्त्वपूर्ण कार्यले मूर्तरूप लिएको बताइन । आगामी दिनमा भरतपुर महानगर र देशकै लागि यो परियोजना कोसेढुङ्गा साबित हुने उनले बताइन ।
नेपालको चितवन र झापा धान उत्पादनमा अग्रणी जिल्ला भएको भन्दै उनले चितवनमा राम्रो उत्पादन हुने वर्णशङ्कर जातलाई देशभर विस्तार गरी उत्पादन वृद्धि गर्न सहयोग पुग्ने बताइन ।
कार्यक्रममा राजदूत सोङ्गले यो धान नेपालमा परीक्षण गरेर उत्पादन गर्न लाग्नु चीनका लागि गर्वको विषय भएको बताइन । चीनले ७० वर्षको उपलब्धिका रूपमा लिएको यो धानको बीउको उपहार नेपाललाई दिएको उनले बताइन ।
यससँगै उत्पादनको क्षेत्रमा नेपालको सपना साकार हुने विश्वास आफूले लिएको उनको भनाइ छ । उनले भनिन्, “आउँदा वर्षहरूमा नेपालको धानको उत्पादन बढाउन यो सहयोग हुनेछ ।” चीनले निकै मिहिनेत गरेर प्राप्त गरेको उपलब्धिलाई नेपाललाई हस्तान्तरण गर्न लागेको उनले बताइन ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा डा शारदा थपलियाले चिनियाँ सरकार, भरतपुर महानगरपालिकालगायत विभिन्न सङ्घसंस्था र विज्ञहरूको सहयोगले यो परियोजना सफल भएको बताए । परीक्षण सफल भएमा यसले नेपालको धान उत्पादनमा सहयोग पुग्ने बताए ।
कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार पुष्करबहादुर पाल, चाइना फाउन्डेसन फर रुलर डेभलपमेन्टका कन्ट्री डाइरेक्टर जाओ जियाङ, परियोजनाका कार्यक्षेत्र संयोजक राजु बराललगायतले आफ्नो धारणा व्यक्त गरेका थिए ।
बरालका अनुसार परीक्षणका रूपमा रोपिएका वर्णशङ्कर धानमध्ये राम्रो फल्ने धानलाई नेपालका विभिन्न ठाउँमा रोप्न सकिनेछ । जसका लागि कृषकलाई तालिमसमेत दिइँदै छ । विश्वविद्यालयले नेपालमा अधिकतम प्रचलनमा रहेका जात र चिनियाँ वर्णशङ्करलाई सँगै उत्पादन गरेर अध्ययन गरी उपयुक्त जात सिफारिससमेत गर्न सक्ने छ ।
नेपालमा हालसम्म एउटा मात्रै वर्णशङ्कर धानको बीउ उत्पादन भई प्रचलनमा आएको छ । त्यो जात हर्दिनाथ हाइब्रिड एक भएको बरालले जानकारी दिए । कृषकले विदेशबाट आयातित गरेर अन्य जात प्रयोग गर्दछन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google