काठमाडौं । भेटेरिनरी पब्लिक हेल्थ एशोसियसन नेपाल (भिपिएचएएन) विविधवत् रूपमा दर्ता भएको छ । नेपाल भेटेरिनरी एशोसियसन (एनभिए) को भातृ संगठनका रूपमा काम गर्न एसोसिएसन जिल्ला प्रशासनमा दर्ता भएको हो । एसोसिएसनका अध्यक्ष डा.मुकुल उपाध्यायले बुधबार आफ्नो संगठन विधिवत् रूपमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको जानकारी दिए ।
एनभिएको विधानमा भातृ संगठनको रूपमा दर्ता भएर विषयगत समाज गठन गर्न सकिने र त्यसका लागि कुल सदस्यको तीन प्रतिशतले केन्द्रीय कार्यसमितिमा निवेदन दिनुपर्ने प्रावधान छ । विधानको सोही व्यवस्थाबमोजिम एशोसियसन दर्ता भएको हो ।
एनभिए विधानको सोही प्रावधानबमोजिम भेटेरिनरी प्राक्टिक्सनर एशोसियसन (भिपान) क्रियाशील छ । भेटेरिनरी चिकित्सकको छाता संगठन एनभिएको भातृ संगठनका रूपमा रहेको एसोसिएसनको उपाध्यक्षको भूमिकामा डा.सुजन राना छन् । महासचिव डा.सुरेन्द्र कार्की, सचिव डा.चन्दा श्रेष्ठ र कोषाध्यक्षको जिम्मेवारी डा.आनन्दकुमार सिंहले पाएका छन् । सदस्यहरूमा डा.नवीन पौडेल, डा.शिखा रिमाल, डा.सुरज सुवेदी र डा.तपेन्द्रप्रसाद बोहोरा छन् ।
भेटेरिनरी क्षेत्रमा पब्लिक हेल्थको महत्त्व र भूमिकाबारे जागरुक गर्न गठित एसोसिएसनले आउँदो सेप्टेम्बर २९ र ३० मा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको छ । भेटेरिनरी जनस्वास्थ्यसम्बन्धी उक्त सम्मेलनमा भारतलगायत मुलुकका प्रतिनिधिको सहभागिता रहने अध्यक्ष डा. उपाध्यायले जानकारी दिए ।